अमेरिकामा दशै विधेयक 'थर्ड रिडिङ'मा, पारित हुनेमा डेलिगेट भण्डारी विश्वस्त

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्यमा दशै विधेयकले विहीबार अर्को खुड्किलो पार गरेको छ। तल्लो सदन हाउस अफ एसेम्बेलीमा सर्वसम्मतिले दोस्रो रिडिङ पास भएर तेस्रो तथा फाइनल रिडिङका लागि मार्गप्रशस्त भएको छ। विधेयकका स्पोन्सर नेपाली मूलका डेलिगेट डा. ह्यारी भण्डारीले शु्क्रबार तेस्रो तथा फाइनल रिडिङ हुने जानकारी दिए। 

उनले शुक्रबार नेपाल र नेपालीका लागि एक सुखद समाचार हुने बताउँदै तल्लो सदनमा दशै विधेयक पारित हुने संकेत गरे। उनले अगाडि भने, मैले गर्न सक्ने अधिकतम् काम भनेको आफू सांसद रहेको संसदबाट विधेयक पारित गराउनु हो। त्यस क्रममा अब म एक खुड्किलो मात्र टाढा छु।'

म त  कालो बादलभित्र चाँदीको घेरा देखेर उज्यालोको आशा लिएर हिडेको मानिस हुँ। अहिले त धेरै वादल फाटिसकेको छ। मलाई विश्वास छ, एक दिन हामीसँग सुनौलो घाम हुनेछ।
- डेलिगेट डा. ह्यारी भण्डारी

दशै विधेयक कानून बन्न तल्लो सदन हाउस अफ एसेम्बेलीबाट मात्र पारित भएर पुग्दैन, माथिल्लो सदन सिनेटबाट पनि पारित हुनुपर्छ। डेलिगेट डा. भण्डारीकै विशेष पहलमा सिनेटमा क्रस फाइल गरिएको दशै विधेयक सिनेटमा सुनुवाई भएर पनि प्रक्रियामैछ। डेलिगेट डा. भण्डारीले भने, 'सम्भवत: भोलि तल्लो सदनमा विधेयक पारित भएपछि माथिल्लो सदन सिनेटमा पारित गराउन हरसम्भव प्रयास गर्नेछु। सिनेटबाट पनि दशै विधेयक पारित हुने कुरामा म धेरै आशावादी छु।'

दशै विधेयकका लागि अमेरिकाको नेपाली सुमदायले जुन मात्राको आवाज उठाउनुपर्ने हो, त्यति उठाएको देखिएन नि? भन्ने प्रश्नको उत्तरमा डेलिगेट डा. भण्डारीले भने, 'त्यस्तो हैन, घरदेशमा होस् या परदेशमा सबै नेपालीले यस विधेयकलाई उत्साहित भएर हेरिरहनु भएको छ। सबैले यसलाई पारित होस् भन्ने कामना गर्नुभएको छ। हो, अझै हामीले धेरै पैरवी गर्न बाँकि छ, त्यसका लागि हाम्रो समुदायका अगुवाहरू लागिरहनु भएकै छ।' 

दशै विधेयकमा तीन नेपाली युवा तथा किशोरी चेलीहरू सुप्रिया घिमिरे, दीपा गुरूङ र आर्या आचार्यले ऐेतिहासिक टेस्टिमोनी दिए। भोलिको अमेरिका उनीहरूको हो, उनीहरू आजैदेखि त्यसका लागि लागिपरेको यो सुखद् संकेत हो। हिजोभन्दा आज हामी धेरै अगाडि पुगेका छौं, भोलि आजभन्दा धेरै अगाडि हुनेछौं। 
- डेलिगेट डा. ह्यारी भण्डारी

यस प्रसंगमा तीन नेपाली युवा तथा किशोरी चेलीहरू सुप्रिया घिमिरे, दीपा गुरूङ र आर्या आचार्यले ऐेतिहासिक टेस्टिमोनी दिएको उल्लेख गर्दै डेलिगेट डा. भण्डारीले भने, भोलिको अमेरिका उनीहरूको हो, उनीहरू आजैदेखि त्यसका लागि लागिपरेको यो सुखद् संकेत पनि हो। हिजोभन्दा आज हामी धेरै अगाडि पुगेका छौं, भोलि आजभन्दा धेरै अगाडि हुनेछौं।'

आफू 'कालो बादलभित्र चाँदीको घेरा देखेर उज्यालोको आशा लिएर हिडेको मानिस भएको बताउँदै डेलिगेट डा. भण्डारीले भने, 'अहिले धेरै वादल फाटिसकेको छ, मलाई विश्वास छ एक दिन हामीसँग सुनौलो घाम हुनेछ।'

 

प्रकाशित मिति: : 2022-03-18 07:31:00

प्रतिकृया दिनुहोस्