केजीएफ च्याप्टर-२ ले हलमा ल्याएको कोलाहल

कोलार गोल्ड फिल्ड्स अर्थात् सुनखानीको कथा। नवीनकुमार उर्फ यश अभिनित दक्षिण भारतीय ‘केजीएफ च्याप्टर–२’ हेर्न झण्डै तीन वर्ष कुर्नुपर्यो। फिल्म एकदमै मनोरञ्जनात्मक छ।

फिल्ममा यश, सञ्जय दत्त, रविना टन्डन, श्रीनिधि शेट्टी, प्रकाश राज र राव रमेशको मुख्य भूमिका छ। केजीएफ च्याप्टर–२ को कथा अघिल्लो भाग जहाँ रोकिएको छ, त्यहीँबाटै अघि बढ्छ।

लगत्तै, राजा कृष्णप्पा बैर्य उर्फ रकी भाइ (यश)ले सुनखानी आफ्नो कब्जामा लिएर अधिपत्य जमाउँछन्। उनीसँग पृथ्वीको सबैभन्दा बहुमूल्य जमिन हात पर्छ। मानिसहरू रकीलाई भगवान मान्छन्। उनका लागि मर्न र मार्न तयार हुन्छन्।

सुनखानीभित्र पीडादायी जीवन बिताइरहेकाहरू आफ्ना सन्तानलाई भन्छन्, ‘रकीले हाम्रो बन्धन तोडेको छ। यो कहिल्यै नबिर्सनु।’ बालबालिकाहरू अभिनेताको व्यक्तित्वबाट निकै प्रभावित हुन्छन्।

रकीले सुनखानी अर्थात् केजीएफमा यस्तो साम्राज्य निर्माण गरेका छन्– जसलाई कसैले तोड्न सक्दैन। रकी भूमिकामा देखिएका अभिनेता यशले सुन्दर अभिनय गरेका छन्।

उनको भूमिकामाथि कहिँकतै खोट देखिँदैन। भावनात्मक दृश्यहरू होस् वा एक्सनमा उनी सहज देखिन्छन्। उनी जुनसुकै फ्रेममा आएपनि हावी हुन्छन्। संवादमा धेरै ताली र सिट्टी बज्छ। उनको स्थान र भूमिका अतुलनीय छ। फिल्ममा यस्ता धेरै दृश्य छन्, जुन देखेर दर्शक छक्क पर्छन्।

फिल्ममा अभिनेता सञ्जय दत्त ‘अधीरा’ आफ्नो चरित्रमा प्रभावशाली देखिन्छन्। उनको अभिनय स्थान अपेक्षाभन्दा कम छ। उनी खलनायकको रूपमा बहादुर र क्रूर देखिन्छन्। रकीले एकछत्र शासन गर्ने योजना बुनिरहेका बेला अधीरा शक्तिशाली बनेर उदाउँछन्।

अधीराको लुक्स निकै अचम्मको छ। अधीरा र रकीबीच बेलाबेला देखिने टक्करको दृश्य रोचक छ।

फिल्म अवधिभर रकीले दुई पात्रसँग सामना गर्नुपरेको छ। एक अधीरा अर्थात् सञ्जय दत्त र अर्को प्रधानमन्त्री रमिका सेन अर्थात् रविना टन्डन।प्रधानमन्त्री रमिका सेनले रकीबारे थाहा पाउँछिन् र रकीको हर्कत बन्द गराएरै छाड्ने वाचा पनि गर्छिन्। लगत्तै कथा रकी वरिपरी नै घुम्छ। जहाँ उनले आफ्नो साम्राज्य र कुर्सी बचाउनका लागि हर–प्रयास गर्छन्।

केजीएफले रकीको भावनात्मक पक्षलाई पनि राम्रोसित देखाएको छ। बेलाबेला प्रेमकथा र विगतका दृश्य पनि छन्। तर कथालाई मूलधारबाट बाहिर भने लगिँदैन।

रीना अर्थात् श्रीनिधि शेट्टी रकीकी प्रेमिका हुँदै श्रीमती हुन्छिन्। निर्देशक प्रशान्त नीलले प्रेम कथालाई उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन्। फिल्मको हरेक फ्रेम गजबको छ। कथा अघि बढ्दै जाँदा ‘क्यूएफएक्स’मा फिल्म हेर्न पुगेका दर्शकको मिनेट–मिनेटमा सिट्टी र ताली गुन्जिरहेको थियो।

प्रशान्त नीलले अघिल्लो भागभन्दा यसमा प्रभाव जमाएका छन्। प्रस्तुति राम्रो छ। निर्देशकले कथा र यशको स्टारडमलाई सँगसँगै लिएका छन्। फिल्मले धेरै ठाउँमा आक्रमक र क्रूर दृश्य देखाउँछ। कथामा केही भावनात्मक दृश्य पनि जोडिएका छन्।

फिल्म कतिपय भागमा एकदमै तीव्र गतिमा अघि बढेको छ भने कतिपय ठाउँमा रोकिएजस्तो भान हुन्छ। विशेष गरी पहिलो हाफमा। फिल्मको ब्याकग्राउन्ड स्कोर उत्कृष्ट छ। यसले फिल्मलाई भव्य बनाएको छ। यसबाहेक फिल्ममा तीनवटा गीत छन्, एउटा बाहेक अन्य दुई गीतले त्यति ध्यान तान्दैन।

रमिकाले प्रधानमन्त्रीको भूमिकालाई उत्कृष्ट ढंगले निभाएकी छिन्। रकी र रमिका एकपटक आमने–सामने दृश्यमा देखिन्छन्। जहाँ प्रधानमन्त्रीसामु पनि रकी झुक्दैनन्, उल्टै ट्वाँ पारेर हिँड्छन्। रकीकी श्रीमती अर्थात् रीनाले यसपटक राम्रो स्थान पाएकी छिन्। उनले आफ्नो चरित्रलाई राम्रोसँग निभाएको देख्न सकिन्छ। फिल्मका अन्य कलाकारहरू पनि एकदमै फिट देखिन्छन्। सबैले आ–आफ्नो चरित्रलाई न्याय गरेका छन्।

प्रकाशित मिति: : 2022-04-16 09:19:00

प्रतिकृया दिनुहोस्