निर्वाचन आयोगले वैशाख ३० मा स्थानीय तहको निर्वाचन मिति तय गरेसँगै गाउँ–नगरमा चुनावी प्रभाव देखिन थालिसकेको छ। यतिबेला नेताहरु चुनावी एजेण्डा बाेकेर टोलटोलमा पुगिरहेका छन्।
चिया पसल, चोक, गल्लीदेखि सामाजिक सञ्जालमा पनि चुनावीकै गफगाफ र चर्चा चलिरहेको छ। यतिबेला दलहरू कस-कसलाई उम्मेदवार बनाउने भनेर बहससमेत गरिरहेका छन्।
मतदाताहरू भने हाम्रालाई हाेइन, राम्राेलाई उम्मेदवार बनाउनुपर्छ भनिरहेका छन्। कतिपयले त राम्रो काम गरेकाहरुलाई फेरि उठाउनुपर्ने बताइरहेका छन्।
जिल्लाका शीर्ष नेताहरुले आन्तरिक बैठक तथा भेलाहरु सञ्चालन गरिरहेका छन्। जसका लागि भिन्नभिन्नै पदमा आकांक्षी देखा परेका छन्, जनप्रतिनिधिहरु।
संविधानले उल्लेख गरेअनुसार प्रमुख पदमा पुरुष भएपछि उप–प्रमुख पदमा महिलाहरु रहनुपर्ने व्यवस्था रहेको छ। त्यसैअनुरुप सबै स्थानीय तहको उप–प्रमुख पदमा महिला नै रही आएका छन्। के महिला भएकै कारण उनीहरु उप–प्रमुख पदमा नै रहनुपर्ने हो? यसबारे के भन्छन् त महिला उप-प्रमुखहरु :
रोजिना राई
उप–प्रमुख
लिखु गाउँपालिका, नुवाकोट
अहिलेको स्थानीय तहको चुनावमा मेरो दाबेदारी उपाध्यक्ष्य पदमा नै रहेको छ। अध्यक्ष पदमा दाबेदारी दिइरहँदा मैले पार्टीको निर्णय मान्नुपर्ने हुन्छ। अब हुने चुनावले हालकाे कार्यकालका भन्दा सक्षम व्यक्तिलाई प्रमुखको रुपमा लिन चाहेको छ। यसको मतलब हामी असक्षम छौँ भनेको भने होइन।
महिलाहरु पनि कार्य र दिमागका हिसाबले पुरुष सरह नै हुन्छन्। त्यस्ता कुनै पनि काम छैनन्, जुन काम पुरुषले मात्र गर्न सक्छ भने महिलाले गर्न सक्दैनन्। तर पदमा पुगेपछि कार्यभार सम्हाल्न सक्ने हुनुपर्छ। पार्टीभित्र रहेपछि समझदारीअनुसार नै काम गर्नुपर्ने हुन्छ। मेरो तर्फबाट पनि मैले मभन्दा सक्षम व्यक्ति हेर्नुपर्ने हुन्छ। त्यसकारण मेरो दाबेदारी उपाध्यक्ष पदमा नै रहेको छ।
रामकुमारी शाही
उप–प्रमुख
कुसे गाउँपालिका, जाजरकोट
यसपटककाे चुनावमा मेरो दाबी अध्यक्ष पदको लागि रहको छ। ०७४ को चुनावमा प्रमुख पदमा निर्वाचित भएका पदाधिकारीहरुले पनि काम गर्नुभएको छ। तर अबको स्थानीय चुनावमा हामी चुप लागेर बस्ने पक्षमा छौँ। सविंधानले महिलालाई पनि समावेशी तरिकाले लैजानलाई अधिकार त दियो, तर हामी महिलाहरुले पनि अध्यक्ष पद पाउनुपर्ने हुन्छ। अब हामीले पनि केही गर्ने समय आएको छ।
