आँसु पिउँदै मानव सेवामा तल्लीन कल्पना (भिडियोसहित)

हेमन्त विवश

काठमाडौं

दिन प्रतिदिन थुप्रै कथाका श्रृंखलाले बुनिदै गयो, जिन्दगी। ती कथाहरु उनको नामको अर्थजस्ता थिएनन्, कल्पनामा बुनिएका। वास्तविकतामा आधारित थिए। दु:खका भकारी बनेर आएका थिए। त्यही दुःख र अभावको चौघेराभित्र रुमल्लियो, कल्पना भट्टकाे बालापन पनि। कुनै वियोगान्त उपन्यास पढ्दा लागिरहन्थ्यो रे कतै ती पात्रहरुमा प्रतिबिम्बित स्वरुप मेरै त हाेइन?

भावुकताको सीमा यसरी बढ्दै जान थाल्यो कि कैयौंपल्ट त थाहा नै पाइनन् उनले, कतिखेर बाहिरिए परेलीका डिलबाट आँसुका थोपा। तर, पनि देखाइनन् अरुसामु, आँसु। भावुकताको प्रवाहमा सुरु भएको कल्पनाको जिन्दगी दुःखको गोदाम नै बन्न पुग्यो। तथापि, आउने दिनको आशैआशमा जतनले डोर्‍याइरहिन्, उनले संघर्षका पाइला।

स्नातकसम्मको अध्ययन गरेका बुवा यज्ञराज भट्टले जागिर नखाएर आफ्नै व्यवसाय गर्ने सोचले सुरू गरेका थिए, उग्रतारा सुज सेन्टर। चार भाइ दुई बहिनी। तराईमा खान पुग्ने जमिन पनि छदै थियो। थिएन केही कुराको कमी। एक्कासी परिवारमा बज्रपात पर्‍यो। २०५० सालमा घर नजिकैको जङ्गलमा उनका २० वर्षीया दाइको हत्या गरिदियो, कसैले। त्यही पीरले गल्दै गएका बुवा यज्ञराज ४५ वर्षकाे उमेरमा कहिल्यै नब्यूझिने गरी निदाए। बुवाले धर्ती त्याग्दा उनी कक्षा ८ मा पढ्थिन्।

रानोबिनाका माहुरीझैं भए घरका जहान। त्यसपछि सुरूभयो कल्पनाको जिन्दगीको फरक अध्याय। ऋतु फेरिएझैं फेरिदै गए एकपछि अर्को अध्याय। ती सबै अध्याय दु:ख र संघर्षका मात्रै थिए। निर्वाह गर्दै गइन्, परिवारमा जिम्मेवारीको भूमिका। भैंसी पालेर बजारमा दूध बेच्न थालिन। त्यही दूध बेचेको पैसाले आफ्नो र भाइबहिनीको पढाइ खर्च जुटाउँदै गइन।

धनगढीको त्रिभुवन माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनले भाइबहिनी पढाउन दुई वर्ष जागिर गरिन। त्यसपछि हिँडिन्, काठमाडौंतिर। जहाँ उनले विभिन्न संघ संस्थामा काम गर्दै आफ्नो पढाइ अगाडि बढाइन्।ती संघसंस्थाहरू प्राय मानवसेवामा नै काम गरिरहेका थिए।जहाँ उनले जिन्दगी बुझ्ने माैका पाइन। बागबजारस्थित पिके क्याम्पसबाट बिए उत्तीर्ण गरेर उनी डडेल्धुरामा महिला मुक्ति समाज कार्यक्रममा काम गर्न थालिन्। त्यहाँ काम गर्दा पनि उनी खालि बसिनन्। डडेल्धुरा क्याम्पसबाट बीएड उत्तीर्ण गरिन।

