सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहको चुनावमा तालमेलको लागि आ–आफ्नो दलभित्र छलफल गरेर मात्रै निर्णय लिने भएको छ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।
चुनावी तालमेलबारे पहिला आ–आफ्नो दलमा छलफल गरेर सत्ता गठबन्धनको बैठकबाट निर्णय लिने गरी आजको बैठक सकिएको छ।
आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेलाई संसद अवरोध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका शीर्ष नेताहरुबीच भएको छलफलले यस्तो निर्णय गरेको कांग्रेस नेता तथा सत्ता गठबन्धन राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ। पौडेल बैठकमा सहभागी थिए।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कांग्रेस नेता पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।