महिलाहरुले पनि अवसर पाएको खण्डमा जस्तोसुकै परिस्थितमा काम गर्न सक्छन्। महिलालाई कमजोर ठानेर हुँदैन। महिलामाथि हुने हिंसाको विरोध गर्न पनि प्रमुख पदमा महिला आउनुपर्छ। महिलालाई कमजोर ठानेर केही गर्न नदिनेको लागि भएपनि मेरो दाबेदारी पालिका प्रमुखमा रहेको छ।
कुन्तीदेवी बुढाथोकी
उप–प्रमुख
झापा गाउँपाालिका, झापा
अघिल्लो स्थानीय निर्वाचनमा उप–प्रमुख पदमा निर्वाचित भएर मैले मेरो कार्यभार सम्हाल्दै आएकी छु। तर म हाल क्यान्सर भएर उपचाररत छु।त्यसकारण मेरो कुनै पनि पदमा दाबेदारी रहने छैन। मेरो स्वास्थ्य अवस्थाका कारण कार्य गर्न सक्ने क्षमता छैन। तर महिलाहरु कमजोर पनि होइनन्।
परी आएको खण्डमा महिलाले गर्न नसक्ने काम केही पनि छैन। महिला भएकै कारणले सधैँ तल्लो तहमा रहनुपर्ने अवस्था छैन। छोरी मान्छे पनि पुरुष सरह अघि जाने वातावरण बनाउनुपर्छ। महिला सक्षम भएको खण्डमा मात्र देशले गति लिन सक्छ। अबको निर्वाचनमा महिला नै प्रमुख पदमा निर्वाचित हुनुपर्छ।
इच्छाकुमारी गुरुङ
उप–प्रमुख
सिद्दिचरण नगरपालिका, ओखलढुङगा
०७४ को निर्वाचनपछि पहिलो पटक हामी स्थानीय सरकारमा आएका थियौँ। त्यस समयमा पनि महिला मित्रहरु निर्वाचित भएका छन्।महिला भएकै कारण उप–प्रमुख पदमा रहिरहनु पर्ने भन्ने होइन। तर अवसर भने कम रहेको छ।
अघिल्लो स्थानीय चुनावमा जुन-जुन पदमा महिला उम्मेदवारी रहे, सबैले जितेका छन्। महिलाहरु आफैँले आफूलाई कमजाेर ठानेर प्रमुख पदको लागि दाबी नगरेका हुन्। महिला आफूले पनि अग्रसर भूमिका देखाएर अगाडि बढ्न सकेकोमा नहुने भन्ने केही छैन।
उर्मिला प्रधान श्रेष्ठ
नगर उप–प्रमुख
फिदिम नगरपालिका, पाचँथर
सर्वप्रथम हाम्रो समाजमा पितृसतात्मक सोच विद्यामान छ। यही सोचका कारण पनि हामी महिलाले कार्य सही तरिकाले गर्न सकेका छैनाैँ। महिलाले केही गर्न सक्दैनन् भनेर पछाडि राख्दै आएका छन्। तर त्यो गलत छ। आधा आकाश ढाकेर बसेका महिलाले किन काम गर्न सक्दैनन्? जसले गर्छु भनेर अगाडि बढेका छन्, उनीहरुले अवसर पाएका छैनन्। अगाडि नबढ्नेको त के कुरा भयो र, तर महिलालाई सानैबाट घर, भान्छा र परिवारका सदस्यकाे रेखदेखका लागि तयार परिएको हुन्छ।
अबको निर्वाचनमा धेरै ठाउँहरुबाट महिला नेतृत्वले पनि पाइला अघि बढानुपर्छ। महिलाले पनि प्रमुख पदमा रहेर कार्य गर्न सक्छन् भनेर अब देखाउन जरुरी छ। महिला सक्षम भएको खण्डमा मात्र विकासले गति लिन सक्छ। त्यसकारण महिला पनि प्रमुख पदमा आउन जरुरी छ।