काभ्रे दुर्घटना अपडेट : मृतक पाँचै जनाको पहिचान खुल्यो

काभ्रेमा मिनी बस र टाटा सुमो दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ सिन्धुलीका ३० वर्षीय विक्रम श्रेष्ठ, वडा नम्बर–४ का ४० वर्षीय हरिबल तामाङ, रामेछापको खाँडादेवी–८ की ३० वर्षीया सम्झना भुषाल र उनकी सात वर्षीषा छोरी संगीता र सिन्धुलीको सुनकोसी गाउँपालिका-१ का ४४ वर्षीय प्रमिला नेपाली छन्।

दुर्घटनामा परी १८ जना यात्रु घाइते भएका छन्। जसमा नेपाली र भारतीय नागरिक रहेका छन्। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए।

यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग रोशी गाउँपालिका–११ मा ठोक्किएका थिए।

पशुपतिनाथ मन्दिरको दर्शन गरेर भारतर्फ फर्किन लागेको मिनी बस तीव्र गतिमा आइरहेको सुमोसँग ठोक्किएको प्रवक्ता खतिवडाले बताए।

प्रकाशित मिति: : 2022-05-04 16:48:00

प्रतिकृया दिनुहोस्