जाँदाजाँदै आईजीपी थापाले भने : संगठन सुधारका धेरै काम गरेँ, जसका कारण मनोबल बढेको छ (भिडियो)

प्रहरी महानिरीक्षक (आईजीपी) शैलश थापा क्षेत्रीले आइतबार (वैशाख १८) राति १२ बजेबाट अवकास पाउँदैछन्। अवकासको संघारमा रहेका महानिरीक्षक थापाले बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गर्दै आफ्नो २२ महिनाने कार्यकालको प्रगति बिवरण पेश गरे।

कोरोना महामारी सुरु भएकै बेला आफ्नो कार्यकाल सुरु भएको भन्दै थापाले चाहेर पनि धेरै कुरा गर्न नसकिएको बताए।

।तर, कोरोनाको महामारीकाे समयमा सडकमा समेत मानिस जान नसक्ने अवस्थामा प्रहरीले गरेको काम भने अभुतपूर्व रहेको उनको दाबी छ। प्रहरीले कोरोना संक्रमण कालमा गरेको कामप्रति स्वयम नागरिकले समेत स्वाबासी दिएको उनको भनाइ थियाे।

त्यस्तै उनले तल्तो तहका प्रहरी कर्मचारीमा रासनदेखि प्रमोशनजस्ता विषयमा काम गरेको दाबी गरेका छन्। लामो समयदेखि रोकिएका तल्तो तहका २३ हजार प्रहरीको बढुवा समेत गरेको महानिरीक्षक थापाले बताए।

अपराध नियन्त्रण र अनुसन्धानमा पनि आफ्नो कार्यकालमा भएका घटनाहरुको सफल अनुसन्धान भएको दाबी गरेका छन्। तर, आफ्नो कार्यकालमा चाहेर पनि निर्मला पन्त प्रकरणमा ‘ब्रेक थ्रु’ गर्न नसकेको अपसोच व्यक्त गरेका थिए।

‘मैले चाहेर पनि यो घटना ब्रेक थ्रु गर्न सकिनँ। ब्रेक थ्रु गर्न पाएको भए राम्रो हुन्थ्यो। कोसिस गर्‍याैँ तर सकिनँ,’ उनले भने। थापाले नयाँ महानिरीक्षकले उक्त प्रकरणमा ‘ब्रेक थ्रु’ गर्नेमा आफू आशावादी रहेको समेत बताए। त्यस्तै १६ वर्षे पेन्सन अवधिलाई आफ्नो कार्यकालमा घटाउन नसकेकोमा उनको दुखेसो थियो।

कार्यकालको सुरुमै थापाले १४ वटा लक्ष्य, ३४ वटा उद्देश्य र १ सय ५६ वटा विभिन्न क्रियाकलापलाई बुँदागत रुपमै खाका बनाएर काम थालनी गरेका थिए। यदपी, उनी आफूले थालनी गरेको योजना तथा कार्यहरुले ९० प्रतिशत पूरा भएको दाबी गरे।

हुन पनि थापाकै कार्यकालमा नेपाल प्रहरीमा वर्षौदेखि जाम भएर बसेको बढुवा प्रक्रिया अघि बढ्यो। अनि प्रहरीको तत्लो तहका कर्मचारीको मनोबल बढ्नेगरी बढुवा भयो। त्यसैगरी रासन तथा प्रहरीले पाउने भत्तामा पनि उनले सन्तोष हुने खालकै निणर्यहरु गरे।

त्यसैगरी थापाले डिजिटल डाटाबेसदेखि अपराध नियन्त्रणमा आधुनिकरणको विकासका केही योजनाहरु ल्याएका छन्। जसलाई संगठनका भावी आईजीपीहरुले कार्यान्वयनमा ल्याएमा पक्कै पनि संगठनको सुधार हुने आशा राखिएको छ। बाहिर अनेकौं टिकाटिप्पणी भए पनि थापाले संगठन सुधार र नीतिगत निणर्यका कुरामा निक्कै सुधार ल्याएको प्रहरी अधिकारीले बताउँदै आएका छन्।

३० वर्षको सेवा अवधिमा थापा एक स्वच्छ छवि भएका प्रहरी अधिकारीका रुपमा परिचित छन। २२ महिने कार्याकालमा पनि उनको स्वच्छ छवि स्थापित रह्याे।

प्रकाशित मिति: : 2022-04-27 21:15:00

प्रतिकृया दिनुहोस्