धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित, १० हजार मतले अगाडि

सुदूरपश्चिमकै एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्ने निश्चित भएको छ।

धनगढी उपमहानगरपालिकामा खसेको ६३ हजार ७ सय १५ मतमध्ये शनिबार दिउँसोसम्म ५१ हजार ६५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५ सय ४१ मत ल्याएर लिड गरिरहेका छन्।

उनी दलका उम्मेदवारभन्दा १० हजार मतले अगाडि रहेका छन्। धनगढीमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५ सय ४४ मत पाएका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४ सय २३ मत मात्रै पाएका छन्।

मतगणना करिब करिब अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दलका उम्मेदवारभन्दा १० हजार ९ सय ९७ अघि छन्।

अब धनगढीमा करिब साढे १२ हजा मत गन्न बाँकी रहेको छ। साढे १२ हजार मत गन्दा कुनै पनि उम्मेदवारको पक्षमा एक लौटी जाने सम्भावना पनि छैन। त्यसैले यसपटक सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले कब्जा जमाउने निश्चित भएको छ।

धनगढी उपमहानगरपालिकाका १९ वडामध्ये १,२, ३, ४, ५, ६, ७, ८, १४, १५, १६, १७, १८, १९ को मतगणना सम्पन्न भइसकेको छ। मत गणना सम्पन्न भएकामध्ये १, २, ३, ४, ५, १४, १५, १७, १९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

यसैगरी वडा नम्बर ७, ८ र १८ मा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ६ र १६ मा माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन्। धनगढी–१३ को मत गणना अन्तिम चरणमा छ, भने वडा नम्बर ९, १०, ११, १२ को मतगणना जारी छ।

२०७४ को निर्वाचनमा पनि गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यतिबेला उनी कांग्रेसका उम्मेदवार नृपबहादुर वडसंग २७ सय मत अन्तरले पराजित बनेका थिए। यसपटक उनै वडलाई पराजित गरेर ०७४ को हारको बदला लग्दै गोपाल हमाल धनगढीको मेयर बन्ने लगभग निश्चित भएको छ। 

प्रकाशित मिति: : 2022-05-21 17:34:00

प्रतिकृया दिनुहोस्