उनी घाँटीमा गम्छा भिरेर घुमन्ते जोगीजस्तो हिँडिरहन्छन्, आफ्नै सुरमा। सोचिरहन्छन्, बाटोमा हिँडिरहँदा पनि तिनै नाटक र फिल्मका प्लटहरू। घरबार भएर पनि एक्लै भएजस्तो आफ्नै सुरको, आफ्नै लयको जिन्दगी बाँचिरहेका अनौठा पात्र हुन्, खडक मल्ल।
अनौंठा यस अर्थमा कि उनले न त कहिल्यै वर्तमानको चिन्ता गरे, नत आश नै गरे, भविष्यको। न घरपरिवारलाई समय दिन सके, न त आय आर्जनको मार्ग नै रोजे। ब्यापार, व्यवसाय, जागिर कतैतिर गएन, मन। घर समाजमा कसले के भन्ला ? भोलि के होला ?, कस्ता दिन आउलान् ? जस्ता प्रश्नहरू कहिकतै मनमा उब्जिहाल्दा पनि सकेनन् मनलाई चिमोट्न तिनले पनि। ती सबै समान्य थिए उनका निम्ति। खास केही थियो त त्यही कला र साहित्य नै थियो। त्यसकै नाममा मनमौजी बनेर डोर्याइरहे एकसरो जिन्दगी।
आखिर जिन्दगी भन्नु पनि मनकै यात्रा न हो। जता–जता डोर्याउँछ मनले उतै–उतै चल्न थाल्छन् पाइला मृदुभाषी मल्लको स्वभाव नै शन्त, दार्शनिकको जस्तो। आकाशका तारा हेरेर, बाल्यकालीन लय सम्झेर, प्रकृतिको सुन्दरतालाई आत्सात गरेर एक्लै–एक्लै रमाउने पात्र हुन्, उनी। यो यात्रामा कहिलेकाहीँ केही साँझहरू उनका नितान्त आफ्ना बनिदिन्छन्। तिनै साँझहरूले सम्झाउँछन् बाल्यकालीन समय, त्यो गाउँघर डेउडा गीतका मन बहकाउने पंक्तिहरू।
जिन्दगीको असली लय कतै छुटेको छ भने त्यो या त बाल्यकामा छ, या छ सांस्कृतिक छटाभित्र माया, प्रेम र सदभावको घुम्टो ओढेको त्यही ग्रामीण बस्तीको सुन्दरताभित्र छ। तर, ती दुबैबाट टाढा छन्, उनी।
बुवा ध्वजबहादुर मल्लका दुई जना श्रीमती भीमादेवी र देव कुमारी। देव कुमारीबाट १ जना र भीमादेवीबाट ६ जना गरी जम्मा सात दाजुभाइ। ती सात भाइ मध्येका काइला हुन्, खडक मल्ल। डोटी जिल्लाको एक कुना घाङल। जहाँबाट सदरमुका आउन झण्डै तीन दिन लाग्थ्यो। त्यतिबेला डोटी जिल्लभरि जम्मा ५ वटा हाइस्कुल थिए। घाङल क्षेत्रमा थिएन, एउटा पनि हाइस्कुल। डोटी, जमनकट्टे गाउँका दिजयीराज जोशीसँग १ वर्ष पढेर ३ कक्षा पास परेका मल्ल सम्झिन्छन् ती दिन,‘त्यतिबेला गाउँघरतिर शिक्षक नै पाइँदैन थिए। बल्ल तल्ल शिक्षक खोजेर ल्याउँथे तर, धेरै दिन टिक्दैन थिए। तिनले छोडेर गएपछि विद्यालय नै बन्द हुने। सानो छँदा पाठ्यपुस्तकको नाममा वर्णमाला मात्रै पाइन्थ्यो। जसभित्र कखरादेखि अङ्क र कवितासम्म समावेश गरिएका हुन्थे।’ उनका अनुसार त्यतिखेरको हिसावले त्यो पूर्ण थियो।
