मन्दिरा अधिकारी
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै गाउँ–गाउँमा चुनावी प्रचार तथा अभियान सुरू भइसकेको छ। मुख्य दलका प्रायः नेताहरू उम्मेदवार छान्दै टोल–बस्तीमा छिरिसकेका छन्।
जिल्लाका शीर्ष नेताहरूले आन्तरिक बैठक तथा भेलाहरू सञ्चालन गरिरहेका छन्। जसका लागि भिन्नभिन्नै पदमा विभिन्न आकांक्षीहरू देखा परेका छन्। त्यसो त कार्यकाल सकिनै लागेका जनप्रतिनिधि पनि दोहोरिने दाउमा देखिन्छन्।
उनीहरू पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहन्छन्। चुनावी मैदानमा उत्रिन नेता तथा कार्यकर्ताहरूको मन जित्न लागिपरेका छन्, जनप्रतिनिधि। उनीहरू एकातिर नेता–कार्यकर्ताहरूको मन जित्न र अर्कोतिर पालिकाभित्र हिसाबकिताब मिलाउनमा केन्द्रीत छन्।
पहिलाे चरणमा निर्वाचित जनप्रतिनिधिहरू कार्यकाल सकेर बिदा हुँदैछन्। उनीहरूको पदावधि आजको मितिबाट ३५ दिनमात्रै बाँकी छ। तर जाँदाजाँदै के भन्छन् त रोल्पा, काठमाडौं, नुवाकोट, दोलखा, जुम्ला र प्यूठानस्थित स्थानीय सरकारका प्रमुख–उपप्रमुख:
पूर्ण के.सी
नगर प्रमुख
रोल्पा नगरपालिका, रोल्पा
मुलभूत रुपमा हेर्दा मेरो कार्यकाल सन्तोषजनक र सफल रह्यो। यो हाम्रो कार्यकालमा सिकाइको दृष्टिकोण र कामको हिसाबले पहिलो थियाे। जसमा नयाँ सरकार थियो, नीति बनाउनुपर्ने थियो। सबै कुरा नयाँबाट सुरुवात गरेका हौं। त्यस अवस्थामा हामीले काम गर्ने अवसर पायौं। नयाँ नै भएपनि हामीले जति काम गरेका छौं– विकासका काम र हामीले गरेका कार्यप्रति सन्तोषजनक नै छौं।
निर्वाचनको क्रममा जनतासमक्ष अनेकौं प्रतिबद्धता गरेका थियौं। हामीहरूले पाएको जिम्मेवारी सकुशल निर्वाह गरेका छौं। कतिपय कामको परिणाम बल्ल देखिन थालेको छ। कतिपय पूरा भएका छन्। अब चुनावकाे सन्दर्भमा भन्नुपर्दा संवैधानिक व्यवस्थाअनुसार दुई कार्यकाल जनताको चाहनाअनुसार दोहोरिँदा ठिक हुन्छ। तर धेरै साथीहरूले आफू पनि इच्छुक रहेको बताएका छन्। सल्लाहबमोजिम अघि बढ्ने सोच–विचारमा छु।
सीता लामा
उपाध्यक्ष
ककनी गाउँपालिका, नुवाकोट
गाउँपालिका अध्यक्षमा मेरो दाबी स्वाभाविक छ। टिकट दिने/नदिने पार्टीको कुरा हो। तर म बलियो दाबेदारी हुँ। भोलि पार्टीको निर्णय हुन्छ, त्यहाँबाट मान्नैपर्छ। अहिलेभन्दा राम्रो गर्छु भन्ने दाबेदार भेटिएपछि हट्न पनि सकिन्छ। हामीहरू जितेर आउँदा न संरचना, न कर्मचारी, न त कानुन! धेरै कुराको अभाव थियो। तरपनि हामीले यतिसम्म काम गरेका छौं।
तर म सन्तुष्ट चाहिँ छैन। हामीले चाहेको र सोचे जति काम पूरा गर्न सकेका छैनाैँ। पहिलो कार्यकालमा कानुन बनाउँदै, कर्मचारी खोज्दै काम गरेका छौं। यसलाई काम नगरेको भन्न मिल्दैन। समग्रमा भन्नुपर्दा सन्तुष्ट नै छौं।
प्रकाश अधिकारी
नगर प्रमुख
टोखा नगरपालिका, काठमाडौं
हामीले जिम्मेवारी प्राप्त गर्दा संक्रमणकालीन अवस्थाबाट सुरुवात गरेका थियौं। सडकमा नै मानव मलमुत्र बग्दथे। कार्यालय नै थिएन। कोभिडका कारण लामो समय अस्तव्यस्त बनायो। तथापि हाम्रो प्रयास, नगरबासीको प्रयास र विकासका हिसाबले सम्पूर्ण वडाहरूमा विकासको मापन गर्ने हो भने हामी सन्तुष्ट छौं। म खुसी छु। हामीले सतप्रतिशत गर्ने भनेर लक्ष्य राखेका थियौं।
पूर्वाधार विकास, स्वास्थ्यको क्षेत्रमा निःशुल्क रगत तथा ५० वर्षमाथिका मानिसलाई निःशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्य गरेका छौं। खानेपानीको समस्यालाई कम गर्न बोरिङ्ग गरेर खानेपानी वितरण गर्ने योजना थियो। तर हामीले मेलम्ची खानेपानीको पाइप हाल्न सफल भएका छौं। यसकारण सन्तुष्ट छु। म जनातको सेवक हुँ। नगरबासीले कस्तो किसिमको अवधारण प्रस्तुत गर्छन् र पार्टीले कसरी अगाडि सार्छ?
