सिटीलाई तीन अंकको अग्रता, आर्सनलको लय कायमै

Photograph: Martin Rickett/PA
Photograph: Martin Rickett/PA

न्युकासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेसँगै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले तीन अंकको  अग्रता बनाएको छ।

आइतबार राति घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई तथा एम्रीक लापोर्ट, रोड्री र फिल फोडेनले  एक-एक गोल गरे।

अघिल्लो रात दोस्रो स्थानको लिभरपुल टोटनहमसँग बराबरीमा रोकिएपछि सिटीलाई अग्रता लिने अवसर थियो। जहाँ सिटी सफल समेत रह्यो।

जितसँगै सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ र शीर्ष स्थानमा छ। न्युकासल ४३ अंक जोडेर १३ औं स्थानमा छ। दोस्रो स्थानको लिभरपुलको ८३ अंक छ।

आइतबार नै भएको अर्को खेलमा आर्सनलले लिड्स युनाईटेडलाई २-१ गोल अन्तरले हराउदै यूइएफए च्याम्पियन्स लिग नजिक रहेको छ।

आर्सनलको जितमा एडी एनकेटियाले दुई गोल गरे। लिड्सका डिएगो लोरेन्टले सान्त्वना गो गरे।

जितसँगै आर्सनल शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको हो। आर्सनल ३५ खेलबाट ६६ अंक जोडेर चौंथो स्थानमा छ। पराजित  लिड्स ३४ अंक साथ रेलिगेशन क्षेत्रमा झरेको छ।

अन्य खेलमा  एभर्टनले लेस्टर सिटीलाई २-१ अन्तरले हराउदै रेलिगेशन क्षेत्र बाहिर निस्किएको छ। यस्तै वेस्ट ह्यामले नर्विच सिटीलाई ४-० अन्तरले हरायो।

प्रकाशित मिति: : 2022-05-09 07:43:00

प्रतिकृया दिनुहोस्