कक्षा ३ सम्म गाउँकै विद्यालयमा पढेका मल्ल ४ कक्षा पढ्नेताका कैलालीको भजनी पुगे। जेठा दाइको ससुराली थियो, भजनी। दाइको ससुरालीमा ससुरा नारायणबहादुर हमालको अभिभावकत्वमा बसी ७ कक्षासम्म अध्ययन गरे। २०३४ सालसम्म डोटी जिल्लाभरि जम्मा ५ वटा हाइस्कुल मात्रै थिए। २०३५ सालमा खत्याडीमा पनि माध्यामिक तहसम्मको पढाइ हुने खबर पाएपछि उनी डोटी फर्किएर पढाइलाई निरन्तरता दिए। कक्षा ८ मा पढ्नेताका नै कथा, नाटक गीत लेख्थे, उनी।
उनले सानै छँदादेखि देखेका हुन्, दसैंताका गाउँमा नाटक देखाइएको। भारतको बरेलीबाट सामान मगाएर देखाइन्थ्यो, रामलिला, राजा हरिशचन्दजस्ता नाटक। जसको नेतृत्व लिइरहेका हुन्थे, अजबसिंह मल्लले। सानै छँदा देखेका नाटकले उनी तानिए त्यो क्षेत्रतिर। प्रभावित बने अजबसिंह मल्लबाट। २०३५ सालमा क्षेत्रीय प्रशासक आत्माराम पाण्डे राबिसे बनेर खत्याडी पुगे। पाण्डेबाट पनि नाटक लेखनको क्षेत्रमा थप प्रेरणा पाएको कुरा बताउँछन्, उनी। एसएलसी उत्तीर्ण भएपछि ४ वर्ष गाउँकै विद्यालयमा शिक्षण गर्न थाले। नयाँ–नयाँ प्रतिभाको खोजी गर्दै हरेक वर्षको दसैंमा जनचेतनामुलक नाटक प्रदर्शन गर्न थाले। यसरी आफ्नै सुरमा मस्ताना बनिरहेका मल्लले दुखी, गरीव र असहायको सेवा गर्ने आधार राजनीतिलाई ठानेर २०४३ सालमा शिक्षण पेशा छोडी होमिए राजनीतिमा। प्रधानपञ्च बनेर राजनीतिको पनि अनुभव लिए। एक कार्यकाल बिताए त्यागिदिए राजनीतिक गोरेटो पनि। मनले मात्र कल्पना गरिरह्यो उही नाटकको सिनेमाको, कथा लेखनको। अडिएन मन अन्यत्र कतै पनि। २०४६ सालमा गौरा बमसँग बिवाह गरेर सुरु गरे जिन्दगीको नौलो अध्याय।
घरायसी अवस्था राम्रो थिएन। पर्याप्त मात्रमा अन्न उत्पादन हुँदैन थियो। उनी मात्र नाटक भनेर हिँडिरहन्थे। चिन्ता थिएन उनलाई कुनै कुराको। २०४९ सालतिर कैलाली क्याम्पसमा भर्ना भएर आइए पास गरेका मल्ल उस्तै मस्तमौलाना बनिरहे। आर्थिक अभावले गाँज्दै गएपछि २०५३ सालमा अनमीको जागिर सुरु गरिन्, गौराले। स्वास्थ्य क्षेत्रमा अनमीको जागिर खाएर ५ छोरीलाई पालन पोषण र शिक्षादीक्षा दिलाउने काम उनैले गरिन्। डोटीमा बसाइँ, कैलालीमा जागिर यात्राको क्रममा पहाडको बाटोमा लडेर मेरुदण्डको ढाड नै भाँचियो, उनको। अहिले पनि दुखाइ भइरहने कुरा बताउँछिन्, उनी। आफूले संघर्षमय जीवन बिताए पनि गरिनन् कहिल्यै कुनै दुखेसो। भएन दुईजना बीचमा कुनै मनमुटाव पनि। उसो त रोगी असहायलाई देखेपछि पग्लिन्छ गौराको पनि मन। उदार दिलले सहयोग गरिरहन्छिन्, उनी। मेडिकलबाट औषधी किनिदिएर बाँडेकी छन्, कयौं बिरामीलाई। पछिल्लो समय श्रीमती गौराको एउटै गुनासो हुन्छ ऋण निकालेर फिल्म बनाउनतिर नसोचिदिए हुन्थ्यो भन्ने।