कल्पना भण्डारी
उपाध्यक्ष
मेलुङ्ग गाउँपालिका, दोलखा
म स्वाभाविक रूपले अध्यक्ष पदमा दाबी गर्छु। मेरो कार्यकालमा मलाई सविंधानले दिएका कामहरू इमान्दारितापूर्वक गरेको छु। ती कामलाई सकेजति तीव्र रुपमा सम्पन्न गरेँ। काम गर्ने क्रममा धेरै चुनौती पनि भोगेँ। तरपनि मैले तीव्र रूपमा काम गरेँ। त्यसैले म आफू सफल भएको महसुस गर्छु। कार्यकाल अवधिभर कसैसँग झगडा, विवाद भएन। त्यसर्थ मेरो तर्फबाट विवादरहित कार्यकाल पूरा गर्दैछु। म यस मामिलामा धेरै खुसी छु।
जनताको माग फेरि उपाध्यक्ष पदमा दोहोरिनुपर्ने छ। तर पार्टीको निर्णय र गठबन्धनका कारण मलाई टिकट नदिन पनि सक्छन्। मेरो सङ्घर्ष जारी छ। मैले अध्यक्ष पद पाउनुपर्छ वा उपाध्यक्ष छोड्दिनँ भनेर लागिरहेकी छु।
अप्सरादेवी न्यौपाने
नगर उपप्रमुख
चन्दनाथ नगरपालिका, जुम्ला
चुनावमा मेरो तर्फबाट प्रमुख पदमा दाबी रहन्छ। तर पार्टीले एउटा नीति तय गरेको छ। त्यसमा जनताका आवाजहरू के हुन्छन्, त्यहीअनुरुप जाने विचार छ। यस कार्यकालमा भएका कार्यहहरूप्रति खासै सन्तुष्ट छैन। वास्तवमा जनाताको आवश्यकता परिपूर्ति हुनेगरी कार्य गनुपर्ने हो।
जनताको आवश्यकता एकातिर, काम अर्काेतिर भएको छ। त्यसकारण सन्तुष्टि हुने ठाउँ नै छैन। न्यायिक कार्यहरूमा भएका निर्णयले सन्तुष्ट हुने वातावरण छ। मेरो तर्फबाट मैले जनतामाझ राम्रो काम गरेको छु। जनता पनि सन्तोषजनक छन्।
म नगरपालिकाले गरेका काममा खासै खुसी छैन। किनकि जनताले एउटा आशा राखेर हामीलाई मतदान गरेका हुन्। तर हामीले त्यसअनुरुप काम गर्न सकेनौं। नगरले गरेको विकासे कार्यप्रति सन्तुष्ट हुन सकेका छैनौं।
अर्जुन कुमार कक्षपति
नगर प्रमुख
प्युठान नगरपालिका, प्यूठान
जनताले जस्तो सहमति देखाउँछन्, म त्यसैअनुरुप अगाडि बढ्ने योजनामा छु। तर पनि पार्टीको सहमति हुनुपर्ने हुँदा पार्टीगत विचारलाई पनि लिएर अघि बढ्ने छु।
मेरो विचारमा हाम्रो कार्यकाल राम्रो रह्यो। व्यवस्थापनका कार्यदेखि कानुन निर्माणले धेरै समय खर्चिनुपर्यो। हाम्रो पाँच वर्षको अवधिमा दुई वर्ष त कोरोनाले अवराेध गर्यो। तर, त्यही विषयमा रहेर पनि हामीले गर्ने काम तथा योजनाहरू कार्यान्वयन वा त्यसलाई पालना गरेका छौं।
स्थानीय सरकारलाई सबल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छौं। हामी पूर्णरुपमा सन्तुष्ट छैनाैँ। विभिन्न काम गर्नुपर्ने थियो, गर्न सकेनौं होला। तर धेरै काम पनि गरेका छौं। जसमा नगरको लागि विभिन्न रणनीतिहरू तयार गरेका छौं।
शिक्षालाई विशेष प्राथमिकताका साथ अगाडि ल्यायौँ। शिक्षालाई निःशुल्क गर्ने घोषणा पनि गरेका छौं। स्वास्थ्यलाई पनि विशेष मध्यनजर गर्दै दशवटा स्वास्थ्य केन्द्र स्थापना गरेका छौं। नगरपालिकामा सुविधा सम्पन्न अस्पलात निर्माण भएको छ। त्यस्तै ६० वर्षभन्दा माथिका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवालगायत नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा पनि सुरु गरेको छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया