उदयपुर, कैलाली र सिन्धुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित सडकमा प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–१ जोगिदह बस्ने २० वर्षीय भुपेन्द्र चौधरी रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
कैलालीको भजनी नगरपालिका–६ भजनी जोशीपुर सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन्।
ठक्करबाट गम्भीर घाइते भएका उनको आइतबार राति प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचार क्रममा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।
सिन्धुलीको तिनपाटन गाउँपालिका–११ आकासे भन्ने स्थानमा प्रदेश २ –०३०००१ त ४६७० नम्बरको ट्रयाक्टर आइतबार दुर्घटना हुँदा ट्याक्टर चालकसहित २५ जना घाइते भएका छन्।
दुर्घटनामा घाइते भएकामध्ये ९ जनाको प्राथमिक स्वास्थ्य चौकी लाम्पान्टारमा र ११ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ पठाइएको छ। पाँच जना उपचार पश्चात डिश्चार्ज भएका छन्। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।