पाँच जना छोरीलाई शिक्षा दिन गाह्रो भएपछि २०५७ तिर दुई वर्ष प्रोजेक्टमा जागिर गरे। त्यतिबेला भने उनले दुई वर्षमा कमाएको पैसाले धनगढीमा एउटा घडेरी जोडे। पछि श्रीमती गौरा मल्लले सञ्चयकोषबाट १८ लाख ऋणलिएर बस्ने घर बनाइन। घर बनाउँदाको ऋण अझ बाँकी नै छ, गौरादेवी सुनाउँछिन्।
‘२०६४ सालमा डोटेली भाषाको पहिलो फिल्म ‘गौरी’ बनाउँदा श्रीमतीको नाममा रहेको एक कट्टा जमिन बेचेँ। त्यतिले पनि नपुगेर ऋण लिएँ। केही श्रीमतीसँगै मागे। २०६५ सालमा काठमाडौंमा च्यारिटी सो देखाएँ। एक लाख रुपैयाँ जम्मा भयो। खर्च कटाएर ४० हजार मात्र बच्यो। त्यही चालिस हजार हो फिलिमको कमाइ श्रीमतीलाई दिएको’, निकै भावुक भएर सुनाए।
यही बीचमा सम्झे उनले पत्रकार स्वर्गीय हेम मल्ललाई। जसले भनेका थिए रे,‘तपाईंको गोजीमा पैसा त हुने हैनन्। तथापि तपाईं महत्वपूर्ण काम गरिरहनुभएको छ। सुदूरश्चिमलाई गुन लगाइरहनु भएको छ।’
पत्रकार मल्लले भनेझैं भएको छ, आजका मितिसम्म। खडक मल्लले श्रीमतीसँग पैसा माग्दा कैयौं पल्ट भने,‘एक दिन कसो नआउँला। भोलि कमाइ भएपछि तिर्छु तिम्रो पैसा।’ तर, आजका मितिसम्म आएन त्यो दिन। गौरीपछि ऋण निकालेरै उनले पुन: बनाए साढे एक घन्टाको डकुमेन्ट्री ‘गुरुमन्त्र’। जुन नैतिक शिक्षामा आधारित छ। कथा लेखनदेखि निर्देशनसम्म आफैं गरिरहेका मल्ल पात्रको खोजीमा निकै दिन भौतारिए। अन्तत्वगत्वा धनगढीकै एक्सिस स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्र सुभम देउवालाई छाने। नायिकाको भूमिका निभाइन उनकै छोरी सपना मल्लले। लक्ष्मीनारायण मन्दिरभित्र दश/प्रन्ध जनाको उपस्थितिमा च्यारिटी सो गरियो। सबैले रुचाए पनि तर अझैं बजारमा आउनसकेको छैन्, गुरुमन्त्र।
गुरुमन्त्र हेरिसकेपछि स्वामी देवराज आचर्यले भनेछन्,‘हामीले लामो टुपी पालेर, चन्दन दलेर जीवनको आहुती दियौं। कयौं यज्ञ लगायौं, मठ मन्दिर बनायौं। हामीले गर्न नसकेको मल्लले गरे। उनले महायज्ञ नै लगाए।’ त्यसपछि निकै नै भावुक बनिछन्, मल्लकी सहयात्री गौरादेवी पनि। गुरुमन्त्र हेरेपछि भोलिपल्ट बोलाएर दिएछन्, स्वामीले सहयोग स्वरुप ५० हजार रुपैयाँ। जुन पैसा मल्लले घरमा लगेर श्रीमतीको हातमा थमाउँदा रसाएछन् दुबैका परेली। भावुक बनेछ माहोल।
सेलिब्रिटी खोज्दैनन्, उनी। प्रायजसो गाउँ घरतिरका लुकेका प्रतिभाको खोजीमा हुन्छन्। मल्ल भन्छन्,‘प्रतिभा तमाम छन्। अवसर पाएका छैनन्। सेलिब्रेटी खोज्दै हिँड्ने हैन्। सेलिब्रेटी बनाउँदै हिँड्ने हो। जन्माउँदै जाने हो।’
