झम्सिखेल युथ क्लबलाई २-१ अन्तरले पराजित गर्दै बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुखद अन्त्य गरेको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको ५४औं मिनेटमा भीष्मराज घिमिरेले गरेको गोलबाट बाँसबारीले अग्रता बनाएको थियो।६१औं मिनेटमा बिक्की राईले गोल गर्दै बाँसबारीको अग्रता दोब्बर पारे।खेलको ७९औं मिनेटमा सुवासराज गोलेले झम्सिखेलको तर्फबाट सान्त्वना गोल गरे।
जितसँगै बाँसबारीले १३ खेलबाट १९ अंक जोडेको छ। यस्तै, पुछारमा रहँदै लिगको अन्त्य गरेको झम्सिखेलले समान खेलबाट नौ अंक जोडेको छ। झम्सिखेल यसअघि नै तेस्रो डिभिजनमा घटुवा भइसकेको छ। १८ फागुनदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने र पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुने प्रावधान छ।
दुई खेलअघि नै चर्च ब्वाईज क्लब शीर्षस्थानमा रहँदै ए डिभिजन लिगमा बढुवा भइसकेका छन्। दोस्रो टोलीको रूपमा खुमलटार युथ क्लब र रानीपोखरी कर्नर टिम आरसिटी शीर्ष डिभिजन लिगमा बढुवा हुने संघारमा छन्।