गाउँको शिरमा छ, शवदाह (मृत मान्छेलाई जलाउने ठाउँ)। जहाँ वर्षौँदेखि शव जलाइँदै आइएको थियो। दाङ घोराही उपमहानगरपालिका वडा–११ बाँसगजेरी गाउँको शिरमा रहेको उक्त शवदाहमा जबसम्म शव जल्यो मुनतिरको गाउँ उजाड बनिरह्यो। फागुन लाग्यो भने बाँसगजेरी गाउँमा हरियो देख्न पाइदैनथियो, किनभने गाउँमा पानीको अभाव थियो।
पानीको अभावमा बाँसगजेरी गाउँ यतिसम्म उजाड थियो कि वर्षेखेती बाहेक अन्य समयमा गाउँका खेतबारी बाँझै राख्नुपर्ने बाध्यता थियो। हिउँदमा खेतबारीमा हरियो देख्न मुस्किल पर्थ्याे। तर, अहिले फागुन सकिन लाग्दा पनि गाउँ उजाड छैन। खेतबारीमा हरिया घाँसहरु छन्। बाँझै रहने खेतबारीमा तोरी, मसुरो, साग, मुला, तरकारीहरु छन्।
गाउँको शिरमा रहेको शवदाहमा गत वर्षमात्रै कृत्रिम जलाशय बनेपछि बाँसगजेरी गाउँ हरियाली देखिन थालेको हो। ताल सिंगो गाउँको मुहार फेर्न कोशेढुंगा सावित भएको छ। ‘सिरुगैरा ताल’ नाम राखिएको कृतिम जलायस गाउँको मुहार फेर्ने ताल बनेको छ। वर्षौदेखि सुख्खा रहेको बाँसगजेरी गाउँ अहिले बाह्रै महिना हराभरा हुँदै गएको छ। करिब २ सय ५० घरधुरी बस्दै आएको बाँसगजेरी गाउँमा सिंचाइं सुविधा पुगेपछि स्थानीयले आफूहरुको जीवनमा ठूलो परिवर्तन आएको आभास गरेका छन्।
खेतबाट घाँस काटेर आउँदै गरेकी बाँसगजेरी गाउँकी ५५ वर्षीया खिमसरी खड्काले जीवनमै पहिलो पटक यसरी फागुनको महिनामा खेतबारीमा हरियो घाँस काट्न पाएको बताइन।
‘पहिले–पहिले हिउँद र गर्मीयाममा गाईबस्तुलाई कहाँबाट घाँस ल्याएर पाल्ने होला भन्ने पिरलो हुन्थ्यो, यो वर्ष त अचम्मै भयो। जता हेर्यो हराभरा भएको छ,’ खिमसराले भनिन्।
गाउँमा वडाध्यक्षले धेरै काम गरेको भन्दै उनले यसवर्ष खेतबारीमा लगाएको अन्नाबाली पनि राम्रो भएको बताइन।
‘यहाँको खेतबारी पहिले त यो बेलामा उजाड हुन्थ्यो,’ उनले भनिन्, ‘तर अहिले सिंचाई गर्न पाएपछि खेतबारी हराभरा छन्। अन्नबाली पनि सप्रेका छन्।’
अर्का स्थानीय अमरबहादुर पुन उमेरले ६४ पुगे। तर, यो ६४ वर्षको समयमा गाउँले मुहार फेरेको उनले अनुभूत गरेका छन्। उतिबेलाको बाँसगजेरी र अहिलेको बाँसगजेरी आकाशपातालको अन्तर भईसकेको उनको अनुभव छ।
‘पहिले बाटो घाटो थिएन, बिजुली पनि भरपर्दो थिएन, आफ्नै गाउँठाउँमा मोटरगाडी गुड्ने अवस्था आयो, हामीलाई सँधैको सास्ती पानी कै हुन्थ्यो, त्यो पनि अब हटेको छ,’ अमरले भने। उनले गाउँमा विकासको लहर ल्याउने काम वडाध्यक्षले गरेको भन्दै फेरि चुनावमा उठे गाउँलेले जिताउने दाबी गरे।