त्यसपछि जागिरकै सिलसिलामा पुगिन, ओखलढुङ्गा। त्यही दौरानमा एउटा भाइले इन्जिनियरिङमा नाम निकालेर पढ्न थालिसकेको थियो। बहिनीले पनि काम गर्न थालिसकेकी थिइन। बहिनी पूर्णिमाले कमाउन थालेपछि कल्पनालाइ पढ्नमा सहयाेग गर्न थालिन्। बल्ल उनले सुरू गरिन्, मास्टर्स पढ्न। समाजशास्त्र र राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरिन्। उता भाइ पनि इन्जिनियर बनिसकेका थिए। फेरि दुखद घटना घट्यो परिवारमा। २६ वर्षको उमेरमा माइलो भाइले बिदालिए, धर्तीबाट। आमा मैनादेवीका आँखा ओभाना हुन सकेनन्। डिप्रेसनमा जान थालिन्, आमा। उनी भन्छिन्,‘आमा अहिले पनि डिप्रेसनको औषधि लिनुहुन्छ।’

उनले सकिनन्, केही कुरा सोच्न। रुमल्लिरहिन्, आफैंभित्र। सोच्न थालिन, आखिर जिन्दगी के हो त ? कैयौंपल्ट आफैंसँग प्रश्न गरिसकेपछि उनले निर्णय लिइन सामाजिक कार्यमा पाइला चाल्ने। तर, कस्तो खालको सामाजिक कार्य गर्ने भन्ने सोच्दा सौच्दै उनको दृष्टि पर्न गयो कञ्चनपुरकी इन्दु धामीले लेखेको समाचामा। जहाँ लेखिएको थियो– ७५ वर्षकी आमा चारपटक बलात्कृत।

उक्त समाचार पढेपछि उनी छातीमा भक्कानो बोकेर हिँडिन्, ती आमालाई खोज्ने। उनले ती आमालाई मात्रै भेटाइनन्। कञ्चनपुरबाट धनगढी पुगुञ्जेल भेटाइन आठ जना मानसिक रोगी महिलालाई। जाे सडक किनारमा फाेहरी अवस्थामा टिठलाग्दा बनेर बसिरहेका थिए। हरेक साँझ बलत्कृत भैरहने  तिनको उद्धार गरिन। त्याे समय थियाे ५ वर्ष अघिकाे। त्यतिबेलै उनले दृष्टि फाउन्डेसन नेपाल नाम जुराएर संस्था खोलिन। जहाँ कसैकाे दृष्टि पुगेकाे थिएन त्यहाँ उनले दृष्टि पुर्‍याइन्। तँ सोच म पुर्‍याउँछु भनेझैं नगरपालिकाले ५ लाख रूपया दियाे।  हरिश त्रिपालीले भाडा नलिने गरी आफ्नो एकतले सिङ्गै घर उपलब्ध गराए। ६ महिनासम्म त्यहाँ बसेकी उनी परिवारको संख्या बढ्दै जान थालेपछि ठाउँ अभावका कारण सर्न पुगिन, बुद्धचोकस्थित तीनतले घरमा।  जुन घरको भाडा सुरूदेखि नगरपालिकाले तिर्दै आइरहेको छ।

