युक्रेनबाट पोल्यान्डको सिमानातर्फ एउटा मौनजुलुस अघि बढिरहेको छ । अनाहक युद्धका कारण आफ्नो सर्वस्व गुमाएका आबाल वृद्धवनिता पोका पन्तुरा बोकेर अज्ञात भविष्यतर्फ लम्किरहेछन् । दुःख छ, तर पोख्ने ठाउँ छैन ।
थकाइ लागेको छ, सुस्ताउने परिस्थिति छैन । भोक लागेको छ, खाने अन्न छैन । साराका सारा दुःखी आत्माको झुन्डमा कसले कसलाई आफ्ना वेदना सुनाउने ? कसलाई दयाको दर्द देखाउने ? सबै चुपचाप छन् । कानैनेरबाट स्वाट्ट गोली जान्छ, ‘आबुई’ भन्ने सुविधा छैन । टाउकै माथिबाट आगो ओकल्दै फाइटर उड्छ, त्यता हेर्नुको प्रयोजन छैन ।
त्यही जुलुसमा यात्रा गर्दै वार्सा पुगेका अभिजित र नीतु एक जनाकहाँ आश्रय लिएर बसेका छन् । नीतुको पेटमा नौ महिनाको भ्रुण छ । अभिजित भन्छन्, ‘जीवनको यो घडीमा ज्यादा सोच्नु र चर्चा गर्नुको कुनै अर्थ छैन । धेरै सोच्न थाल्यो भने उल्झन मात्र थपिँदै जान्छ ।
जस्तो परिस्थिति आइलाग्छ, सामना गर्दै जाने हो ।’ अनि उनी चुप लागेर टाढा क्षितिजतर्फ हेर्न थाल्दछन् । उनको मौन हृदयले कालीप्रसाद रिजालको गीत गाइरहेको आभास हुन्छ, ‘भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि हैन केही थाहा छैन ।’ तथापि, अभिजित पुरै निराश छैनन् । त्यसो भएको भए उनी नौ महिनाकी गर्भवती पत्नीलाई डो¥याउँदै त्यहाँसम्म पुग्ने नै थिएनन् । उनमा कत्ति पनि उल्लास छैन, किन्तु परिस्थितिको सामना गर्न तयार छन् ।