ट्रकको पछाडि लेखिएका बलिया साहित्यिक लाइन तपाईंले कत्तिको याद गर्नुभएको छ ?
सामान्य। तर, बेजोड पारामा लेखिएका लाइनले भित्रैसम्म छुन्छन्। कहिलेकाहीँ एक्लै फिस्स हाँस्ने पनि बनाउँछन्। हो, ट्रक साहित्यले हृदयभित्र कताकता छोए जस्तो महशुस तपाईंले पनि पक्कै गर्नुभएको छ।
०००
आइतबार मध्यान्ह, फागुनको चर्को घाम थियो, टाउकोमाथि।
कमल गुरुङलाई भेट्न हामी उनको ग्यालरी पुग्यौं। अन्नपूर्ण आर्ट ग्यालरीमा हामी पुग्दा कमल क्यानभासमा कुँची चलाइरहेका थिए। भित्ताभरि झुण्ड्याइएका तस्बिरले हामी निकै बेर लोभिइरह्यौं।
लेकसाइड खहरेमा अवस्थित उनको आर्ट ग्यालरीमा कलाको बेजोड नमुनाले आँखा शित्तल पार्छन्। हो, जो कोहीको आँखा अडिइहाल्छ। मन लोभ्याउछ।
०००
क्यानभासबाट कुँची हटाए। एकैछिनपछि कमल हामीसँग गफ गर्न तयार भए।
आर्ट फिल्डमा कसरी जोडिनुभयो ? हामीले सोध्यौं।
रुचि त उनको स्कुले दिनदेखि नै बसेको हो। स्कुले दिनदेखि नै चित्र बनाउन रुचि गर्ने कमल यो क्षेत्रमा भने उनकै बालसखाको कारण तानिएको ठान्छन्। ‘स्कुल पढ्दा एक जना साथी थिए। क्लास मेट। उसले राम्रो चित्र बनाउने,’ भन्छन्,‘ऊ बाट इन्सपायर भएँ। मैले पनि कोर्थे कोर्न त, उसबाट इन्सपायर भए। उनीबाट प्रभावित भएर यता आए जस्तो लाग्छ। स्कुलबाट आएर कसले राम्रो बनाउने भनेर दुवै जनाले बनाउथ्यौं।’
स्कुलमा पछिल्लो बेन्चमा बसेर चित्र कोरिरहेका हुन्थे रे, कमल। तीन/चार क्लास पढ्ने बेलादेखि नै चित्र कोर्न थालेका कमल अहिलेसम्म पनि क्यानभासमा कुँची दौडाइरहेका भेटिन्छन्।
भन्छन्,‘उहाँले त छोड्नुभयो अहिले। त्यसरी नै सुरुआत भयो।’
पुख्र्यौली स्याङ्जा भए पनि कम बुटवलमा हुर्के। त्यहाँ हिन्दी फिल्म धेरै हेर्थे, उनी। फिल्म हेरेर भ्याएपछि हिरोको चित्र बनाउने मन पलाउथ्यो। एक रुपैयाँमा क्लोज अप पोस्टर पाइन्थ्यो हिरो हिरोइनको। त्यही ल्याएर चित्र बनाउथे।
६ कक्षा पढ्दा–पढ्दै बाबाको कामकै कारण पोखरा आयो, उनको परिवार। अहिले परिवारका सबै सदस्य यतै छन्।
सानैदेखि कलामा रुचि राखे पनि कलाको पहिलो औपचारिक गुरु भने पोखरा आएपछि मात्र भेटे कमलले। आलोक गुरुङसँग उनले कलाका विविध आयामबारे सिके। फाइन आर्ट इन्स्टिच्युटमा कला सिक्दै। काम पनि गरे, उनले। ‘गाइडेन्स चाहिन्छ भनेर उहाँसँग सिकेँ। मज्जा लाग्यो सिक्दा। पछि बुझ्दै आएँ,’ भन्छन्, ‘सिक्ने दौरानमा वैल कलरभन्दा वाटर कलर भास्ट हो भनेर वाटर कलर प्रयोग गर्न थालेँ। सिकेर सरको ग्यालरीमा भोलुन्टियर पनि गरें।’
कमललाई अहिले पनि सम्झना छ, ट्रकको पछिल्तिर उनले लेखेका, लाइनहरु। ‘कति लेखियो लाइनहरु। म पोट्रेटमा रुचि भए पनि सबै सिक्नुपर्छ भन्ने ठान्थें,’ उनी सुनाउँछन्।
आलोक गुरुङको ग्यालरीमा काम गर्दै गर्दा बाहिर जाने मौका पनि पाए, कमलले। भर्खर प्लस टु सकेर बसेका कमल धेरै सिक्न पाइएला भन्ने लोभले कतार हानिए। कतारमा दुई वर्ष काम गरे। म्यानेजरले एकदमै मन पराए। त्यही दौरानमा काठमाडाौंमा फाइन आर्ट स्कुल छ भन्ने सुने। पोखरामा चिनाजानी भएका इसान परियारले त्यहाँ आर्ट पढ्दै गरेको थाहा पाए, कमलले। अनि, काठमाडौं फर्केर फाइन आर्ट पढ्छु भन्ने लाग्यो रे, उनलाई।
‘काम सिक्दै थिएँ, सिक्नको लागि राम्रो हो , एक्रेलिक गोसे सबै कलर चलाएँ। तै पनि काठमाडौं गएर इन्टरदेखि नै पढ्छु, यसैमा डिग्री लिन्छु भन्ने सोच थियो पहिलदेखि,’ उनी सुनाउछन्।
