‘मैले नवलपरासी १ बाट पहिलोपटक ८० हजार, दोस्रोपटक ३ करोड र पछिल्लो वा तेस्रोपटक २०७४ सालको चुनावमा ६ करोड खर्च गरेर जितें ।’ यो भनाइ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाको हो ।
शशांकको यस भनाइले हाम्रो चुनाव सालिन्दा कति महँगिँदै छ भन्ने कुरा तुलनात्मक रूपमै देखाउँछ । बीपी पुत्र शशांकको स्थानमा यदि बीपी कोइराला आफैं नै उम्मेदवार हुँदा हुन् त उनले एक पैसा खर्च नगरी चुनाव जित्न सक्थे ।
बीपीले खर्चै नगरी जित्न सक्ने छोरा शशांकले करोडौं खर्च गर्नुपर्ने अवस्था पनि उम्मेदवारप्रतिको जनआस्था र विश्वास स्वच्छ छवि, सिद्धान्तमा अडिग राजनीति, पारदर्शी व्यवहार र कार्यशैली, इमानदारिता र कर्तव्यप्रतिको दृढताकै भिन्नताले सिर्जित गरेको हो । व्यक्तिमा हुने सकारात्मक विशेषता करोडौं खर्चेर पनि खरिद गर्न पाइँदैन ।
सबैमा यस्तो गुण हुँदैन । मतदातालाई स्वतः आकर्षित गराउने भएकाले यस्ता व्यक्तिले मतका निम्ति पैसामा आफ्नो सम्मान बिक्री गर्नुपर्दैन । उम्मेदवारको हैसियतमा बीपी र शशांकबीचको मुख्य भिन्नता नै यही हो । शशांकले मुलुकको परिवर्तित राजनीतिक परिवेशअनुकूलै बनुपर्ने बाध्यता भएकोले रकम खर्चनुप¥यो । यो बीपीपुत्र शशांकको होइन राजनीतिक प्रवृत्तिको दोष हो ।