गैरी फिल्म बनाउँदा स्थानीय कलाकार चाँदनी मल्ल, प्रितम कठायत, तीर्थ बम, छत्र मल्ल, दलबहादुर बोगटी, डिल्ली सिं थापा, आशा मल्ल जस्ता कलाकारलाई अवसर दिलाए। छोरीहरू वर्षा, आशा र सपना नृत्य र अभिनय क्षेत्रमा आश लाग्दा भएर देखिएका थिए। कुन्नि के भएर हो चाहेनन् तिनले निरन्तरता दिन। बुवापछिको अर्को गुरु अशेष मल्ललाई ठान्ने वर्षाले सर्वनाममा एउटा नाटकमा अभिनय समेत गरिन्। लेखन र कला क्षेत्रमा रुचि भएकी वर्षालाई डिरेक्सनको क्षेत्र पनि उत्तिकै मनपर्छ। तर, उनी पनि पछिल्ला दिनमा यो क्षेत्रबाट टाढिएकी छन्। बुवाको नाटक क्षेत्रमा लगाब र योगदानलाई सम्झेर भावुक बन्दै बताउँछिन्,‘पैसा कमाउन नसके के भो र बुवाले समाजलाई केही त दिनुभएको छ।’
जीवनका ६ दशक पार गरिसकेका मल्लले अपेक्षा गरेनन्, मान, प्रतिष्ठा, पुरस्कारको। स्वाभिमानी, अनि जिद्दी स्वभावका उनी मात्र हिँडिरहे, जहाँ हिँडायो मनमौजी मनले। हिजोआज प्रायजसो सम्झिरहन्छन्, गाउँघरको त्यो सामान्य जीवन, शान्त परिवेश। ती हाट जानेताकाका दिन सम्झिँदै बताउँछन्,‘त्यतिखेर हाट भनेको तराईका चौमाला, गौरीफन्टा, धनगढी,मालाखेती आदि थिए। अदुवाको सुठो, घिउ लगेर जान्थ्यौं। त्यो सुठो, घिउ बेचेको पैसाले लुगाकपडा, नुनगुड किनेर ल्याउँथ्यौं।’
त्यतिखेर इमानदारिता थियो। अनुशासन थियो। कसैको दु:खले कसैलाई नछुने अहिलेको परिवेशमा उनी आकाशका जून तारासँग बात मार्न चाहन्छन्। आफूलाई छोडेर टाढा गइसकेको त्यो बाल्यकालको कुरा, गाउँघरको कुरा लेखेर डायरी भर्न चाहन्छन्। समाजलाई शिक्षा दिने खालका अझैं एक दुइटा फिल्म बनाउन मन छ, उनको। ती पुराना दिन सम्झेरै होला अहिले उनी स्थानीय टेलिभिजनमा उहिलेका कुरा भन्ने कार्यक्रम पनि चलाइरहेका छन्। जिन्दगीसँग कुनै गुनासे छैन्, उनको। रत, मुसुक्क मुस्कुराएर भनिदिन्छन्,‘सानो छँदा गाउँमा खेलिने भकुण्डो जस्तै त हो जिन्दगी। कतिखेर कुन कुनामा पुग्छ के थाहा।’
Dada Khadak malla ko jivan Kahani padhna pauda sarai man pagliyara Aayo pareli rasayara Aaya ...mero ghar Umudi ho ..dada khatyadi padhda ma Wahako pyaro bhai thiya .. Guri film ko documentry Mumbaima dekhauda Ohalai maile alikati helpa garne mauka pani payako thiya ra Asti matrai Dhangadhi ma dada sanga sano bhala kusari bhalo thiyo sarai bhadra mihasilo sobhab ko hoisinxa .. euta ramro byektitwa hunu hunxa ..