उता म्यानेजरले काम मन पराई रहेका थिए। उनले नेपाल फर्किने मन गरे। ‘स्यालरी बढाइदिन्छु भनेर एकदमै रिक्वेस्ट गरे। बरु, म पढेर फेरि आउँछु भनेर आएँ,’ कमल गम्भिर सुनिए।
दुई वर्ष कामको एग्रिमेन्ट पूरा गरेर कमल नेपालै फर्किए। फाइन आर्ट पढ्न काठमाडौं गएको एक वर्ष भर्ना हुन पाएनन्। एक वर्ष यसै सकियाे। एक वर्षपछि इन्टर लेभलबाटै आर्ट पढ्न सुरु गरे। फाइन आर्टसमा मास्र्टस गरेका कमल अहिले आफ्नै आर्ट ग्यालरी चलाएर बसेका छन्। बिहान हिल पोइन्ट बोर्डिङ स्कुलमा आर्ट पढाउँछन्।
यो क्षेत्रमा लागेको पनि २० वर्ष भइसक्यो।
०००
जुनसुकै क्षेत्रमा लागे पनि धैर्य गर्न सिक्नुपर्छ भन्ने धारणा राख्ने कमल अहिलेको पुस्तामा धैर्य गर्न सक्ने क्षमता हराउँदै गएको ठान्छन्। ‘इन्टरनेटबाट फोटो डाउनलोड गर्छन्। सर, म यस्तो बनाउन कहिले सक्छु भनेर भन्छन्,’ कमल सुनाउछन्।
धैर्य हुने सक्ने क्षमता र केही गर्ने हुटहुटीले नै कुनै पनि क्षेत्रमा सफल हुन सकिने कमल ठान्छन्। इन्टर पढ्ने बित्तिकै कमलले काठमाडौंकै ग्यालरीमा फाट्टफुट्ट काम पाए। त्यसैले काठमाडौंमा बस्न र पढाई खर्च पनि जुट्यो।
निर्भाना आर्ट ग्यालरी लगायतका ग्यालरीले उनलाई काम दिइरहे। साथीहरुले धेरैले साइड जब स्कुलमा पढाउने काम पनि गरे। तर, उनलाई ग्यालरीकै फुटकर कामले पेट पाल्न पुग्यो। काठमाडौंमा उनले अर्का गुरु पनि भेटे, बाबुराजा धेउला। बारा फाइन आर्ट इन्स्टिच्युट लखनखेलमा उनले कलाबारे थप सिक्ने मौका पनि पाए।
आफ्नै ठाउँ फर्कि आए
उनले काठमाडौंमा राम्रै पाएका थिए। काम गरे मनग्गे खर्च चल्ने बाटो बनिसकेको थियो। मास्र्टस सकिएपछि काठमाडौंमै बस्ने मन भएन, कमललाई। ‘आफ्नो क्षेत्रमा केही गरौं न भन्ने लाग्यो। सानै भए पनि आफ्नै ठाउँमा गर्यो भने मनमा आनन्द हुन्छ भन्ने लाग्यो। अनि आएँ,’ कमल भन्छन्।
यहीबाट पनि काठमाडौंका काम पनि गरिरहेको हुन्छन्, उनी।
अहिले स्कुलमा आर्ट पढाइरहेका कमल अझ ठूलो परिमाणमा आर्टिस्ट जन्मियुन भन्ने चाहन्छन्। ‘यही केही गर्न सके टिनएजलाई गाइडेन्स गर्न सकिन्छ। प्रेरणाको स्रोत हुन सकिएला। राम्रो ट्रयाकबाट लैजान सकिएला भन्ने हो,’ उनी सुनाउछन्, ‘आर्ट स्कुल खोल्ने मन छ। बिस्तारै। सिकाउने स्पेश पनि भएन यहाँ। इफेक्टिभ तरिकाले सिकाउने मन छ।’
कलाबारे एउटा सतहमा आएको विवाद पनि छ। प्राय कलाकारहरु भन्ने गर्छन्, मैले आफ्नो सन्तान बेचें। आफ्नै सन्तान बेच्ने दुस्साहस किन गर्छन् त कलाकारहरु ?
कलालाई एउटा विचार मान्छन्, कमल। र, आर्ट त्यसलाई अभिव्यक्त गर्न माध्यम ठान्छन्। ‘मनबाट आएका कुरा बेच्न मन लाग्दैन। कुनै कुरा आर्टिस्टहरुको माइन्डमा एट्याच भएका हुन्छन्। ति त लाखौंमा किने पनि म बेच्दिनँ,’ उनले सुनाए।
कमलको कलाकर्ममा जोडिएको यस्ता धेरै आर्ट छन्। जसलाई उनी लाखौंको मुल्यमा बेच्न चाहन्नन्। रुकुम जाँदा पाँच दिन हिँडेर जाँदा एउटा आर्ट बनाएका थिए। तक्मेसेराको। धेरैले मन पराएँ। किन्न पनि खोजे। तर, उनले बेचेनन्।
‘यो मैले बेचिनँ। पैसा जति दिए पनि मैले बेच्दिनँ। यस्तोमा पनि फिलिङ्स हुन्छ भन्ने कुरा हो मेरो,’ भन्छन्,‘जस्तै म आउडोर गर्छु। दुई घण्टामा नेचरलाई हेरेर क्याप्चर गर्छु। त्यो मुभमेन्ट एट्याच हुन्छ। आउटडोर गरेका पेन्टिङ म हत्तपत्त बेच्दिनँ।’
Ekdum ramro bichar dai kamal...well done n best of luck for ur up coming days...