खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखाबाङ्देलमा अस्थायी प्रहरीपोष्ट स्थापना गरिएको छ।
भौगोलिक रूपमा सुरक्षा निकायबाट टाढा रहेको क्षेत्रको सुरक्षाका लागि राखाबाङ्देलमा बुधबार अस्थायी प्रहरीपोष्ट स्थापना गरिएको हो।
प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहाल र ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले संयुक्तरूपमा अस्थायी प्रहरीपोष्ट उद्घाटन गरेका छन्। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीको टोली रहनेगरी अस्थायी प्रहरीपोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए।
बस्ती पातलो भएको तथा सुरक्षाका दृष्टिले संवेदनशील भएकाले सो स्थानमा अस्थायी प्रहरीपोष्ट स्थापना गरिएको हो। राखाबाङ्देलका स्थानीयले पटक–पटक प्रहरीचौकी स्थापनाको माग गर्दैआएको लामो समयपछि अस्थायी प्रहरीपोष्ट स्थापना गरिएको हो।
प्रमुख जिल्ला अधिकारी दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष निरौला, उपाध्यक्ष पुष्पकला भुजेल, नेकपा एमाले प्रदेश नम्बर १ का प्रदेश सदस्य गृहबहादुर राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, नेपाली कांग्रेस ऐसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङ, नेकपा माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष अगमसिं राई, ऐसेलुखर्क गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष पुरुषोत्तम राजभण्डारी, कालिका वालविकास माविका प्रअ रमेशकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए।