स्वतन्त्रता खोज्दै हिंडेका ६८ वर्षीय बमपाल, भन्छन्- सुख होइन, खुशी खोज्ने हो 

६८ वर्षीय बमपाल बुढामगर। जसका जीवनका उतारचढावहरु हिसाबै गर्ने हो भने त्यति धेरै छैनन् होला। तर जति छन्, निकै सम्झन लायक छन्।रोल्पाको साविक जंकोट गाविसमा जन्मिएका बुढामगर दाङमा बस्ने थालेको ४ दशक बितिसकेको छ।

आफू दाङ आएको कुन मिति हो ठ्याक्कै भन्न नसकेपनि बुढामगरले ३५ सालतिर आएको बताउँछन्। गरिबीसँग राम्रै साक्षात्कार गरेका उनी कुष्ठ रोगको उपचार गर्न रोल्पाबाट दाङ झरेका हुन्।

जब उनी दाङ झरे, भोक मेट्न पल्लीदार (भारी बोक्ने) काम गर्न थाले। बुढामगर भन्छन्, ‘दाङ आएपछि पल्लीदार काम गर्न थालेको हुँ।’ पल्लीदार कामसँगै घोराहीको बजारसँग उनले राम्रै परिचय गरेका छन्।

कुष्ठ रोगको उपचार गर्ने उनको उदेश्य त थियो नै, तर बसेर उपचार गर्न उनीसँग पैसाको अभाव थियो। त्यही अभाव टार्न पल्लीदार काम गर्नु बुढामगरेको बाध्यता पनि थियो। जबजब उनले पल्लीदारी काम गर्न थाले, खुशी भने हुन सकेनन्।

सुख खोज्नु हुँदैन भन्ने बुढामगरले खुशी पाउन नसक्नुको कारण पनि कुनै ठूलो छैन। त्यो हो स्वतन्त्रता। ‘साहुको काम हो। त्यसमा साहुकै टर्चर हुन्छ। भनेको जस्तो पैसा हुँदैन। अनि स्वतन्त्रता पाउनै सकिँदैन,’ बुढामगर भन्छन्, ‘कसरी खुशी हुन सकिन्छ?’

स्वतन्त्रता खोज्दै घरमै व्यवसाय

बमपालले करिब ५ वर्ष पल्लीदारी काम गरेपछि आफ्नै व्यवसाय सुरु गरेको बताउँछन्। त्यसपछि उनले घोराही १४ कटुवाखोलाको किनारमा सानो घर बनाएर बंगुर पालन गर्न थालेको आज २ दशक बढी भइसकेको छ।

‘जानेको काम अरु केही छैन। यही सकिन्छ कि भनेर गरियो, आजसम्म पनि यही बंगुर पालन गरेको छु,’ उनले भने। बंगुर पालन गर्न थालेपछि आफू खुशी रहेको बुढामगर बताउँछन्।

हाल बुढामगरेको बंगुर फार्ममा ५ वटा ठूलो बंगुर छन् भने अन्य साना बंगुरका पाठापाठी रहेका छन्। बंगुरपालनबाटै उनको ५ जनाको परिवार पालिएको छ। ३ जना नातिनातिना र आफू दुई (श्रीमान–श्रीमती) जनाको परिवारलाई लगाउनखान पुगेको उनी बताउँछन्।

उनको परिवार कटुवाखोलाको किनारमा रहेको सुकुम्बासी बस्तीमा बस्दै आएका छन्। लामो समयदेखि बंगुरपालन गर्दै आएको भएपनि सरकारबाट कुनै अनुदान नपाएको उनले बताए।

कुनै पनि पेशामा लाग्ने मान्छेले त्यस पेशाको माया गरेमात्र सफल हुने उनको अनुभव छ। ‘यहाँ म देख्छु, बंगुर पालेको भन्छन् मल छुन घिन मान्छन्। त्यस्तै गरेर हुँदैन नि,’ उनले भने, ‘म त बिहान ४ बजे उठेर बंगुरलाई दान पानी दिन्छु। मल सफा गुर्छ।’

गणतन्त्रले नागरिकका लागि राम्रो

बुढामगरले अन्य शासन व्यवस्थाभन्दा गणतन्त्र नागरिकका लागि निकै राम्रो रहेको अनुभूत गरेका छन्। ‘पहिले त कहाँ यस्तो थियो र, थिएन नि। धेरै गाह्रा थियो। अहिलेको व्यवस्था त राम्रो छ,’ उनी भन्छन्। बुढामगरलाई गणतन्त्र आएपछि सबै नागरिकले समान अधिकार पाएको आभाष भएको छ।

‘हामीले नै अधिकार पाएका छौँ। के थियो र हाम्रो, केही थिएन। केही नभएपनि अहिले सरकारले बस्नका लागि जमिन दिएको छ,’ उनी सनाउँछन्। मनमोहन अधिकारीको पालापछि नागरिकले अधिकार पाउँदै गएको उनकाे दाबी छ।

प्रकाशित मिति: : 2022-03-12 18:00:00

प्रतिकृया दिनुहोस्