डेढ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरी रहेका छन्।
घरमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ हराएकी बालिका सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरस्थित बनमारा बयरघारीमा अशक्त अवस्थामा फेला परेकी थिइन्।
उनको स्थानीय अस्पताल हुँदै नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो।
प्रहरीका अनुसार शुक्रबार दिउँसो अजय चौधरी सोही ठाउँस्थित गछिया खोलामा बालुवा चाल्दै गरेको अवस्थामा दाइ मिथुन चौधरीसँग भेट गरेका थिए। त्यसपछि उनीहरु केरा बगानमा गई गाँजा सेवन गरेका थिए।
गाँजा सेवन गरेपछि अजयले कोही नभएको मौका छोपी बालिकाको घरमा गएर बालिकालाई बनमारा झाँडीमा ल्याएको प्रहरीले जनाएको छ।
बालिका रुन थालेपछि टाउकोमा बियरको बोतल तथा ढुंगाले हानी उनीहरुले बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
घटनास्थलबाट प्रहरीले रगत जस्तो रातो पदार्थ लागेको २ थान ढुंगा, १ थान बियरको बोतल र पीडितको १ थान सुरुवाल बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।