अमेरिकाको मेरिल्याण्ड राज्यको संसदमा प्रस्तुत दशै विधेयक निर्णायक मोडमा पुगेको जानकारी विधायक डा. ह्यारी भण्डारीले दिएका छन्। तल्लो सदन हाउस अफ एसेम्बेलीमा विधेयक प्रायोजकसमेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै यो जानकारी दिएका हुन्।
अमेरिकाको पहिलो र एक मात्र नेपाली मुलका राज्य विधायक डा. भण्डारीले यस वर्षको संसद सत्रमा प्रस्तुत गरेका ७ विधेयकमध्ये सबैभन्दा प्राथमिकतामा राखेको विधेयक दशै विधेयक भएको बताउँदै यसलाई तार्किक निस्कर्षमा पुर्याउन आफू लागिपरेको बताएका छन्। पहिलो कार्यकाकलको अन्तिम संसद सत्रमा रहेका डा. भण्डारीले तल्लो सदनमा सात विधायकको सहप्रायोजन गराएका छन् भने माथिल्लो सदन सिनेटमा पनि सिनेटर रोजापेपेमार्फत् क्रस फाइल गराएका छन्। डेमोक्रेटिक पार्टीको मेरिल्या्ण राज्यको केन्द्रीय सदस्यसमेत रहेका डा. भण्डारीले यो प्रयत्नलाई आफूले चारवर्षे कार्यकालमा अनापोलिस र डेमोक्रेटिक पार्टीमा निर्वाह गरेको भूमिका र हासिल गरेको विश्वसनियताकै कारण सम्भव भएको बताएका छन्।
विधेयकमा दशैलाई नेपालमा उत्पति भएको असत्यमाथि सत्यको जीतको उत्सवका रूपमा मनाइने सांस्कृतिक चाडका रूपमा प्रस्तुत गरिएको छ। यदि यो विधेयक राज्यसभाको माथिल्लो र तल्लो दुबै सदनमा पारित भएर गभर्नरकोमा पुग्यो र उनले यसलाई भिटो प्रयोग गरेनन् भने दशैले मेरिल्याण्ड राज्यमा आधिकारिक रूपमा मान्यता पाउँने छ।
मैले यस संसद सत्रमा प्रस्तुत गरेका ७ विधेयकमध्ये सबैभन्दा प्राथमिकतामा राखेको विधेयक दशै विधेयक नै हो। त्यसैले म यसलाई तार्किक निस्कर्षमा पुर्याउन हरसम्भव प्रयत्न गरिरहेको छु। यो प्रयत्नलाई साकार बनाउन मलाई हाम्रो समुदायको समथर्न रहेको देखाउनु छ। त्यसैका लागि मैले यहाँहरू सबैलाई विनम्र निवेदन गरेको हुँ।
दशै विधेयकमाथि बिहिबार माथिल्लो सदन सिनेटमा सुनुवाई हुनेछ भने मार्च १४ मा तल्लो सदन हाउस अफ एसेम्बेलीमा सुनुवाइ हुने छ।
सुनुवाई हुनुअघि तल्लो सदनका लागि लिखित टेस्टिमोनी इमेल गर्न र माथिल्लो सदनमा सिनेटर रोजापेपेलाई धन्यवाद इमेल लेख्न अनुरोध गर्दै डेलिगेट डा. भण्डारीले यसबाट हाम्रो समुदायको दशैप्रति ठूलो सांस्कृतिक लगाव र समर्थन रहेको देखिने बताएका छन्। उनले माथिल्लो सदन सिनेटमा सार्वजनिक सुनुवाइ हुने भएकाले त्यसमा सहभागी भएर समर्थन गर्न पनि अनुरोध गरेका छन्।
अमेरिकामा रहेको नेपाली सुमदायले होस्टेमा हैंसे गरेमा दशैले मान्यता पाउँन एक कदम मात्र टाढा रहेको पनि डेलिगेट डा. भण्डारीले बताएका छन्।
मेरिल्याण्ड राज्यको संसद सत्र अप्रिल १२ मा सकिदैछ। यो सत्र नै डेलिगेट भण्डारीको पहिलो कार्यकालको अन्तिम सत्र पनि हो। दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गराइसकेका भण्डारीले आफ्नो चुनावी क्याम्पेन अगाडि बढाइरहेका छन्।
दशै विधेयकसम्बन्धी थप जानकारीका लागि तपाईं यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
धेराई राम्रो कुरा हो यस मॉ सबै ले साथ दिनु परछ ।