झल्को लगाउने थुप्रै कथा छन् गाउँमा

Breaknlinks
Breaknlinks

दुई वर्ष बितिसके बाजुरा यात्राका। तर, छोडेन सम्झनाले। त्यो सम्झनामा आइरहनेहरूमध्ये अग्रपंक्तिमा झुल्किन पुग्छन्– सहयोगी स्रष्टा टेकराज बजुरेल, लक्ष्मण बलायरलगायत केही मित्रहरू, त्यहाँको प्रकृति र डेउडा गीतका पंक्तिहरू।

भौगोलिक हिसाबले विकट मानिने बाजुरा गीतसंगीत र संस्कृतिका हिसाबले समृद्ध छ। त्यही भूगोलमा पाइला टेकेका थिए, कवि रत्नाकरले। त्यही नै हो ठाडिभाकाकी कोइली गायिका डिक्रादेवीको जन्मभूमि पनि।

पछिल्लो समयका चर्चित संगीत संयोजक विनोद बाजुरेली, चर्चित रचनाकार राजेन्द्र शाह बीपी, लोकप्रिय गायक प्रकाश थापालगायतका थुप्रै स्रष्टा कलाकारलाई जन्मायो बाजुराले। उसो त कञ्चनपुरमा जन्मेकी अहिलेकी चर्चित गायिका रेखा जोशीको पुर्खाको गाँजरो (घरकाे अवशेष) पनि त्यतै छ। लामो सूची तयार हुन जान्छ बाजुराका सबै स्रष्टाहरूको नाम उल्लेख गर्न खोज्दा।

डेउडा गीतको उर्वर भूमि मानिन्छ बाजुरा। कुनै पत्रपत्रिका वा किताबका पानामा दर्ज नभएका तर, मुटुमा भक्कानो पार्न सक्ने भाव बोकेका गीतहरू रचना गर्ने र प्रकृतिको काखमा सुरिलो भाकामा गुनगुनाउने नामहरू सयाैँ छन्।

बस्तीबस्तीमा कर्णप्रिय आवाज भएका गायकहरू छन्। घरघरमा गीतकार छन्। जो शब्दसँग मितेरी लाइरहेका हुन्छन्। प्रकृतिका बीच अभावमा पनि रमाउन सिकिरहेका छन्। जहाँ आत्मीयता छ। स्नेह, सद्भाव बोकेका प्रेमिल मनहरू छन्। तिनै मनले साटासाटा गरिरहेका हुन्छन् घरदेशदेखि परदेश र परदेशदेखि घरदेशसम्म बाडुलीको लय।

हाम्रा दुरदराजका ग्रामीण बस्तीहरू जिन्दगीका असली शिक्षालय हुन्। जहाँ सिकिन्छ सन्तुष्टिको सास फेर्ने कला। जहाँ छरिएका छन् नैतिकताका पाठहरू। कला, संगीत र साहित्यिक भावले सजिएका भावनाका लहरहरू।

गाउँका मान्छेहरूले सिकिसकेका हुन्छन् ऊर्जाशिल जिन्दगी बाँच्ने कला। सहरका मान्छेहरू केवल आकारप्रकारले मान्छे बनिदिन्छन्। मात्र जिन्दगी घिसारिरहन्छन्। जति नै सम्पन्न भए पनि बिरलै भेटिन्छ तिनमा गाउँका मान्छेको जस्तो उदार मन। हुँदैन मन बुझाउन सक्ने क्षमता। समय, परिस्थितिअनुसार दुख र सुखका आँसु झार्न सक्ने कला। त्यसैले त हराउँदै गइरहेको छ सहरबाट मानवता पनि।

बाजुरा सुदूरपश्चिमको एक सुन्दर पहाडी भूभाग। धार्मिक, संस्कृतिक ऐतिहासिक अनि प्राकृतिक हिसाबले समेत महत्वपूर्ण मानिने धर्तीको सुन्दर टुक्रा। यो भूमिमा पाइला टेक्नेहरू केहीले यादैयादका कर्पच बोकेर आउँछन्। कोही कसैलाई याद सुम्पेर पनि आउँछन्। याद बोक्ने र सुम्पनेहरू कोमल मनका पवित्र भावना भोकेका असल स्रष्टाहरू नै हुन्छन्।

