रुपन्देहीमा भएको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको उपाधि नेपथ्य ज्ञानोदय गोल्डले जितेको छ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भएको चौथो संस्करणको फाइनल खेलमा जेभी वरियर्सलाई तीन विकेटले पराजित गर्दै नेपथ्य ज्ञानोदय गोल्डले दोस्रो पटक उपाधि जितेको हो।
टस जितेर सुरुवाती ब्याटिङ गरेको जेभी वरियर्सले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८ रन जोडेको थियो। जसका लागि सर्वाधिक लोकेश बमले ३२, अहमद हुसेनले १२ रन बनाए।
बलिङतर्फ नेपथ्यका सुनिल धमलाले ४, अमित तामाङले ३ विकेट लिए। जवाफी ब्याटिङमा १०९ रनको लक्ष्य पाएको नेपथ्यले १९ ओभरमा ७ विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो।
जसका लागि सुनिल धमलाले ४८, विशाल केसीले ४३ रन बनाए। बलिङतर्फ किशोर महतो र रोहित पौडेलले समान २–२ विकेट लिए। फाइनल खेलमा सुनिल धमला म्यानअफ द म्याचबाट पुरस्कृत भए।
च्याम्पियन नेपथ्यले ४ लाख नगद, उप विजेता जेभी वरियर्सले २ लाख नगद सहित र ट्रफी प्राप्त गरेका छन्। उनीहरूलाई नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र सर्वोत्तम सिमेन्टका रिजनल म्यानेजर रमेश ढकालले पुरस्कृत गरे।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी म्यान अफ द सिरीज र वेस्ट व्याट्स मेनबाट जेभी बरियर्सका बसिर अहमदलाई नगद क्रमशः २० हजार र १० हजार सहित ट्रफीबाट पुरस्कृत गरे।
त्यस्तै वेस्ट बलर रोयल शंकरनगरका धिरज शाहीलाई १० हजार नगद र ट्रफीबाट, त्यस्तै उदयमान खेलाडीबाट एकोन च्यालेन्जर्स भैरहवाका सन्तोष यादवलाई नगद ५ हजार र ट्रफीले पुरस्कृत गरिएको तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दीपक भुर्तेलले जानकारी दिए। प्रतियोगिताको मुख्य प्रायोजन सर्वोत्तम सिमेन्टले गरेको थियो। मोहम्मद हबिब