काठमाडौंमा अमेरिकाका लागि नेपाली राजदूताबासमा प्राध्यापक श्रीधर खत्री औपचारिक रूपमा नियुक्त भएको दुई दिन बितिसक्दा पनि यता वासिङ्टन डीसीस्थित नेपाली दूताबासलाई भने त्यसको जानकारी भैसकेको देखिएको छैन।
परराष्ट्र मन्त्रालयको प्रवन्धमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक खत्रीलाई शीतल निबासमा एक समारोहबीच राजदूतको सपथ खुवाएकी थिइन्। परराष्ट्र मन्त्रालयको प्रवन्धमा नै यो कार्यक्रम भएकाले त्यही मन्त्रालय मातहतको दूताबासलाई त्यो थाहा नहुने भन्ने कुरै भएन। तर, पनि उसले राजदूतको पद खालि नै राखेर खल्लो स्वागत गर्ने संकेत देखाएको छ।
शुक्रबारसम्म पनि दूतावासको वेभसाइटमा राजदूत पद खालि छ। केही दिनअघिसम्म चार्ज डी एफियर्स कुमार राजखरेलको नाम कार्यबाहक राजदूतका रूपमा राखिएको थियो । अहिले उनको नाम चार्ज डी एफियर्समा सरेको छ भने राजदूतको नाम भने खालि छ। जब कि उनको नाम हटाउने दूताबासलाई थाहा छ कि प्राध्यापक खत्री राजदूत नियुक्त भैसके।
एउटा जबर्जस्ती चलन के छ भने सामान्यत: परराष्ट्रका कमर्चारीहरू मन्त्रालय बाहिरका मानिस राजदूत भएको रूचाउँदैनन्। आफूहरूलाई करिअर डिप्लोम्याट ठान्ने उनीहरू बाहिरकालाई सौतेलो व्यवहार गरेर भरसक आफ्नो स्वार्थमा नचाउँन खोज्छन्, सकेनन् भने असहयोग गरेर असफल बनाउन प्रयत्न गर्छन्।
प्राध्यापक खत्रीको नाम अद्यावधिक नगरेर उनीहरूले त्यसैको संकेत गरेका हुन सक्छन्।
वासिङ्टन डीसीस्थित नेपाली दूताबास कति सम्वेदनशील छ वा कति अद्यवधिक छ भन्ने दृष्टान्त हो यो। दूताबास अमेरिकामा रहेका नेपालीका लागि खासै कामकाजी छैन भनेर सधै नै आलोचित रहदै आएको छ।