‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष समावेसी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतन्त्रात्मक, गणतन्त्रात्मक राज्य हो।‘
नेपालको संविधानको भाग १ को प्रारम्भिकमा यही लेखिएको छ। यो लामो वाक्यको एक अंश ‘नेपाल धर्मनिरपेक्ष राज्य हो’ भन्ने पनि हो। यसको अर्थ सिधा छ, राज्यको आफ्नो कुनै धर्म हुँदैन, सबैको धर्मलाई राज्यले समान रूपमा व्यवहार गर्छ।
कसैलाई मन परे पनि, नपरे पनि अहिलेको नेपालको संविधानले गरेको व्यवस्था यही नै हो । संविधान देशको मूलकानून हुने भएकाले नेपालको सर्वोच्च कानून पनि यही हो।
यही नेपालको मूलकानून संविधानको भाग ६ को ६.१ मा राष्ट्रपतिको व्यवस्था गरिएको छ, जसमा राष्ट्रपतिलाई संविधानको पालक र संरक्षक भनिएको छ र उस/उनको कर्तव्य ‘संविधानको पालन र संरक्षण गर्नु’ भनिएको छ।
सबैलाई थाहा नै छ, अहिले यो पदमा श्रीमती विद्यादेवी भण्डारी छिन्। यो पनि सबैलाई थाहा छ कि हिजो उनी धर्मलाई अफिम भन्ने मार्क्सवादी दर्शनमा विश्वास गर्थिन् र राष्ट्रपति चुनिनुअघि उनी नेपाल कम्युनिष्ट पार्टीकी उपाध्यक्ष थिइन्।
हिजो उनी जे थिइन्, त्यो उनको कुरा भयो तर आज उनी धर्मनिरपेक्ष राज्य नेपालको संविधानको पालक र संरक्षक छिन्। र, उनलाई संविधानले निश्चित काम गर्नु भनेर तोकेको छ र त्यो वापत मुलुकको ठूलो राजश्व राष्ट्रपति कार्यालयको व्यवस्था, तलव, भत्तालगायतका सुविधामा प्रदान गर्दैआएको छ।
तर, यी राष्ट्रपतिले संविधान पालक र संरक्षकका रूपमा कति खह्रो उत्रिएकी छन्, त्यो त सबैका सामु जगजाहेर नै छ। उनका एक हैन, अनेक कार्य विवादमा आएका छन् ।
तर, दुर्भाग्य जब उनका काम विवादित हुन्छन्, त्यसपछि उनलाई चोख्याउन गणतन्त्रलाई कमजोर पार्न राष्ट्रपतिको मानमर्दन गरिएको, महिला भएका विभेद गरिएको, विधवा भएकाले अपमान गरिएको आदि इत्यादि भन्ने खालका दलील पेश गरिन्छन् । एकपटक हैन, अनेकपटक यस्तै तर्क गरेर उनको विवादमाथि तन्ना ओढाइन्छ।
खासगरी धर्मको कोणबाट पनि राष्ट्रपति एकपछि अर्को विवादमा पर्दै आएकी छिन् । उनले राष्ट्रपति भएपछि नेपाल धर्मनिरपेक्ष हो भन्ने पूरै बिर्सेकी छिन्। हिजो हिन्दू अधिराज्यका राजाबाट जे हुन्थ्यो, त्यसैलाई सनातनी बनाएर व्यवहार गर्दैआएकी छिन्।
उनको यो व्यवहार दुई कोणबाट प्रश्नको घेरामा पर्ने गर्छ, पहिलो उनको व्यवहार धर्मनिरपेक्ष राज्यको राष्ट्रप्रमुखले जस्तो सबै धर्मलाई समान व्यवहार गर्ने जस्तो भएन; दोस्रो धर्मलाई अफिम भन्ने विचारमा विश्वास गर्ने उनमा आएको नाटकीय परिवर्तन स्वभाविक भएन।
तर, काग कराउदै गर्छ, पिना सुक्दै गर्छ भनेजस्तो उनमा कुनै परिवर्तन आएन । जति नै विवादमा तानिए पनि उनका थेत्तरोपनो बढ्दै गयो। अब त त्यसको पनि हद पार्ने थाल्यो।
प्रसंग मैनाली थरको कुलपूजा (देवाली) गर्ने मन्दिर उद्घाटन गर्न काभ्रेको नमोबुद्ध–५, कानपुरमा भएको उनको पछिल्लो सवारीको हो। नेपालमा सयौ थर छन्, त्यसमध्येको एक थर हो मैनाली । त्यही थरको देवाली गर्ने मन्दिर उद्घाटन गर्न धर्मनिरपेक्ष नेपालकी राष्ट्रपति करोडौको सवारी चलाएकी छिन्।
पहिलो त यो आफैंमा धर्म निरपेक्ष नेपालको संविधानको धज्जी उडाउने काम हो, दोस्रो राष्ट्रपतिको भ्रमण आफैंमा सुरक्षालगायतका प्रोटोकलको तामझामका कारण ज्यादै महंगो हुने भएकाले देशलाई भार पनि भयो।
नेपालमा शक्तिमा हुनेले जे गर्दा पनि हुन्छ भन्ने एउटा दृष्टान्त हो, यो मन्दिर । यो देवाली मन्दिर विशुद्ध मैनालीहरूको कूल देवताको मन्दिर हो, यसको सार्वजनिक उपयोग हुँदैन । तर, मैनालीहरूले मात्र उपयोग गर्ने यो मन्दिर मैनालीहरूले बनाएका हैनन् । यो ७५ लाख ७७ खर्च गरेर देशले पुनर्निर्माण गरिदियो । यो सबै चाँजोपाँजो सहरी विकास तथा भवन विभागका महानिर्देशक पदम मैनालीले मिलाए।
के धर्मनिरपेक्ष नेपालकी राष्ट्रपतिले मैनाली थरको कुलदेउताको मन्दिर उद्घाटन गर्दै हिड्ने हो? हो, भने अब उनी सबै थरको कूल देउताको मन्दिरमा जानुपर्ने हुन्छ। यसो गर्दा अब उनी कुनै दलितको कुल देउताको मन्दिरको उद्घाटन गर्न पनि जानुपर्ने हुन्छ। के उनी त्यसो गर्न तयार हुन्छिन् त ?, सबैका लागि यसो गर्न सम्भव हुन्छ त ? हुँदैन, त्यसैले संविधानको पालन र संरक्षण भएपछि यस्ता सबै कुरा गर्दा विचार पुर्याउनुपर्ने हुन्छ।
यसले कस्तो भाष्य निर्माण भयो भने नेपालमा शक्तिशालीले जे गर्दा पनि हुन्छ, राष्ट्रलाई जति चुसे पनि हुन्छ । र, त्यस्तो दोहनलाई लाहाछाप लगाइदिनका लागि अब त राष्ट्रपति नै पनि हाजीर छिन्।
अब तपाईहरू आफैँ भन्नुहोस्, के धर्मनिरपेक्ष नेपालकी राष्ट्रपतिले मैनाली थरको कुलदेउताको मन्दिर उद्घाटन गर्दै हिड्ने हो? हो, भने अब उनी सबै थरको कूल देउताको मन्दिरमा जानुपर्ने हुन्छ। यसो गर्दा अब उनी कुनै दलितको कुल देउताको मन्दिरको उद्घाटन गर्न पनि जानुपर्ने हुन्छ। के उनी त्यसो गर्न तयार हुन्छिन् त ?, सबैका लागि यसो गर्न सम्भव हुन्छ त ? हुँदैन, त्यसैले संविधानको पालन र संरक्षण भएपछि यस्ता सबै कुरा गर्दा विचार पुर्याउनुपर्ने हुन्छ।
दोस्रो, यसमा एक मैनालीले राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा पुगेपछि आफ्नो पदको दूरूपयोग गर्दै राज्यको ढुकुटी निजी काममा प्रयोग गरे। के यो अख्तियारीको उलंघन हैन ? यदि, सबै शक्तिमा पुगेकाले यसै गर्दै जाने हो भने नेपालको अवस्था के हुन्छ ?
यो एउटा प्रतिनिधि घटना हो जसले धर्मनिरपेक्ष नेपालको चीर हरण गरेको छ र त्यो काम संविधानको पालक र संरक्षक हुन्छु भन्ने कसम खाएकी राष्ट्रपति पदबाट भएको छ। त्यो पदमा विद्यादेवी भएकाले उनीमाथि प्रश्न उठाइएको हो ।
यसोभन्दा फेरि पनि उनी महिला भएकाले प्रश्न उठाइयो भन्नेहरू पनि हुन् सक्छन्, त्यस्तालाई के भन्न सकिन्छ भने राष्ट्रपति पद हो, यसको कुनै लिङ्ग हुँदैन। हो, यो पदमा भएकाको चाँहि कुनै लिङ्ग हुन्छ, त्यसकै आधारमा मात्र कसैलाई छुट हुनुहुदैन। किनकि, त्यो आफैंमा प्राकृतिक न्यायको सिद्धान्त हैन ।
अब प्रश्न उठ्न सक्छ, यो राष्ट्रपतिको मानमर्दन भयो। त्यो पटक्कै हैन र गर्ने सोच पनि हैन। राष्ट्रपति पद आफैमा सजीव हैन, यसलाई सजिवता दिने काम त्यो पदमा पुग्ने व्यक्तिको हो, त्यसको मानमर्यादा राख्ने काम पनि त्यही व्यक्तिको हो। अहिले त्यो पदमा रहेको व्यक्तिले ‘मैनाली थरको कुलपूजा (देवाली) गर्ने मन्दिर उद्घाटन’ गर्नु कुनै पनि अर्थमा त्यो पदलाई शोभा दिने काम हैन।
यो एउटा बहसको विषय हो। जसरी हामीले प्रकाश सपुतको ‘पीर’मा बहस गर्न जाँगर चलायौं, त्यसैगरी यसमा पनि एकपटक बहस गर्ने कि ?