नेकपा (माओवादी केन्द्र)का नेता तथा अर्थमन्त्री जनार्दन शर्माले गृह जिल्ला रूकुम पश्चिमको मुसिकोट पुगेर चर्चको शिलान्यास गरेका छन्। मन्त्री शर्माले सोमबार मुसिकोट नगरपालिका– १ मुलखोलामा ‘मुसिकोट एजी चर्च’ भवनको शिलान्यास गरेका हुन्।
तत्कालिन विद्रोही पार्टी माओवादीले त्यसताका वर्ग संघर्ष र समावेशी समाजको एजेण्डालाई प्राथमिकता दिएर नै सशस्त्र संघर्षलाई पूर्णविराम दिए। तर, अहिले उनै पात्रहरुको वैचारिक अस्थिरतालाई देख्दा कुनै हाँस्यास्पद नाटकजस्तो देखिएको संस्कृतिविद्हरु बताउँछन्।
कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माण सुरु गरिएको नेपाल ख्रिटियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजी चर्चका संस्थापक मुकुन्द शर्माले जानकारी दिए। निर्माण सुरु गरिएको उक्त चर्च भवनको लागत अनुमान तीन करोड छ। तर, तत्कालको लागि भने प्रदेश सरकारले ३० लाख मात्र बजेट बिनियोजन गरेको छ।
एजी चर्चका सस्थापक शर्माले आवश्यक बजेट व्यवस्थापनको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफूहरुले अनुरोध गरिरहेको पनि बताए।
अहिले उक्त भवन निर्माणको जिम्मा मुसिकोट नगरपालिकाअन्तर्गत उपभोक्ता समितिलाई दिईएको छ।
निर्माण समितिका अध्यक्ष भीमबहादुर बोहराले मंगलबारदेखि भवन निर्माणको काम तिब्र पारिएको बताए। यसपटकको बजेटबाट भवनको लागि बिम र पिपरहरु वैशाख मसान्तभित्र निर्माण हुने र थप बजेट व्यवस्थापन भएमा अन्य काम हुने उनले जानकारी दिए। उनकाअनुसार चर्च भवन तीन तलाको हुनेछ।