नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२औं अधिवेशन फागुन २७, २८ र २९ गते राजधानीमा हुने भएको छ।
साधारण सभा तथा अधिवेशन उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ।
महासंघले बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा साधारण सभा तथा अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही संख्यामा पर्यवेक्षकको सहभागिता रहने जनाइयो।
अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ। महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव (१) उपमहासचिव (२), कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ।
साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मुल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन्।
सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौ संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने बताए।
महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले समस्याग्रस्त रहेको निर्माण उद्योग सुधारका लागि एघारौं संशोधन आवश्यक रहेको बताए।