युक्रेन युद्ध : दुतावासको पहलमा जर्मनीको जेलमा परेका नेपाली निस्केए

Photo - Agency
Photo - Agency

युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपाली दुतावासको पहलमा निस्केका छन्। जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्का अनुसार उनीहरुलाई जर्मनीको अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो।

युद्धमा अलपत्र परेका नेपालीलाई जर्मनीस्थित नेपाली दुतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ।

हालसम्म ५६ जना नेपालीले यात्रा अनुमति पत्र लिएका छन्। एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेनको लुगानबाट आएका ६ जना विधार्थीलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराइएको जानकारी दिए।

उनले ३५ वर्षदेखि युक्रेनमा बासोबास गर्दै आएका एकजना नेपाली परिवारले समेत युक्रेन छोडेर हिडेको जानकारी दिए।

रुस-युक्रेन द्वन्द्व पीडित नेपाली हाल दुतावासको सम्पर्कमा आउन छाडेका छन्। रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकमा खड्काले केही बिचौलीया युरोपका विभिन्न देशमा रहेका नेपालीलाई भित्र्याउन रसिया-बेलारुस युक्रेन हुँदै युरोप ल्याउन  सकृय हुन् सक्ने भन्दै सचेत रहन आग्रह गरे।

खड्काले युद्धमा विस्थापित भएका नेपालीमध्ये चार जनालाई भारतीय सरकारको सहयोगमा उद्धार गरी नेपाल पठाएको जानकारी दिए। भारतले २ जना हंगेरी, १ जना रोमानिया र १ जनालाई पोल्याण्डबाट गरी चार जनालाई उद्धार गरेकाे हाे।  नेपाल फर्किएका १० जनामध्ये बाँकी ६ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन्।

एनआरएनए पोल्याण्डाका महासचिव पवन खड्काले संघले अलपत्र परेका नेपालीहरुलाई खाना बस्नको व्यवस्था गरेको बताए।

एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रेले युद्ध प्रभावित देशमा १ सय ३२ जना नेपाली एनआरएनए स्पेनको सम्पर्कमा आएको जानकारी दिए। उनले पीडितको आग्रह अनुसार अधिकांश नेपालीलाई पोर्चुगल पठाएको जानकारी दिए।

एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले युक्रेनबाट आएका नेपालीहरुको खाना बस्नको लागि आवश्यक सहयोग जुटाउन संघ सकृय रहेको बताए।

युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगे छन्।

पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन्।

प्रकाशित मिति: : 2022-03-13 09:28:00

प्रतिकृया दिनुहोस्