गठबन्धनलाई पराजित गर्दै इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

तीनवटै पालिकाको मेयर/अध्यक्षमा एमाले विजयी भएको छ। माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो।

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) विजयी भएको छ।

अघिल्लो पटक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस एक्लैले जितेको थियो। अहिले गठबन्धन बन्दा पनि एमाले एक्लैले जित हात पारेको हो।

गाउँपालिकाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङ एक हजार ५०२ मत अन्तरले निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित गुरुङले छ हजार ११० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली (कांग्रेस) की गीताकुमारी गुरुङले चार हजार ६०८ मत प्राप्त गरिन्।

गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीताकुमारी गुरुङ पुनः अध्यक्षका लागि लडेकी थिइन्। तर, उनी सफल हुन सकिनन्। उपाध्यक्षमा पनि एमालेकै माया सिलवाल पाँच हजार ३४४ मत ल्याएर निर्वाचित भइन्।

सिलवालले निकटतम प्रतिस्पर्धी नेकपा (मोआवादी केन्द्र)का प्रताप गुरुङलाई ३०० मत अन्तरले पराजित गरिन्। गुरुङले पाँच हजार ४४ मत प्राप्त गरेका हुन्।

इच्छाकामनाका सात वडामध्ये एमालेले एक्लै पाँच वडा जित्यो भने माओवादी केन्द्र र कांग्रेसले एक/एक वडा जिते। इच्छाकामनामा १२ हजार ४ मत खसेको थियो।

प्रकाशित मिति: : 2022-05-18 16:38:00

प्रतिकृया दिनुहोस्