यस्तै स्थानीय टिकाराम खनालले देश संघीयतामा पुगेपछि गाउँले मुहार फेरेको दाबी गर्छन। गाउँकै एक सामुदायिक विद्यालयको संस्थापक प्रधानाध्यापक समेत रहेको खनाल पछिल्लो समय भएको विकास र सुविधाले खुशी छन्। बालबालिकालाई सहज विद्यालय पहुँचका लागि बाटोघाटो, खानेपानीको सुविधा, विद्युत बिस्तारले शिक्षा क्षेत्रमा पनि स्थानीयबासी आकर्षित भएको उनले बताए।
‘चाहने हो भने यस्तो राम्रो काम पनि हुने रहेछ भन्ने सबैका लागि उदाहरण पनि हो,’ खनालले भने,‘पछिल्लो समयमा सिंचाई सुविधा पुगेपछि त यो ठाउँ हाम्रा लागि स्वर्गं जस्तै बनेको छ।’
घोराही बजारसँग जोड्ने घोराही–तुलसीपुरको आँखा अस्पताल सडक अहिले कालोपत्रे भईरहेको छ। सो सडकले पनि बाँसगजेरीलाई छुन्छ। सो ठाउँमा अब कालो पत्रेसहितको सडक पनि बिस्तार हुन थालेपछि स्थानीयहरु थप उत्साहित भएका छन्।
‘हाम्रा खेतबारी सिंचाई सुविधा नभएर प्राय: बाँझै हुन्थे, यो पटक छरेको तोरी, मसुरो, केराउ, गहुँले पानी पायो, अब उत्पादन पनि बढ्छ, यसले हामीलाई राम्रो टेवा दिएको छ,’ स्थानीय मोती थापाले भने।
सिरुगैरा तालमा कुनै ठूलो खोला छैन। गाउँको शिरमा रहेको तालमा हल्का पानी रसाउने गर्छ। त्यही पानी रसाउने ठाउँमा पहिले शवदाह बनाइएको थियो। सिमसार जस्तो मानिएको ठाउँलाई खनेर गहिरो ताल बनाइएकपछि गाउँमा सिंचाई सुविधा पुगेको हो। गाउँमा पानी धेरै अभाव भएपछि त्यही पानीलाई तालको रुपमा जम्मा गरेर सिंचाई गर्ने योजनाका साथ ताल बनाइएको उक्त ताल निर्माण समितिका अध्यक्ष मानबहानदुर हमालले बताए।
सिंचाई डिभिजन कार्यालय तुलसीपुरसँग करिब ५३ लाख बजेट निकासा गरी ताल बनाइएको हो। तालबाट अहिले बाँसगजेरी गाउँको पूर्वी टोल र पश्चिम टोलका केही भाग बाहेक सबै ठाउँमा सहज सिंचाई पुगेको छ। ती ठाउँमा पनि पाईप बिछ्याएर र नयाँ योजनालाई कार्यान्वयनमा ल्याएर सिंचाई सुविधा पुर्याउन आफू लागि परेको वडा अध्यक्ष कुलबहादुर लामिछानेले बताए।
‘स्थानीयबासीका सकारात्मक साथ सहयोगले कुनै बेला सखाप भएको वन जोगिएको छ, अहिले हराभरा भएको छ। स्याउलाले बारेका घरले स्वरुप फेरेका छन्, गोठेमलले यो ठाउँमा अर्गानिक उत्पादन भईरहेको छ। अब त झन बाह्रै महिना सिंचाई पुुग्यो,’ वडा अध्यक्ष लामिछानेले भने, ‘बाँसगजेरी जस्तै अरु विकट ठाउँमा पनि हाम्रो नजर परेको छ। सेवा सुविधा र सहज पहुँचमा नागरिक हुनुपर्छ भन्ने हाम्रो मान्यता छ।’
ताल बनेपछि जंगली जनावरलाई पनि खानेपानीको सुविधा भएको छ। तल झरेको पानीले गाईबस्तुलाई पानी खुवाउन पनि सजिलो भएको स्थानीय अमरबहादुर पुनले बताए। वन संरक्षणसँगै स्थानीयको जनजीवनमा पनि भरपर्दो बनेको सिरुगैरा तालले आगामी दिनमा सो ठाउँमा कृषि पेशालाई व्यावसायिक बनाउन, तरकारी खेती गर्न तथा अरु जमीनको उपयोगितामा धेरै आकर्षित हुँदै गएको सूर्य ज्योति वनका ताराबहादुर रोकाले बताए।