होलीलाई व्यवस्थित गर्न कैलालीमा पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने

File photo
File photo

प्रहरीले होलीलाई मध्यनजर गर्दै कैलालीमा पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लामा होलीलाई मध्यनजर गर्दै सामान्य अवस्थाभन्दा केही बढी सुरक्षाकर्मी परिचालन गरिने छ।

बढी भिडभाड हुने स्थान, सामूहिक होलीका कार्यक्रम भएका स्थानमा थप प्रहरी परिचालन गरिने प्रवक्ता जोशीले बताए। यसका अलावा मोबाइल टोलीलाई पनि प्रभावकारी रूपमा परिचालन गरिने उनले बताए। ‘आवश्यक परेको स्थानमा खटाउनका लागि हामीले रिजर्भ फोर्स पनि राखेकाछौं,’ प्रहरी नायव उपरीक्षक जोशीले भने,  ‘भिडभाड हुने स्थानमा विशेष निगरानी गरिने छ।’ उनले मोटरसाइकलमा तीन/चार जना राखेर चलाइएको पाइएमा त्यसतालाई कारबाही गरिने बताए।

प्रवक्ता जोशीले होलीका नाममा मादकपदार्थ सेवन गर्ने र हो हल्ला गर्ने तथा जबरजस्ती रंग दल्न खोज्नेलाई कारबाही गरिने बताए। उनले चाडपर्वका नाममा लागूपदार्थ सेवन गर्ने, लागूऔषध सेवन गर्ने गरिएको भन्दै त्यसो गरेको पाइएमा पनि जो कोहीलाई कारबाही हुने बताए।

सभ्य होली खेल्न आग्रह

होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता उत्छृङखल क्रियाकलाप नगर्न जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ। सांस्कृतिक परम्पराको रक्षा गर्दै एक आपसमा मित्रता कायम गर्न आग्रह गर्दै प्रहरीले रमाइलो तथा मनोरञ्जनका नाममा उच्छृङ्खल तथा आपराधिक गतिविधि नगर्न सुझाव दिएको हो। होलिका नाममा उत्छृङखल क्रियाकलाप गरेको पाइएमा कानुन अनुसार कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ। 

पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा कारबाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ। साथै सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला, समूहगत झैझगडा र क्षमताभन्दा बढी यात्रु राख्नेविरुद्ध पनि कारबाही हुने जनाइएको छ।

त्यसैगरी प्रहरीले जथाभावि होली नफ्याक्न पनि अनुरोध गरेको छ। कसैको इच्छा विपरित रंग दल्नु अपराध हुने भन्दै प्रहरीले आपराधिक क्रियाकलापमा सहभागी नहुन र सभ्य नागरिकको भूमिका निर्वाह गर्न अपिल गरेको छ। मोहन जोशी

प्रकाशित मिति: : 2022-03-16 18:36:00

प्रतिकृया दिनुहोस्