उर्लाबारीको मेयरका लागि को–को छन् मैदानमा ?

Breaknlinks
Breaknlinks

मोरङको सुदूर पूर्वमा अवस्थित उर्लाबारी नगरपालिका जिल्लाकै दोस्रो ठूलो सहरको रूपमा परिचित छ।

स्थानीय तह पुनर्संरचना हुँदा साविकको उर्लाबारी र राजघाट गाविस तथा मधुमल्लाका ७, ८ र ९ नम्बर वडा गाभेर बनाइएको उर्लाबारी नगरपालिका आजपनि उस्तै छ, जुन गाविस हुँदाको अवस्थामा थियो। पूर्वाधार निर्माणलगायत समग्र विकासमा फड्को मार्न नसकेपनि उर्लाबारीको उल्लास राजनीतिक सरगर्मीका रूपमा प्रकट भएको छ। दुई ठूला पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेसबाट उर्लाबारीमा मेयर आकांक्षीको लर्को नै लागेको छ। 

गत स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारीमै खटपट भएका कारण उपमेयरसहित बहुमत जनप्रतिनिधि जित्दापनि मेयर गुमाएको एमालेले अब कसलाई उठाउँछ भन्ने धेरैको चासो छ।

नाैवटा वडा रहेको यस नगरमा विगतमा मेयरसहित पाँच वडामा विजय हासिल गरेको कांग्रेसमा यसपालि मेयरका लागि वर्तमान मेयर खड्ग फागो नै उम्मेद्वार हुने लगभग निश्चित छ। स्रोतका अनुसार फागोले अनिच्छा व्यक्त गरेको अवस्थामा मात्रै अरूले उम्मेद्वारीमा दाबी गर्ने हुन्। फागो उम्मेद्वार नबनेको अवस्थामा वीरबल थापा, भानुभक्त पराजुली, चिन्तामणि पौडेल, मुक्तिप्रकाश न्यौपाने, प्रकाश थापा, जयधर्म आचार्य, सीता कार्की मुख्य आकांक्षी हुन्। आकांक्षी धेरै भएपनि फागोपछि बीरवल र चिन्तामणिकै सम्भावना बढी भएको स्थानीय नेताहरू बताउँछन्। दुवैजना वर्तमान वडाध्यक्ष हुन्।

एमालेबाट यसअघि मेयर पदमा पराजित भुपाल जिमी, हालकी उपमेयर लक्ष्मीदेवी भण्डारी, अग्नि भट्टराई, पुष्प ढकाल, गंगाप्रसाद बास्तोला, उमाकान्त गौतम, गंगा खरेललगायतको आकांक्षा देखिएको छ। जसमध्ये उपमेयर भण्डारीले मेयरको टिकट हत्याउन सक्ने एमाले वृतमा ब्यापक चर्चा छ। पाँच वर्षे कार्यकालमा राम्रै ‘पफर्मेन्स’ देखाएकी उपमेयर भण्डारी नातामा राष्टपति विद्यादेवी भण्डारीकी सहोदर देउरानी समेत हुन्। राष्टपति ‘कनेक्सन’ले पनि लक्ष्मी भण्डारीको दाबेदारी बलियो बन्दै गएको स्रोतले बतायो।

उर्लाबारीमा एमाले र कांग्रेसबाहेक अरू पार्टीले वडा तहमा जित्नसक्ने आधार देखिदैन। यद्यपि ती दुई दलसँगै गठबन्धन गरेर केहि वडाको नेतृत्व हात पार्न कांग्रेस–एमाले इतरका पार्टीहरू लागि परेको उर्लाबारीमा चर्चापरिचर्चा छ। चिरपरिचित दल मध्ये राप्रपाले मेयर उपमेयरलगायत सबै पदमा उम्मेदवारी दिने देखिन्छ। राप्रपाको ध्येय कांग्रेस–एमालेका असन्तुष्ट वा कोहि प्रभावशाली व्यक्तिलाई पार्टीमा भित्र्याएर टिकट दिने बुझिएको छ। 

पहिले माओवादीको संगठन राम्रै भएपनि अहिले धेरै कमजोर भएको छ। उर्लाबारीका चिनिएका माओवादी अनुहार धमाधम एमालेमा प्रवेश गरेका छन्। गत चुनावमा माओवादीका मेयरकै प्रत्यासी राजेन्द्र पौडेल, उर्लाबारी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष भरत भट्टराई, पूर्वकोषाध्यक्ष इन्द्र भट्टराई, वर्तमान कोषाध्यक्ष राजन दाहाललगायत कृष्ण दाहाल, राजेन्द्र भट्टराईले माओवादी छाडिसकेका छन्। जसपा, नेकपा एस लगायत चौथो शक्तिको लागि लड्नुपर्ने अवस्थामा छन्। यि दलले गठबन्धनको आस गरेर बसेका छन्। 

संघीय सांसद घनश्याम खतिवडा, पूर्व मन्त्रीसमेत रहेकी एमाले नेतृ शिवमाया तुम्बाहाम्फे, कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, माओवादीका प्रदेश सांसद कुलप्रसाद साम्बाको क्षेत्र भएकाले पनि यहाँको नेतृत्वका लागि तीनै दलको विशेष चासो रहेको छ।

प्रकाशित मिति: : 2022-03-29 20:57:00

प्रतिकृया दिनुहोस्