गृहमन्त्री बालकृष्ण खाँडले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन्।
बाह्रौँ कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री खाँडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन्।
मन्त्री खाँड सम्बोधनको अधिकांश समय एमसीसी परियोजनाको विषयमा केन्द्रित रहेका थिए। उनले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको बताउँदै नेपालमा कुनै पनि देशको सेना आएमा आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए।
उनले नेपालमा ऊर्जाको भविष्यको चर्चा गर्दै ठूला र साना गरी ६ हजार नदी भए पनि जलविद्युत पुरा उत्पादन गर्न नसकेको बताए। ‘वर्षा याममा विद्युत् उत्पादन धेरै भएर खेर जान्छ। हिउँदमा नपुगेर भारतबाट ल्याउनु पर्छ। नेपालमा उत्पादन भएको विद्युत् बाहिर विक्री गर्न सकिएमा मात्र व्यापार घाटा कम हुन्छ,’ खाँडले भने।
सम्बोधनका क्रममा उनले सरकारले विद्युतको खपत बढाउनको लागि मूल्य घटाउन तयार रहेको बताए। नागरिकले पेट्रोलियम पदार्थको उपभोग घटाउनको लागि विद्युत् उत्पादन र प्रयोग गर्नुको विकल्प नरहेको समेत बताए।
महोत्सवमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्वदेशमा उत्पादन भएका सामाग्रीले महोत्सवमा स्थान पाउने हुँदा स्थानीय उत्पादनको खपत बढ्ने दाबी गरे। यसै गरी एमाले केन्द्रीय सदस्य बलराम अधिकारीले महोत्सव सञ्चालन गर्दा कपिलवस्तुको उद्योग तथा पर्यटनको विकासमा टेवा पुग्ने गरी योजना बनाउन सुझाव दिएका थिए। जिल्लाको बाणगंगा नगरपालिका जितपुरमा चल्ने चैत्र १३ गते सम्म सञ्चालन हुने छ। जानु पाण्डे