४ वर्षपछि नेपाल आउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

Photo credit: ANI
Photo credit: ANI

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी बुद्धजयन्त्तीकाे अवसरमा जेठ २ गते लुम्बिनी दर्शनकाे लागि नेपाल आउँदै छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने कार्यक्रम रहेकाे छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मित्ते)ले प्रधानमन्त्री मोदीले ५ हजार क्षमताको हलमा जनतालाई सम्बोधन गर्ने बताएका छन्।

कार्यक्रममा नेपालमा रहेका सबै देशका राजदूतहरुको समेत सहभागिता रहनेछ। यसका साथै एकरमा निर्माण भइरहेको भारतीय मठको पनि उद्घाटन गरिने भएको छ।

४ वर्षपछि नेपाल आउन लागेका प्रधानमन्त्री माेदीले मायादेवी मन्दिर र अखंड ज्योति दर्शन गरेर कुशीनगर फर्किने योजनामा रहेकाे स्राेतले जनाएकाे छ। उनी यसअघि सन् २०१८ मा उनले नेपाल भ्रमण गरेका थिए।

प्रधानमन्त्रीको लुम्बिनी आगमनलाई मध्यनजर गर्दै चारवटा हेलिप्याड निर्माणको काम पनि सुरु भएको छ। यससँगै गौतमबुद्ध विमानस्थलमा नेपाली सेनाले तयारी तीव्र पारेको छ।

सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी तीव्र पारिएको छ। नेपाल प्रशासनले सडकमा अवरोध गर्ने व्यक्तिको छानबिन गर्ने तयारी गरेको छ। लुम्बिनी होटलको आगन्तुक दर्ता र शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहेको छ। प्रधानमन्त्री मोदीको दर्शन र अन्य कार्यक्रममा करिब दुई घण्टा मन्दिर परिसरमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ।

यी कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री मोदी

लुम्बिनी आएपछि प्रधानमन्त्री मोदीले सबैभन्दा पहिले मायादेवी मन्दिरको दर्शन गर्ने छन्। त्यसपछि मन्दिर परिसरमा रहेको अशोक स्तम्भको अगाडि दीप प्रज्वलन गरिने र त्यसपछि भारतले निर्माण गर्ने बौद्ध विहार मन्दिरको शिलान्यास पनि प्रधानमन्त्री मोदीले गर्ने छन्। त्यसपछि प्रधानमन्त्री मोदीले त्यहाँ उपस्थित जनतालाई सम्बोधन गर्नेछन्। भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने सम्भावना छ।

प्रकाशित मिति: : 2022-05-10 10:59:00

प्रतिकृया दिनुहोस्