एकदिन उनले देखिन्, सडकमै बच्चा जन्माएकी मानसिक रोगी आमालाई। तिनको नवजात शिशु कुकुरले खाइरहेको थियो। बुझ्दै जाँदा ती आमाले तीनपटक बच्चा जन्माइन। तीनै पटक कुकुरको आहारा बने, ती शिशु। यस्ता मानसिक रोगीहरु जो बलात्कृत भइरहन्थे। जसको साहारा कोही थिएन। सडकमै जिन्दगी थन्क्याइरहेका थिए। ती आमाको उद्धारमा लागेकी कल्पना सहयोगका लागि कसकहाँ पुगिनन्। कोसँग हात थापिनन्। यो बीचमा उनले थुप्रै तिता अनुभव पनि बटुलिन। कतिले कुरा काटे। कतिले दुख दिए। कति हण्डर खानु पर्‍याे भी साध्य छैन्। धनगढी उपमहानगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरी वनलाई बाेधार्थ दिएर वडा नं. ४ मा जमिन उपलब्ध गरायो। जहाँ उनी सबैबाट सहयोग लिएर घर बनाउन थालिन्। उक्त ठाउँ रुखहरु नभएको खाली थियो। तर, तारानगर सामुदायिक वनले २० हजार रुपैयाँ जरिवाना सुनायो। बारम्बार जरिवाना तिर्न ताकेता गरेपछि बुवाले लगाएको औंठी जुन आमाले उनलाइ दिनुभएको थियो, त्यही औंठी बेचेर जरिवाना तिरेको कुरा सुनाउँछिन्, उनी। नगरपालिकाले अर्को ठाउँमा जग्गा देखायो। त्यहाँ पनि उनलाई टिक्न दिएनन्। अन्तमा पत्रकार महासंघ कैलालीका पूर्व सभापति दीर्घराज उपाध्यायले खबरदारी मात्रै गरेनन् सहयोग समेत जुटाइदिए टहरा बनाउनलाई । पत्रकार उपाध्याय, सांसद डिल्ली पन्त, मेयर नृप बहादुर वड, पत्रकार महासंघ डोटीका पूर्व सभापति टेकेन्द्र देउवालगायत थुप्रै छन्, उनलाई दिलखोलेर सहयोग गर्नेहरु पनि। ती व्यक्तिहरुले लगाएको गुन सम्झिदा भावुक बन्छिन्, उनी।

समाजमा रहेका असहायको सेवा गर्न निस्केकी उनलाई सामजकै केही व्यक्तिले लखेटे। आफूलाई सामाजिक अभियन्ता भन्नेहरूले नै  रातदिन खेदो खनिरहे। निस्वार्थ ढंगले सामाजिक काम गर्न खोज्दा हात धोएर पछि लागिरहे, केही मान्छेहरु। भाइ र बहिनी मिलेर उनलाई किनिदिएका थिए, स्कुटर। त्यही स्कुटरमा पनि कुनै अज्ञात व्यक्तिले आगो लगाइदियो। जलेर नष्ट भयो। हातमा बोरो समातेर दाल तरकारी माग्न पुनः पैदल यात्रामा निस्किन थालिन, उनी। यो दृश्य देखेर समाजसेवी गोपी हमालले १५ हजार रुपैयाँ दिएर सुरूवात गरिदिए, चन्दा उठाउन। यसरी उठेको रकम ८० हजार पुग्दा लायन्सक्लबकी अध्यक्ष गोमा अधिकारीको समूहले बाँकी पैसा थपेर २ लाख ७५ हजार पर्ने स्कुटर किनिदिएपछि हाल अलि सजिलो भएको कुरा सुनाउँछिन् उनी।

भगवान्ले बारम्बार परीक्षा लिइरहे जस्ताे उनकाे जिन्दगी। पुनः दुखकाे बादल मडारियाे। विरह र वेदनाका अाँसु झर्न थाले।  तीन महिनाअघि कामविशेषले काठमाडौं पुगेका काका गणेशराज भट्टले भिडियो कल गर्दै ‘तिमीलाई यस्तो जाकेट किनिदिएको छु ल हेर त’ भनेर देखाए थिए। भोलिपल्ट सुनियो काकाले पनि धर्तीबाट बिदा लिए भन्ने कुरा। संघर्षका पाइला चाल्दै गर्दा सधै हौसला दिने, बुवापछिका आधार, अभिभावक बनेका काका पनि गुमाइन, उनले। अचेल उनी अाँसु पिएरै निस्किन्छिन् यात्रामा।  एकपछि अर्को घटना घटि नै रहे, बेलाबखत। अचेल उनी केही सोच्दिनन्। मात्र भन्छिन्,– बाँचुन्जेल दिन दुःखी र असहायको सेवा गर्ने पाइयोस्।

अविवाहित समाजसेवी कल्पनाको दिमागमा आउँदैन, बिहे भन्ने शब्द। यत्तिकै जिन्दगी बिताउन चाहन्छिन्, उनी।

