‘राम्रोसँग बुझिएको, शास्त्रले युक्त, राम्रोसँग प्रयोग गरिएको एउटा मात्र शब्दले पनि स्वर्ग र इहलोकमा इच्छा पुर्याउने हुन्छ’ भन्ने परापूर्वकालदेखिको आदर्शमा प्रजातन्त्र स्थापनापछि पाश्चात्त्य धारणा हावी भई अङ्ग्रेजी शब्दलाई संस्कृतको खोल ओढाउने लहर चल्दा नेपाली भाषाको बिचल्ली भइरहेको छ।
नेपाली भाषामा शुद्ध शब्दको प्रयोगको कुरा गर्दा मलाई झण्डै ६० वर्ष अगाडिको प्रसङ्ग याद आउँछ। विसंं २०१९ कात्तिकमा रूप-रेखा मासिक पत्रिकामा महानन्द सापकोटा (विसं १९५३-२०३५) को भाषाकै विषयको लेख छापिएको थियो। (‘गरीब-गुरुबा कि गरीब-गुर्बा’, १८ पूर्णाङ्क, २२-२५ पृ.)। त्यहाँ प्रसङ्गवश यस्तो लेखिएको थियो।
‘चोखो र नबिटुलिएको नेपाली लेख्नेहरूमा श्री नयराज पन्त एक जना हुनुहुन्छ। तर उहाँले “गरीब-गुरुबा,” “लक्ष्मी ... ... आउने छिन्,” “तिमी आएकी छ्यौ” लेखेको देख्ता मन पिरोलिन्छ। एस्ता प्रयोग अन्त नदेखिएको होइन, तर पन्तजीको लेखाइमा तेस्ता प्रयोग देख्ता अधिक दुःख लागेको हो। ‘‘गरीब-गुरुबा’’ मा ‘गुरुबा’ को अर्थ के हो भनेर विद्यार्थीले सोधे भने गुरुबाले के बताउनु?’
त्यस ताका नयराज पन्त (विसं १९७०-२०५९) विद्या-रक्षा नाउँले पुस्तिकाकारमा लेखमाला चलाउँथे। सापकोटाको माथि उद्धृत लेख पढेपछि उनले त्यो विषय लिएर विद्या-रक्षा ११ सङ्ख्या लगत्तै प्रकाश गरे।