नगरमा कांग्रेसले चुनाव जित्नेमा दुबिधा छैन : उपमेयरकी उम्मेदवार खड्का

जुम्लाको एकमात्र नगरपालिका चन्दननाथमा एकजना पुरुषबाहेक अरु सबै महिला उपमेयरको उम्मेदवार छन्। त्यसको ठिकविपरीत मेयरको पदमा एकजना पनि महिला चुनावी मैदानमा उत्रिएका छैनन्।

नेकपा एकीकृत समाजवादीबाट मेयरमा उम्मेदवारी दिएकी जयलक्ष्मी चौलागाईंको मनोनयन फिर्ता लिन लगाइयो भने नेपाली कांग्रेसबाट मेयर पदको उम्मेदवार बन्ने आकांक्षा राखेकी रामदेवी खड्काको नाममा टिकट आउँदा भने उपमेयर भएर आयो।

पार्टीको निर्णयलाई शिरोपर गरेकी उनी यतिबेला चुनावी मैदानमा छिन्। कांग्रेसको बलियो संगठन भएको चन्दननाथ नगरपालिकामा सफल व्यवसायीको परिचय बनाएकी खड्काको पक्षमा जनमत राम्रो रहेको चर्चा चलिरहेको छ।

स्थानीय निर्वाचनमा पार्टीको सिद्धान्त भन्दा पनि नातागोता, इष्टमित्र, काम गर्न सक्ने क्षमताको आधारमा उम्मेदवार चुनिने गरेको पाइन्छ। उनको क्षमता भनेको व्यवसायको सफल व्यवस्थापन हो।

‘हाम्रो परिवार निम्नस्तरबाट अगाडि आएको हो। हामीले सानो-सानो कुरा व्यवस्थापन गर्दै ठूलो बनाएका हौं,’ उनले भनिन्, ‘म आफैँ पनि राजनीतिमा यसरी नै आए। जनताले विश्वास गरेर जिताएको खण्डमा मेरो सीप र क्षमता आगामी पाँच वर्ष उहाँहरुकै सेवामा लगाउनेछु। त्यसैले उहाँहरुको विश्वास जित्ने ठाउँमा जान खोजेकी छु।’

विना कुनै स्वार्थ किन यस्तो पदमा भन्ने प्रश्नको जवाफ पनि उनले चित्तबुझ्दो बनाएकी छिन्। ‘आज जनताको सेवा गरेको फल आउँदा दिनमा बन्ने राजनीतिक छवि हो र त्यसैको आडमा निरन्तर सेवा गर्न पाइयोस् भन्ने मेरो सबैभन्दा ठूलो स्वार्थ हो। मलाई कमाउन उपमेयरको पद जरुरी छैन। मेरो आफ्नै व्यवसायबाट सम्मानसाथ मनग्गे आम्दानी लिइरहेकी थिएँ र लिन सक्छु। उपमेयर पद हासिल गरेर लाभ लिन खोज्दा छिछि र दुरदुरका साथै बद्नाम हुने निश्चित छ।’

उनको फराकिलो व्यवसायमा झण्डै पचास बढी कामदार कार्यरत छन्। उनीहरुले नियमित रुपमा पारिश्रमिक पाइरहेका छन् कि छैनन्, त्यतिमात्रै बुझ्दा पनि उनको छवि मूल्यांकन गर्न सकिन्छ।

‘एक जना कामदारबाट मात्रै असन्तुष्टि आयो भने पनि मलाई शोषकको रुपमा बुझ्दा हुन्छ,’ उनले भनिन्, ‘हामीले त कामदारबाहेक अरु धेरै नागरिकको पनि सेवा गरेका छौं। जसले यतिबेला पैंचौ तिरौंला भन्नुभएको छ।’

उनले यसपाली विजयी भएको खण्डमा अर्काे निर्वाचनमा आफू कसैको पक्षमा उभिएमात्रै पनि जनताले खोजीखोजी भोट हाल्ने वातावरण बन्नेगरी काम गरेर देखाउने प्रतिबद्धता जनाइन्।

‘कुनै पनि पालिकाको उपप्रमुखको प्रमुख काम न्याससम्पादन हो। त्यसकाे अलावा बजेट निर्माण, योजना छनोट र अनुगमन हो,’ उनले भनिन्, ‘मेरो क्षेत्राधिकारभित्र पर्ने न्यास सम्पादनमा एक पाइला पछि हट्ने छैन। हरेक क्षेत्रको आवश्यकता र औचित्यतालाई ध्यानमा राखी योजान निर्माण र बजेट विनियोजन गरिनेछ भने राम्रो भएन/भएको प्राविधिक ज्ञान म आफैँसँग पनि हुनाले हचुवाका भरमा योजना पास हुन र भुक्तानीको प्रक्रिया अगाडि बढ्न दिइने छैन।’

उनका अनुसार जनप्रतिनिधि जनताको सेवक हो। स्थानीय तहको सरकारले गर्ने पहिलो काम विकास निर्माण नै हो। जसबाट जनताले अधिकतम लाभ लिन पाउन्।

‘राम्रो बाटोघाटो, राम्रो उपचार, राम्रो काम र आम्दानी नै जनताका खास आवश्यकता हुन्,’ उनले थपिन्, ‘यति कुरा पुग्ने गरी काम गर्न मात्रै सके पनि जनताबाट असन्तुष्टिको स्वर सुन्नुपर्दैन।’

आम्दानी कम हुनेको आयआर्जनको बाटो, पठनपाठनको लागि स्रोत नहुनेहरुले चिन्ता गर्नु/नपर्नेलगायतका काम नै जनताका आवश्यकता हुन्। नयाँ पुस्ता कुलतमा लाग्न नदिनु, युवा लक्षित कार्यक्रममार्फत विकास निर्माणका गतिविधि सञ्चालन र रचनात्मक गतिविधिले नै नगरको सकारात्मक विकास हुने उनको मत छ।

नगरपालिकामा नेपाली कांग्रेसको राम्रो संगठन छ। तथापि २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र विजयी भएको थियो। तर हालसम्म खड्काको व्यक्तित्वमा कुनै पनि खोट नदेखिएको हुनाले उनी आफू जित्नेमा आशावादी छन्।

‘हामीले विभिन्न समयमा जनतासँग बनाएको सम्बन्धको आधारमा पनि आश गर्ने धेरै ठाउँहरु छन्,’ उनले भनिन्, ‘सबैतिरबाट स्वइच्छाले हामीलाई भोट हाल्छौं भनेर भेट्न आउनेको संख्या पनि बढ्दाे  छ। त्यसैले हामी जित्नेमा शंका छैन।’

प्रकाशित मिति: : 2022-05-07 12:06:00

प्रतिकृया दिनुहोस्