‘मेरो यत्रो परिवार छ। एक जना नहुँदैमा के हुन्छ र। बरु डिस्टर्व पो हुन्छ। बिहे गरेको भए केटा साथी बनाएकाे भए, कति बाउन्ड्री हुन्थ्यो होला जीवनमा। यसरी सेवा गर्न पनि त पाउँदिन थिएँ, होला,’ गम्भीर मुद्रामा सुनइन, उनले।

उनीसँग हाल एउटा अनाथ बच्चा छन्। जसलाई उनले हात जोडेर मागेकी हुन्, तत्सिकालीन डडेल्डिधुराका सिडिओ माेहनराज जाेशीसँग। डडेल्धुरा अस्पतालमा लावारिस अवस्थामा भेटिएको नवजात शिशुलाई उनले गोदमा लिइन्।

उनी भन्छिन्,‘सुरूमा सिडिओसापले दिन मान्नु भएको थिएन्। यो केटीले कसरी पाल्छे ? भोलि बिहे गरेर अर्काको घर गएपछि  बच्चाको अवस्था के हुन्छ? भन्नु हुन्थ्यो। पछि मेरो फेसबुक वाल हेर्नु भएछ र बोलाएर कागज बनाउनुभयो। मैले बिहे गर्न नमान्दा मसँग बोल्न छोडेकी आमा पनि अचेल मेरो नाती भनेर दिनभर उसैलाई काखमा बोकेर हिँड्नुहुन्छ। उसकै स्याहार–सुसारमा खटिरहनुहुन्छ। आफैंसँग राख्नुहुन्छ’, मुस्कुराउँदै सुनाइन उनले। 

त्यस्तै मानसिक राेगी अामा बलत्कृत भएर जन्मेका, केही अरू अनाथ बालबालिका र सुस्त मनस्थितिका महिला गरेर जम्मा ५१ जनालाई पालिरहेकी छन्, उनले। ती आमाहरु पूर्णरुपले मानसिक रोगी छन्। आफ्नो नाम ठेगाना केही थाहा छैन्, तिनलाई। ती मध्ये कसैको मृत्यु हुँदा उनी आफैं दाहसंस्कार गर्छिन्। आफैं तिनको किरिया गर्छिन्। 

कल्पनाको चाहना भन्नु नै उनीहरुलाई चाहेको खाना र लुगा दिनसके हुन्थ्यो भन्ने छ। घर पुग्दा ती स–साना बालकले– मामु पेन्सिल हरायो, कपि च्यातियो, उसले आज यस्तो लुगा लगाएको थियो, आदि जस्ता सवाल सुनेपछि भक्कानिन्छिन्, भित्रभित्रै। मुसार्छिन् तिनका शिर। चुम्छिन् निधारमा र भित्र लग्छिन्।

अहिले धनगढी उपनगरपालिका, सांसद डिल्ली पन्तलगायतको सहयोगमा संस्थाको घर तयार गरिसकेकी छन्। त्यही घरले मात्रै पुग्नेवाला छैन्, अझै एउटा टहरा थप्नुपर्ने आवश्यकता छ। यतिखेर पुनः सहयोगी हातहरु खेजिरहेकी छन्, उनी। उता त्यति ठूलो परिवारका लागि साँझ बिहानको खानेकुराको जोहो गर्न पनि कम्ता मुसिकल छैन्। लकडाउनकाे समयमा निक्कै मुश्किल पर्दा पत्रकारमहासंघ कैलालका पूर्व सभापति दीर्घराज उपाध्यायले रासनकाे व्यवस्था गरिदिएकाे कुरा बताउँछिन्, उनी। अहिले पनि समस्याका चाङ लागेकै छन्, एकपछि अर्का। तर, पनि उनले हार खाएकी छैनन्। क्या समर्पण छ उनको ती साहाराविहीनहरुप्रति। उसाे त उनले कल्पना गरेको स्वर्ग भन्नु पनि त्यही न हो। रहर त्यही हो जहाँ नामको अर्थ पनि साकार भएको छ। उपयोगी समाजका लागि एक अर्थपूर्ण नाम हो, कल्पना भट्ट। एक साहसिक, उदार मन, सहयोगी भावना भएकी चेली। जसलाई साथ दिइरहेका छन् दृष्टि नेपालकाे कार्यसमितिमा रहेर सहयाेग गरिरहेका अन्य चेलीहरूले।  मानवसेवाका क्षेत्रमा अहाेरात्र खटेर प्रेरणादायी भूमिका निर्वाह गरिरहेकादेखि उक्त अभियानमा सहयाेगी मन चढाइरहेका  ती सबैजना प्रशंसाका पात्र छन्। समाजले कल्पनाकाे अभियानबाट प्रेरणा पाअाेस्। छाेरालाई मात्र सन्तान ठान्ने समाजमा यस्ता कल्पनाहरू अझै जन्मिदै जाउन्। 


