मनीपालका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। मनीपाल कर्मचारी युनियन समन्वय समितिले संस्था प्रमुख र सहायकको कार्यकक्षमा तालाबन्दी गरेको हो।
प्रत्येक पटक आउने संस्थाको नयाँ प्रमुखले मनीपालमा कर्मचारीले पाउँदै आएका सेवा–सुविधा काट्ने नियतअनुसार हालको व्यवस्थापनले कर्मचारीले पाउनपर्ने अति आधारभुत सुविधा पनि कटौती गरेको कर्मचारीहरुले बताएका छन्।
अति आधारभूत सुविधा अन्तर्गत पर्ने सुत्केरी बिदा, सुत्केरी स्याहार बिदा एवम् क्रिया बिदा समेत नदिई पराकाष्ठा नाघेर अन्याय गरेको भन्दै उनीहरु प्रशासनसँग रुष्ट बनेका हुन्।
२०७८ सालको दशैं तिहारको समयमा टिका थाप्नको सट्टा बिरामीको उपचारमा खटेर काम गरेका कर्मचारीलाई दिनपर्ने अतिरिक्त पारिश्रमिक समेत संस्थाले अनेक बहाना बनाउँदै नदिएको भन्दै कर्मचारीहरुको गुनासो छ।
कर्मचारीहरुले विभिन्न मितिहरुमा व्यवस्थापनसंग गरेका वार्तामा व्यबस्थापनले इन्कार मात्र गर्दै गएपछि युनियनहरुले यस विषयमा श्रम विभागमा निवेदन दिएका मनीपाल कर्मचारी युनियन समन्वय समितिका अध्यक्ष जीवनबहादुर थापाले बताए।
उक्त निबेदन अनुरुप श्रम तथा रोजगार कार्यालय पोखराले दिएको निर्देशन समेत मनीपाललले मान्न इन्कार गरेपछि बाध्य भई युनियनहरुले बिरामीका सेवामा असर नपर्ने गरी संस्था प्रमुख र सहायकको कार्यकक्षमा तालाबन्दि गरेका कर्मचारीहरुले बताएका छन्।
मनीपाल अस्पताल व्यवस्थापनले बाहिर भने ३० वर्ष काम गरेका कर्मचारीले पाउने तलब देखाउँदै आफुले सबै संस्थाले भन्दा धेरै तलब दिएको दाबी गर्ने गरे पनि अस्पतालमै काम गर्दागर्दै कोरोना लागेका स्वास्थ्यकर्मीले शुल्क तिरेरै उपचार गर्न परेको गर्नुपरेको कर्मचारीहरुको गनुासो छ।
संस्थामार्फत कोरोना बिमा गरेका कर्मचारीको बिमा रकमसमेत कर्मचारीलाई नदिई संस्था आफैंले राखेको उनीहरुको आरोप छ।
सबै मिडियाहरुमा मनीपाल बिक्री भइसकेको भनी दाबी आइरहेपनि व्यवस्थापनले यस विषयमा कर्मचारीहरुलाई गुमराहमा राखेको कर्मचारीहरु बताउँछन्।