काठमाडौं महानगरपालिका प्रमुखमा मतगणना सुरु भएदेखि नै अग्रता लिएका बालेन्द्र शाह (बालेन) ले मतान्तर बढाउँदै लगेका छन्।
महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा एमाले र कांग्रेसका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारले १७ हजारभन्दा बढी मतको अग्रता लिएका छन्।
एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन्। शाहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन्।
काठमाडौं महानगरको उपप्रमुखमा भने एमालेकी सुनिता डङ्गोलले ठूलो मतान्तरले अग्रता लिएकी छन्। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ पछि परेका छन्।
यो महानगरमा पनि एमाले र कांग्रेस पछि राप्रपाका उम्मेदवारले धेरै मत पाएका छन्।