प्रचण्डको नाम लिएर काभ्रेमा ‘गुण्डागर्दी’ गर्ने ज्ञानधोज तामाङले सहकर्मीलाई खुकुरी प्रहार गरेपछि पक्राउ (भिडियाेसहित)

काभ्रेपलाञ्चाेकको तिमालका ज्ञानधोज तामाङ उर्फ उज्वलले आफ्नै व्यापारिक साझेदारमाथि खुकुरी प्रहार गरेका छन्।

भक्तपुरको गठ्ठाघरमा रहेको रेञ्जेन दोर्जे प्रा.लिका अध्यक्ष समेत रहेका तामाङले सोमबार आफ्नै साझेदारलाई कार्यालयमै खुकरी प्रहार गरेका हुन्।

खुकुरी प्रहार गर्ने तामाङलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने अभियोगमा मुद्धा दायर गरेको छ। तामाङ लगायतका अन्य केही व्यक्ति मिलेर काभ्रेमा क्रसर उद्याेग चलाउँदै आएका थिए। रेञ्जेन दोर्जे प्रा.लिमार्फत् सञ्चालित क्रसरको तामाङले हिसाब देखाउन नसकेपछि विवाद उत्त्पन्न भएको थियो। करिव २ वर्षदेखिको हिसाब देखाउन नसकेका तामाङले कार्यालयमा मिटिङ चलिरहेका बेला महिला साझेदारमाथि खुकुरी प्रहार गरेका थिए।

बैठकमा साझेदारले हिसाब मागेपछि विवाद सुरु भएको र तामाङले एक्कासी खुकुरी निकालेर प्रहार गरेकाे प्रत्येक्षदर्शी बताएका छन्। खुकुरी प्रहारबाट कार्यालयको क्षेती भएको छ।

माओवादी पूर्व सेनाका सदस्य तामाङ केही समय पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षाका रुपमा थिए। पछि आएर उनी गाँउमै अन्य केही व्यक्तिको साथमा क्रसर खोलेर बसेका थिए। क्रसरको न्यूनतम शेयर भएपनि उनले दादागिरी देखाएरै पूरै क्रसर हडपेका थिए।

तामाङले माओवादीमा हुँदा लुकाएको अत्याधुनिक हतियार समेत देखाएर लुटपाट मच्चाउँदै आएको स्रोतको दाबी छ। प्रचण्डको नीजि सुरक्षाका रुपमा हुँदा तामाङले पहुँचकै भरमा हतियार राख्ने इजाजत समेत लिएका थिए।

पटक–पटक विवादमा आइरहने तामाङ प्रचण्ड प्रधानमन्त्री भएका बेला धुलिखेलबाट तस्करीको ३५ किलो सुन लुटेका थिए। प्रहरीले त्यसबेला पक्राउ गर्दा उनले प्रचण्डको पहुँच देखाउँदै छुटकारा पाएका थिए।

प्रकाशित मिति: : 2022-04-19 18:43:00

प्रतिकृया दिनुहोस्