कल्पनाकाे बारेमा केही व्यक्तिकाे धारणा

 

दुई विषयमा मास्टर गरेकी होनहार केटी। जो राम्रैसँग सेटल हुन सक्थिन्। घरबार गरेर राम्रैसँग बस्न सक्थिन्। सारा कुरा छोडेर मानवसेवामा लागिन्। असहायका लागि साहारा बनिन्। समाजका मै हुँ भन्नेले पनि उनलाई असहयोग गरे। घर बनाउन राखेको ६० बोरा सिमेन्ट समेत चोरी भयो। अति भएपछि हामी अग्र पंक्तिमा उभिएर उनलाई उनको अभियानलाई साथ दिइरहेका छौंँ। यस कार्यमा धनगढी उपमहानगरपालिकाका मेयर सापको पनि निकै ठूलो सहयोग रहेको छ।

दीर्धराज उपाध्याय 
पूर्व सभापति 
पत्रकार महासंघ, कैलाली 

हामीले मानवताको सहर भन्ने कुरा परिषदबाट पास गरेका थियौं। पहिले मानव सेवा आश्रमको सञ्चालकसँग कुरा हुँदा १० लाख रुपैयाँ विनियोजन समेत गर्‍यौं। तर, पछि उहाँ सम्पर्कमा रहनुभएन। त्यसपछि साहारा घरका बलबहादुरजी आवाश गृह निर्माणका लागि सहयोग गरिदिनु पर्‍यो भनेर आउनुभयो। ५ लाख उहाँलाई दियौं। लगत्तै कल्पना आइपुगिन्। संस्था दर्ता गर म अहिले नै पाँच लाख दिन्छु, भनेँ। उनी खुसी भइन्।

महिला जति कल्पनाले राख्ने र पुरुष बलबहादुरले राख्ने कुरा भयो। दृष्टि फाउन्डेसनका लागि घर निर्माण गर्ने क्रममा उनले निकै दुःख पाइन्। अभियन्ता भन्नेहरुले नै अवरोध गरे। अनि १३ नम्बरमा वनको एरियामा वनसँग सम्बन्धित उनलाई जग्गा उपलब्ध गराइयो। नगरपालिकाले अहिलेसम्म घरभाडादेखि अन्य कुरामा बेलामौकामा सहयोग गरिरहेकै छ। उनले पूण्य कमाउने कार्य गरिरहेकी छन्। प्रसंसायोग्य छ उनको कार्य। 

नृप बहादुर वड
मेयर, धनगढी उपमहानगरपालिका

 

बाल्यकालमै बुवा गुमाएर टुहुरी बनेकी कल्पना जसरी मानवसेवामा मन, वचन र कर्मले लागिपरेकी छन्। त्यो कार्य प्रेरणादायी छ, गाैरवपूर्ण छ। उक्त कार्य राज्यले गर्नुपर्ने हो जो उनले गरिरहेकी छन्। मेयरसापको मानवमुक्त सडक बनाउने जुन प्रतिवद्धता थियो, त्यो कसरी गर्ने भन्ने सवाल खडा भइरहेको बेला कल्पना अग्रसर बनिन्। यो निकै नै सराहनीय कार्य हो। 

टेकेन्द्र देउवा  
पूर्व सभापति 
पत्रकार महासंघ, डोटी 

प्रकाशित मिति: : 2022-03-20 13:00:00

प्रतिकृया दिनुहोस्