त्यही यादभित्र चलिरहेको छ मानव जीवनको अभिनय। हामी बाँचुन्जेलसम्म जे जति गर्छौँ सबै अभिनय मात्रै त हो। फरक यति हो कसैले यादगर र अरूको हितकर अभिनय गरेर गए, कसैले मात्र दुर्गन्ध फैलाएर गए। घुस्याहाहरूको र चुनावका बेला झुटको खेती गरेर विजयी बन्ने नेताहरूको अभिनय निकृष्ट अभिनय हो। बाजुराका आइते साउँद, सोना विकलगायत त्यहाँका नाम चलेका केही स्रष्टाहरू र सामाजिक अभियन्ता केपीको अभिनय उत्कृष्ट अभिनय हो।

टेकराज गिरीले भेटाइदिएका आइते साउँद र लक्ष्मण बलायरको सहयोगमा भेटिएकी सोना बिकका गीतको भावले हल्लाउँछ संवेदनशील मनको भित्रि तहसम्म। लेख, रचना र पुस्तक प्रकाशित गर्नेहरू मात्र स्रष्टा ठहरिँदैनन्। आइते साउँद, सुना विकलगायतका कतिपय स्रष्टाहरूले केही नलेखे तापनि परिदिन्छन् स्रष्टाहरूको सूचीमा। तिनले रचना गरेका भावपूर्ण पंत्तिहरूले बाध्य तुल्याइदिन्छन् सोच्नलाई।

‘भोलिको आश र कल्पनाले अल्छी बनाउँछ। यो मनलाई अनावश्यक कुराको जालो बुन्न लगाउँछ। अनि चाहिनेभन्दा बढी महत्वाकांक्षा बढाउँछ।त्यसैले वर्तमानमा आनन्दले बाँच्न सिक’ ज्ञानीहरू यही भन्छन्। शास्त्रहरू यही भन्छन्। बाजुराका आइते साउँदले न ज्ञानी भेटे, न त कुनै शास्त्रको नै अध्ययन गरे। तथापि उनले आफ्नो जिन्दगी चलाइरहे। जतिसुकै दुःख, कष्ट झेले तापनि मात्र वर्तमानलाई अगाडी बढाइरहे। अहिले पनि उनी भनिदिन्छन्, ‘दुःखका के कुरा। पैला पन दुखै हुन्। उसो त ऐले पन दुखै छन्।’

गर्भमै छँदा बुवा गुमाए उनले। १२ वर्षको हुँदा आमा गुमाए। १८ वर्षको उमेरमा बिहे गरे। वर्षदिन नबित्दै श्रीमती पोइल हिँडिन्। फेरि मडारियो दुखको बादल। २५ वर्षको उमेरसम्म अरूको काम गरेर गुजरा चलाए। २६ दिनसम्म हिँडेर धनगढी टनकपुरदेखि अरूको नुन गुढ बोके। डेउडा खेल खेलेर मन बुझाए। ती दिन सम्झिँदा अहिले पनि निकै भावुक भैदिन्छन् उनी।

२५ वर्षको उमेरमा गीत गाउँदागाउँदै कसैले मन पराएरपछि पुनः घरजम गरे। बिहे गरेको वर्षदिनपछि छोरो पनि जन्मियो। अब त अलिकति सुखका दिन आए के ठानेका थिए, बिहे गरेको ५ वर्ष नपुग्दै सुत्केरी अवस्थामा श्रीमतीले प्राण त्यागिन्। काखमा नाबालक छोरो बोकेर उनी काम खोज्न गाउँगाउँ डुल्न थाले। छोरो बोकेरै गए ज्यालादारी काम गर्न।

उनी सुनाउँछन्, ‘एकदिन राति सुतेको बेला ५ वर्षको छोराले छाती मुसार्न थाल्यो। उसले ठाने होला आमासँगै सुतिरहेको छु। अनाथ बालकले आमाको दूध खोज्न थालेपछि भक्कानियो मन र थम्थम्याउँदै गुनगुनाए दुई पंक्ति।’ : 
न छाटो ब्याइजादो रात उसाइ दिन लामा
मै हुँला सेजको बुवा मै हुँ तेरी आमा 

उनले ज्यालादारी काम गरेरै बस्ने सानो घर बनाए। अलिकति जग्गा जोडे। अरुले दिएका फाटाटुटा कपडाले जीउ ढाके। श्रीमतीको यादमा व्याकुल बनेका उनी पछ्यौरीको गादो बनाएर छोरालाई पिठ्युँमा बोकेरै खेल्न थाले डेउडा खेल।

