नेपाल एक विकासाेन्मुख देश हो। विश्वमा धेरै विकासाेन्मुख देशहरु छन्। त्यसमा नेपालको नाम अग्रपंक्तिमा छ।
कुनै समय नेपालले आफ्नो देशमा उत्पादित वस्तु, अन्नबाली र थुप्रै सामग्रीहरुको निर्यात गर्दथ्यो। तर, अहिले भने मान्छेहरु निर्यात गरिरहेको छ।नेपालमा रोजगारीको सिर्जना नभएका कारण मान्छे निर्यात गर्नुपरिरहेको छ।
नेपालमा थुप्रै आन्दोलहरु भए। कहिले जातका आधारमा, कहिले धर्मका नाममा, कहिले भेगको आधारमा त कहिले वर्गका आधारमा। ती आन्दोलनहरुबाट धेरै परिवर्तन पनि भएका छन्।
स्वदेशमा रोजगारी दिने कार्यक्रम त निर्वाचनको बेला आएपनि चुनावी परिणामपछि कहिल्यै आएनन्। परिणाम वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ।
दैनिक हजारौं युवाहरुले देश छाड्ने गरेको पाइन्छ। उनीहरुले स्वदेशमै बसेर केही गर्छौँ भनेर देखेका हजारौं सपनाहरु पुरा हुन पाउँउैनन्। सपनाहरु दुई पाते नहुँदै घाँटी निमोठिन्छन्, अनि दक्ष र सक्षम युवाहरु विदेश जान बाध्य हुन्छन्।
त्यसैले आगामी निर्वाचनमा एक युवा दुबईको झण्डा खोजिरहेछ।
एक दिन बिहानको कुरा हो, हामी चार/पाँच जना घर अगाडि चिया गफ गरिरहेका थियौं। गफगाफमा आगामी निर्वाचन र हामीले योभन्दा अघिल्ला निर्वाचनहरुमा दिएको नेतृत्व, उनीहरुले गरेको विकास, काम, अन्य परिवर्तन र विभिन्न पार्टीका कुरामा गफी रहेका थियौं।
त्यतिकैमा एक जना दाइ परबाट आउनुभयो र उहाँले केही समय हाम्रो कुराकानी सुनिराख्नु भयो। त्यसपछि गफैमा एक जना दाइले यो पटकको चुनावमा मेरो घरमा पार्टीको ठूलो झण्डा राख्छु भन्नुभयो। त्यो हाम्रो कुरा सुनिरहेको दाइले भन्नुभयो, ‘भाइहरु यहाँ दुबईको झण्डाका पाउँछ होला?’
सबै जनाले आश्चर्यचकित हुँदै भन्यौं- किन दाइ ? ‘म यो पटकको चुनावमा त्यही देशको झण्डा हाल्छु।’ अनि सबैले भने- किन?
उहाँले भन्नुभयो- म आज बीस वर्ष भयो, आफ्नो घरपरिवार, आफ्नो ठाउँ र आफ्नो देश छोडेर विदेशिने गरेको। म विदेशमा बसिरहँदा प्रत्येक वर्ष आइरहने विभिन्न चाड पर्वमा घरमा फोन गरेर आफ्नो मनलाई शान्त पारी चित्त बुझाउँदै काम गरिरहेको हुन्थेँ।
आफ्नो घरपरिवार गाउँघर अनि देश छोडेर जानुको पीडा त मैले पचाइसकेको थिएँ। स्वदेशमा रोजगारी सिर्जना नभए पनि विदेशमा काम गरिरहेको म विदेशबाटै भएपनि आफ्नो घरपरिवार र देशको चिन्ता लागिरहने रहेछ।
त्यही भएर यो पटकको निर्वाचनमा ६ महिना अगाडि नै म नेपाल पाइपुगेँ। म नेपाल आइरहँदा काठमाडौंका विभिन्न ठाउँहरुमा भइरहेका ती आन्दोलन, बाटो जाम, बसमा मान्छेहरुको घुइँचो र मान्छे-मान्छेबीचको विभेद उस्तै छ। अनि केही दिनमा म मेरो घर जुम्ला पुगेर हेर्दा वडा र स्थानीय तहमा विभिन्न पार्टीहरुले जितेका रहेछन्।
ती स्थानीय तहमा उनीहरुले गरेको विकास निर्माण कार्य र अन्य परिवर्तनमा आफन्तवाद, नातावाद बढी देखियो। अघिल्लो निर्वाचनमा तिनै जनप्रतिनिधिहरुको पछाडि हिँडेका युवाहरुको अवस्था देखियो।
चुनाव पछि पोसिएका आफन्त र चुनाव अघि झण्डा बोकेर पछाडि लागेका युवाहरुको अवस्थामा आकाश जमिनकाे अन्तर छ। अनि यी पार्टीहरुको झण्डा, झोला बोकेर के पाइँदो रहेछ त?
मैले सोचेँ किन दुबईको झण्डा खोजिरहनु भएको होला ? अनि प्रश्न गरेँ- किन खोज्दै हुनुहुन्छ त दुबईको झण्डा?
उहाँले भन्नुभयो- मेरो एक छोरी, एक छोरा गरी दुई जना नानी बाबु छन्। अहिले यिनीहरु बोर्डिङ स्कुलमा पढिरहेका छन्। मैले वैदेशिक राेजगारीबाट कमाएको पैसाले नै दुई तले पक्की घर बनाएको छु।
मेरा जति पनि आधारभुत आवश्यकताहरु छन्, विदेशैबाट पूरा गरेँ। यो अवधिमा धेरै पटक निर्वाचनहरु भए। कुनै पनि जनप्रतिनिधिहरुको घोषणापत्रमा वैदेशिक रोजगारीमा गएका युवाहरुलाई स्वदेशमा रोजगारी दिलाउने विषय समेटिएको पाइएन। बरु नेपालमै स्वरोजगारीका अभ्यास गरिने कुरा जोडले उठाइयो।
त्यो त झुटो आश्वासन मात्रै रहेछ। अनि मैले त्यो-यो पार्टी भनेर कसैको झोला अनि झण्डा बोकिरहन जरुरी पनि छैन। त्यसैले त म आज दुबईको झण्डा खोजिरहेको छु।
हाम्रो देशबाट वैदेशिक रोजगारीमा गएका धेरै युवाहरुले दशैं-तिहार जस्ता महान चाडपर्वमा घर आउन नपाएपनि ५ वर्षमा एक पटक हुने निर्वाचनमा घर आउन पाउँ भनी रोइ राख्दछन्।
किनकि, यो निर्वाचनमा एक राम्रो नेतृत्व (लिडर) चुन्नसकियो भने हामीले आफ्नै देशमा रोजगारीको सिर्जना गर्न सक्थ्यौं कि? अनि हामीले आफन्त, घरपरिवारको नजिकै बसेर काम गर्न पाउथ्यौं कि? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाकसमा फर्किरहेको शव देख्न पर्दैनथ्यो कि?
अति शान्दर्भिक लेख अनि तितो सत्य अब जनताको पालो आयको छ यि सबै आधारभुत आबाश्यकता पुरा गर्ने नेतृत्व चयन गर्ने जय जनता शक्ति🙏🙏🙏