ललितपुर महानगरपालिकाले महिला उद्यमी मेला आयोजना गर्ने

शनि शाक्य

ललितपुर
Breaknlinks
Breaknlinks

ललितपुर महानगरपालिका-१६ ले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फागुन २७, २८ र २९ गते नागबहाल र इलाननीमा महिला उद्यमी मेला आयोजना गर्ने भएकाे छ।

‘महिला सशक्तिकरणको आधार : उद्यमशीलता र रोजगार’ भन्ने नाराका साथ नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग संघ, नागबहाल टोल सुधार समिति र इलाननी टोल सुधार समितिसंगकाे सहकार्यमा मेला आयाेजना गर्न लागेकाे हाे।

स्थानीय महिला उद्यमी र व्यवसायीद्वारा उत्पादित र बिक्री वितरण गर्दै आएको सामग्रीको प्रर्वद्धन गरी महिला उद्यमीलाई प्रर्वद्धन गर्ने मुख्य उद्देश्यसहित मेलाको आयोजना गर्न लागिएकाे बताइएकाे छ।

त्यसैगरी हस्तकला, संस्कृति, कलाकार, फोटो संगीत र समाजका विविध क्षेत्रमा क्रियाशील स्थानीय प्रतिभा पहिचान गर्ने र लुकेका प्रतिभा प्रस्फुटन गराउने मेलाको उद्देश्य रहेको आयोजक बताउँछन्।

मेलामा स्थानीय महिला समूह र विभिन्न सहकारीहरुले उत्पादन गरेका काष्ठकला, गरगहना, कपडा, धातुकामूर्तिहरु, दैनिक प्रयोगका सामग्रीहरु, खाद्य सामग्री, लत्ता कपडा र सज्जावटका सामग्रीहरुको ५१ वटा स्टल नागबहलमा रहने छ।

नेपाल हस्तकला महासंघद्वारा हस्तकला प्याभीलोन, ललितपुर उद्योग वाणिज्य संघले ललितपुरमा उत्पादित सामग्रीको प्रर्वद्धन गर्न अघि सारेको मेड इन ललितपुरको अवधारणा अनुरूप मेड इन ललितपुर प्याभीलोन रहनेछ। हस्तकलाजन्य सामग्री उत्पादनको जीवन्त प्रदर्शनी पनि देखाइने छ।

प्रकाशित मिति: : 2022-03-09 15:37:00

प्रतिकृया दिनुहोस्