२०५२ सालमा स्थापना भएको जोहाङ स्वास्थ्य चौकीकाे छानाले पानी छेक्दैन । चौरको कुनामा पुरानो एक छाप्रे जोहाङ स्वास्थ्य चौकी, कसैले पनि त्यस भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको कल्पना गर्दैनन्। तर, कार्यालयलाई बाध्यता परिरहेको छ, पुरानो भवनबाट सेवा प्रवाह गर्नुपर्ने।
भवन नहुँदा साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परिक्षण, ड्रेसिङ र सुरक्षित मातृत्वका सबै काम गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी इन्चार्ज लक्ष्मण कामीले गुनासो गरे। उनले पुराना भवन सेवा प्रवाहसँगै पानी चुहिएर र मुसाले फाइल काटेर हैरान बनाएको बताए। जोहाङ स्वास्थ्यचौकीसँगै सत्यवतीका तीन स्वास्थ्यचौकीका भवन अलपत्र छन्।
संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीमार्फत ०७६ सालमा सत्यवती गाउँपालिकाका तीन स्वास्थ्यचौकी निर्माणको लागि डी.एण्ड.डी कन्स्ट्रक्सनले निर्माण सम्झौता गरेको छ। तर, निर्माण व्यवसायीको काम सुस्ताएको कारण सत्यवती गाउँपालिका ४, ५ र ६ वडाका क्रमश लिम्घा, हँसरा र जोहाङ स्वास्थ्यचौकीको स्टक्चरबाहेकको काम भएको छैन।
पछिल्लो एक वर्ष काम नै नभएपछि स्थानीयले निर्माण व्यवसायी र कार्यालयको आलोचना गर्न थालेको सत्यवती गाउँपालिका ६ जोहाङका युवा सुभाष न्यौपानेले बताए। एउटै निर्माण व्यावसायीलाई तीनवटा ठेक्का पाएका छन्। ठेक्का लिने, तर काम नगर्ने प्रवृत्तिले नागरिक र कार्यालय पनि आजीत हुने गरेका छन्।
संघीय आयोजना कार्यान्वय इकाई रुपन्देहीका इन्जिनियर टीका थापाले भने निर्माण व्यवसायीले समयमै काम नगरेकाले समस्या आएको बताए। उनले तीनवटै स्वास्थ्यचौकीको काम डी.एण्ड.डी कन्स्ट्रक्सनले गरिरहेको र सबैको काममा ढुलासुस्ती भएको विषयमा कार्यालय गम्भीर भएर निर्माण व्यवसायीलाई अन्तिम ताकेता गरिरहेको बताए।