जिन्दगीमा कति ठाउँमा को-कोसँग सवाल जवाफ भए थाहा छैन। उनी महिलाको भूमिका निभाएर पनि सवाल जवाफमा सामेल भए। रातदिन श्रीमतीको यादले सताइरह्यो। महाकवि कालिदासको महाकाव्य रघुवंशका पात्र राजा अजले इन्दुमतीको बिछोडमा भनेका छन्। 
शशिनं पुनरेति शर्बरी दयिता द्वन्द्वचंर पतत्त्रिणम्
इति तौ विरहान्तरक्षमौ कथमत्यन्तगता न मां दहेः

(हे प्रिय ! आकाशको चन्द्रमाले पुनः रातलाई प्राप्त गरिहाल्छ। चखेवाचखेवीको पनि प्रातकालमा पुनः मिलन भई नै हाल्छ, त्यसैले यी दुवैले आफ्नी प्रियाको वियोग सहन सक्दछन् तर तिमी त सदाका लागि मबाट टाढा भइसकिछौ, तिमी नै भन म अब विरहको ज्वालामा जलेर किन भष्म नभइदिऊँ ?)

साउँदले श्रीमतीलाई सम्झेर बनाएका गीत सुन्दा पनि रसाउँछन् आँखा, जसरी रसाउँछन् रघुवंशको आठौं अध्याय पढ्दा। ती दिनमा रचेका गीत बिर्सेका छैनन् उनले। उनी सुनाउँछन्, 
उभो सल्लो घुतिमति उधो सल्लो नाङ्गै 
चारो छदै खुँडि (गुँड) रित्तै बाज उडेर काँ गै 
बुनेर कपडा होला छिटे छिट होला के 
पत्थलेका सिदुरका टीका फिरि भीट होला के 
अछामीको बोली राम्रो उलठी उलठी 
कता गै दाडिमे दाना काँ गै है चुलठी  

श्रीमती बितेपछि छोरा पालेर एक्लो जीवन बिताइरहेका आइते यतिखेर धामी बनेका छन्। दस वर्ष भयो उनी धामी बनेको पनि। छोराको बिहे गरेर नाती पाएका छन्। गरिबी जिन्दगी उस्तै छ। तर मन दुखाएका छैनन्। डेउडा गीत सुनाउन छोडेका छैनन्। बडि मालिकाको पहाडतिर दृष्टि पुर्याएर श्रीमतीको सम्झना गर्दै गुनगुनाउँछन्। 
बालु (बालुवा) बग्दो बुढीगंगा भल बग्दो सरानी 
बालीवैश कराला (भिरालोतिर) लाग्यो काँ जान्छै परानी

आइते साउँद प्रतिनिधि पात्र मात्रै हुन्। दुखका कथा थुप्रै छन् गाउँमा। डेउडाका कथा थुप्रै छन्। जिन्दगीको असली लय पनि उतै छ। पछिल्लो समयमा यो देशका कतिपय सम्राटहरूको विचार, सोच, आचरण र व्यवहारमा नग्न देखिएका छन्। देशको ढुकुटी लुटिरहेका छन्। केही चाकडीबाजहरू तिनको चाकडीमा तल्लीन छन्। उता स्वाभिमानीपन, भावुक मन बोकेका, इमानदारिताको पगडी गुथेका पौरखी आइतेहरू भनिरहेका छन् : 
मालिका वर्षन लाग्यो बादल पुग्यो घेरा 
फिरि भिट् हुँनैन् होला झल्का लैजाऊ मेरा 

गहिरिएर सोच्ने हो भने जिन्दगी भन्नु पनि एउटा झल्को मात्रै न हो। कयौंले भल्को देखाएर बिदा लिइसके। कैयौंले देखाइरहेका छन् जिन्दगीरुपी भल्को। बाजुरामा भेटिएका आइते साउँद, टेकराज बजुरेलीले पनि देखाएका हुन्, प्रेम, सद्भाव र डेउडा गीतका माध्यमले सम्झनाको झल्को। जो यदाकदा आइरहेकै हुन्छन् सम्झनामा।

प्रकाशित मिति: : 2022-03-29 18:13:00

प्रतिकृया दिनुहोस्