बर्खाको बाढीले बिहारमा हरेक वर्ष तनाबै–तनाब थपेको छ। प्रकृतिक प्रकोपले लाखौं मानिसहरू विस्थापित भइरहेका छन्। गरिब परिवारका सदस्यहरू महिनौंसम्म राहत शिविरमा बस्दा बेचिन र ठगिन बाध्य भएकाे बताउँछन्।
बिपतको मौका छोपी मानव तस्करीहरू शिविरका बालबालिका तथा युवतीहरूलाई ‘नोकरी’को प्रलोभनमा पार्छन्। बिपन्न परिवारका निर्दोष युवा–युवतीहरू दलालको लोभमा पर्दा जीवनभर पीडा भोग्छन्। महामारी, गरिबी र बिहारीभित्र ठूलो कथा लुकेको छ।
लालुप्रसाद जेल पुगे, नितिशकुमार सत्तामा आए। नीति फेरियो। नेता पनि फेरिए। राजनीति नै फेरियो। शासक, प्रशासक फेरिए। तर बिहार उस्तै छ, पीडा ज्यूँका त्यूँ छन्।
बिहारस्थित सुपौल जिल्लाको पाकपी गाउँका १८ वर्षीय हिमांशुले सडकछेउमा तरकारी बेच्छन्। उनी हजारौं विस्थापितहरूमध्ये एक हुन्। तर, उनी आफूलाई भाग्यमानी ठान्छन्।
‘चार वर्षअघि कोशी नदीमा आएको बाढीले मेरो गाउँ डुबायो। हामीहरू बर्बाद भयौं। त्यसपछि राज्य सरकारले मेरो परिवारलाई राहत शिविरमा लगेर बसाल्यो,’ हिमान्शुले भने, ‘शिविरमा बसे–लगतै नयाँनयाँ मान्छे आउर्थे–जान्र्थे। बा–आमालाई फकाएर मलाई लुधियानाको एउटा कपडा कारखानामा काम गर्न लगे।’
कारखानामा पुगेपछि आफूले घण्टौंसम्म काम गरेको उनी बताउँछन्। बदलामा खाना र बास मात्रै दिइयो। हिमान्शु दिनभर काम गर्थे तर बा–आमालाई मासिक ३५०० रुपैयाँ आउथ्र्यो। त्यो घटना सम्झँदा आज पनि उनी स्तब्ध हुन्छन्। पटकपटक प्रयास गर्दापनि मालिकले घर जान दिँदैन्थ्र्यो। दुई वर्षअघि हिमान्शु सन्तुष्टिको सास फेर्दै भागेर परिवारसामु फर्के।
‘अहिले म गाउँमा बस्छु। यहाँ एउटा सानो तरकारी पसल चलाइरहेको छु,’ उनी भन्छन्।
‘मलाई राम्रोसँग याद छ। सन् २०१९ तिरको कुरा हो। शिविरमा काम गर्ने केही व्यक्तिले बुबालाई भेटेर मलाई चण्डीगढ लगे। मसँगै अन्य सातजना केटाहरू पनि चण्डीगढ गए। त्यहाँ हामीलाई १५ दिनसम्म सिलाई तालिम दिइयो,’ १७ वर्षी रोहित सम्झन्छन्।
उनीहरू चण्डीगढ पुगेपछि दिनमा १२ घण्टा काम गर्थे। सुत्नका लागि पुरानो ओछ्यान र तीन छाक खाना मात्रै मिल्थ्यो। मालिकले महिनाको सात हजार रुपैयाँ सीधै रोहितका बुवालाई पठाइदिन्थे। उनले त्यहाँ करिब एक वर्ष काम गरे। त्यसपछि उनीपनि भागेर बिहार फर्के।
महामारी र गरिबीले थलिएको बिहारमा हजारौं पीडितमध्ये रोहित र हिमान्शु दुईवटा उदाहरण मात्रै हुन्। बालबालिकाहरूलाई बालश्रममा धकेल्ने मुख्य कारण हो– गरिबी।
बिहारका प्रायः जिल्ला वर्षेनि डुबानमा पर्छन्। बारम्बार आउने बाढी र चरम गरिबीका कारण साना बालबालिका बालश्रम गर्न बाध्य छन्। युवा–युवतीहरू नराम्रो व्यवसायमा संलग्न भइरहेका छन्।
बाढीको बेदनासँगै पछिल्लो दुई वर्षयता कोरोनाले बालश्रम र बेचबिखनका घटना झन्–झन् बढेका छन्। महामारी अवधिमा बिहारीजनको जीविकोपार्जन खोसिएको छ। राज्यको बाल कल्याण विभागका अनुसार हजारौँ बाल मजदुरको उद्धार गरिएको छ। बिहारमा पनि बेपत्ता बालबालिकाको संख्या उच्च छ।
गरिबलाई प्रलोभनमा पार्नु अनौठो कुरा होइन। पैसा कमाउने सम्भावना देख्नेहरूको नजरमा दलालहरू दया–माया देखाउँछन्। सहानुभूतिको आडमा परिवारलाई मनाउन खोज्छन् र फसाउँछन्।
बिहारको कोशी क्षेत्रमा बालश्रम, मानव अंगको व्यापार र मानव बेचबिखन ठूलो मात्रामा भइरहेको स्थानीयहरू बताउँछन्।
पूर्णिया जिल्लाको फुलवारिया गाउँका रञ्जित मलिकले कथित रूपमा आफ्नी ११ वर्षीया छोरी काजललाई उत्तरप्रदेशस्थित गोन्डाका २० वर्षीय युवकलाई बेच्न बाध्य भएको बताउँछन्। त्याे सम्झिदा उनी अहिले पनि रून्छन्। ‘विवाह गरेर पठाएकी छाेरी हालसम्म फर्किएकी छैन। थाेरै पैसाकाे लाेभमा मैले काजललाई विहेकाे नाममा एउटा केटासँग पठाएँ,’ उनी भन्छन्।
सीमाञ्चल, मिथिलाञ्चल र कोसीक्षेत्रका गरिब बालिकाहरू दलालको निशानामा पर्छन्।