विभिन्न मागसहित जनकपुरधाममा स्वास्थ्यकर्मीहरुकाे प्रदर्शन

बिमला गुप्ता

जनकपुरधाम

मधेस प्रदेशको राजधानी जनकपुरधाममा स्वास्थ्यकर्मीहरुले विभिन्न मागसहित प्रदर्शन गरेका छन। 

प्रादेशिक अस्पताल तथा जनकपुर नर्सिङ क्याम्पसको अस्तित्व नै खतम पार्ने प्रयास भइरहेको भन्दै स्वास्थ्यकर्मीहरुले शुक्रबार प्रदर्शन गरेका हुन्।

अस्पताललाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने तयारी भइरहेको बेला कर्मचारीले त्यसको विरोध गर्दै सभामुख सरोजकुमार यादवलाई ज्ञापन बुझाएका छन्।

प्रदर्शनको अगुवाइ गरेको सरकारी चिकित्सक संघ मधेस प्रदेश शाखाले प्रादेशिक अस्पताल जनकपुरधाम र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्टाछुट्टै स्वतन्त्र संस्था काम गर्नुपर्ने र प्रतिष्ठानको अस्पताल नबनुञ्जेलसम्मको लागि प्रादेशिक अस्पताललाई प्रयोगात्मक कक्षा र पठनपाठनको लागि प्रयोग गर्न सुझाव दिएको छ।

प्रादेशिक अस्पताल जनकपुरधामलाई पूर्ण सरकारी संस्था कायम गर्न, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि मापदण्ड बमोजिम उच्च शिक्षा तथा स्तरबृद्धिको लागि बाधा नपर्ने संघीय स्वास्थ्य सेवा ऐनको व्यवस्था बमोजिम प्रदेश निजामति सेवा ऐनमा समेत व्यवस्था गरी वृत्ति विकास सुनिश्चित गर्नुपर्ने माग उनीहरुको छ।

साथै ज्ञापनमा प्रादेशिक अस्पतालको मातहतमा रहेको जनकपुर नर्सिङ्ग क्याम्पसलाई चरणबद्ध रुपमा जनकपुर बाहिर सार्ने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न माग गरिएको छ।

प्रकाशित मिति: : 2022-04-08 18:34:00

प्रतिकृया दिनुहोस्