जीवनलाई कठोर संघर्षले परास्त गरेर सफलता प्राप्त गरेका एक जना सशक्त युवा हुन्, ओमप्रकाश उप्रेती। उनी हाल नेपालको सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा निवास गर्दछन्। मणिपुरको प्रसाईं बस्तीका निवासीहरू अभावै अभावमा बितेको उनको बाल्यकाल साक्षी बनेका छन्।
उनका बुबा बिरामी परेर उपचारका लागि पैसा नहुँदा गाउँमा चन्दा उठाएर सहयोग मागेको अवस्थाको वर्णन गर्दा उनी भावुक हुन्छन। आफ्ना बुबा बितेपछि अविभावकविहीन बनेका ओमप्रकाशले जीवन धान्न धेरै नै कसरत गर्नु परेको थियो। यसरी जीवनका हरेक मोडमा आइपरेका हरेक अड्चनहरूलाई छिचोलेर सफलता हासिल गरेका ओमप्रकाश लगभग ६ सय विद्यार्थी भएको चौतारा नगरपालिकाको एक मात्र ज्युगल अंग्रेजी आवासीय विद्यालयकाे संचालन र व्यवस्थापन गर्दछन।
साईनोमा सालो पर्ने ओमप्रकाश जति इमानदार छन, उनी त्यती नै मिलनसार र जो कोहीसँग पनि अति आत्मीयताका साथ मिठो बोलेर प्रस्तुत हुन्छन। उनलाई भेट्ने र मेरो लागि नौलो ठाउँ चौतारा सम्मको यात्रा गर्ने मेरो पोहोरदेखि नै उत्कृष्ट इच्छा भएको थियो। एक्कासी म १५ मइ २०२२ का दिन भाइ खेमराज गौतमको निवास गोकर्णेश्वर- ५, काठमाडौंबाट सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासम्मको रमणीय यात्रा गर्ने साइत जुर्यो।
भाइ ओमप्रकाशकी धर्मपत्नी मेरी भान्जीसँग स्कुलका लागि लिएको नयाँ गाडी (बस)मा चढेर भक्तपुर हुँदै धुलिखेल भन्ने स्थानमा पुग्यौं। धुलिखेलमा ओमप्रकाश भाइसँग भेट भयो र हामी अगाडिको यात्रामा लाग्यौं। त्यहाँबाट पूर्व उत्तर हुँदै कहीँ उकालो कहीँ ओरालो दुबैतिरबाट अग्ला–अग्ला पर्वतसृङ्खलाका चेपबाट पाँचखाल हुँदै दोलालघाट भन्ने अत्यन्त रमणीय स्थलमा पुग्यौं।
अहिले हामी काठमाडौंबाट पूर्वतर्फ आइरहेका थियौं। यसक्षेत्रको प्रसिद्ध मेलम्ची नदिबाट छुट्टिएर आएको इन्द्रावती नदीको अत्यन्त मनोरम दृश्यावलोकन गरियो। इन्द्रावती नदी केही तल पुगेपछि नेपालकै प्रसिद्ध सुनकोशी नदीमा मिसीएर आफ्नो बृहत् आकार लिएर प्रवाहित हुन्छिन भन्ने कुरा सुनियो। किनारमा रहेको दोलालघाटका दुबैतर्फ हरियाली डाँडामा बसेका बाक्ला पातला गाउँहरूले नवागन्तुकहरूलाई लोभ्याइरहेका थिए।
दोलालघाटबाट उत्तरतर्फ ठाडो उकालो लागेपछि वनदेवी नाम गरेको एउटा सुन्दर चोकमा हामी पुग्यौं। त्यहाँबाट दाहिनेतर्फ श्री ५ महेन्द्र वीरविक्रम शाहका पालामा तत्कालीन चीन सरकारले निर्माण गरी दिएको अरनिको राजमार्ग जाँदो रहेछ। यहाँबाट ६८ किलोमिटर हिँडेपछि तातोपानी नाका (चीन बोर्डर) मा पुगिन्छ भन्ने जानकारी पाइयो। तर, मेरो गन्तव्य चौतारासम्मको भएको हुनाले हामी देब्रेतर्फ लाग्यौं। नागबेलीझैं कालोपत्रे चिल्लो सडक हुँदै त्यहाँबाट हामी ठाडो उकालो लाग्यौं। बाटोको दुवैतिर मनै लोभ्याउने हरियाली दृश्यहरु हेर्दै–हेर्दै पोखरे, साँगाचोक, इखु जस्ता मिनी हिल स्टेशन हुँदै बेलुकी ६ बजे सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम पुगियो। चिल्लो सडक दुबैतर्फ कटुस, चिलाउने, साल, कुटमिरा, काफल आदिका रुखहरूले त्यहाँको पहाडी सुन्दरतामा निखार ल्याएको थियो। कहीं थुम्का, कहीं भीर, कहीं हरियाली गाउँका परिदृश्यहरूले टाढाबाट आएको थकित बटुवाको मनलाई स्वर्गको अनुभूत गराउँथ्यो।
यसरी चौतारा नगरपालिका पुगेर भाइ ओमप्रकाशको विद्यालयमा पुगियो। रातिको भोजनपछि विश्राम गरियो। भोलिपल्ट बिहान ओमप्रकाशका स–परिवार र एकजना गुरुजीलाई लिएर हामी स्कुलको नयाँबस लिएर चौतारादेखि करिब ५ किलोमिटरमाथि डाँडाको टुप्पोमा अवस्थित श्री भीमेश्वर मन्दिरमा पुग्यौं। उहिले कै जमानामा बनाएको यो ऐतिहासिक मन्दिरको दर्शन गरियो। मन्दिर परिसरभित्र श्री ५ बिरेन्द्र वीरविक्रम शाह दम्पत्तीले रोपीदिएका दुईवटा जुम्ल्याहा रूद्राक्षका रूखहरूको दर्शन गर्न पाउँदा हाम्रा राजा-रानीको अभाव भएको तितो अनुभव पनि भयो।
यसपछि गाडीको पूजाअर्चना गरी हामी स्कुलतिर फर्क्यौं। यसपछि अर्को एक रात भाइको आवासमा बिताएर भोलिपल्ट दिउँसो साढे १२ बजेतिर यसै विद्यालयका प्रमुख श्री आर.बी. कटुवालजीले आफ्नो नीजि सवारी साधनमा मलाई काठमाडौंसम्म लिएर आउनुभयो। यसरी मेरो ३ दिने चौतारायात्राका आनन्ददायक क्षणहरु मेरो आगामी जीवनमा महत्वपूर्ण याद भएर रहनेछ।