फागुन चतुर्दशीको दिनलाई महाशिवरात्रि वर्तको रूपमा मनाइने परम्परा नेपाल वा हिन्दू धर्मावलम्बी लोक जीवनमा रहिआएको पाइन्छ।
शिवरात्रिकै दिन सती देवीसित भगवान भोले शड्ढरको विवाह भएको कुरा पुराणहरूमा वर्णित रहेको छ। यस दिन आशुतोष भगवानको आफ्नो शक्ति सामर्थ्यअनुसार भक्तिपूर्वक पूजा अराधना गर्नाले अभिष्ट प्राप्ति हुन्छ भन्ने लोक विश्वास छ। दिनमा भगवान शड्ढरको पूजा अराधना तथा अहोरात्र जागरण गरेर शिवजीको ध्यान कीत्र्तन गर्नाले विशेष फल पाइन्छ भन्ने जनश्रूति रहेको छ।
भगवान शड्ढरको बारेमा श्री कृष्णजी श्रीमद्भागवतमा एक ठाउँमा भन्नु हुन्छ–ततस्य आशुतोषेभ्यो लब्धराज्यश्रियोद्धताः। (श्रीमद्भागवत, दशौं स्कन्ध, श्लोक ११), अर्थात् अर्का देवता आशुतोष हुन् जो चाडै पग्लेर आफ्ना भक्तहरूलाई साम्राज्यलक्ष्मी प्रदान गरी हाल्दछन्।
त्यस्तै शुकदेवजी भन्नु हुन्छ–शापप्रसादयोरीशा ब्रह्मविष्णुशिवादयः। शद्यःशापप्रसादोऽ शिवो ब्रह्मान चाच्युतः।। (श्रीमद्भागवत, दशौं स्कन्ध, श्लोक १२)। अर्थात् ब्रह्मा विष्णु र महादेव यी तीनै देवहरूले शाप तथा वरदान दिनमा सक्षम छन तर महादेवले शीघ्र प्रसन्न वा रूष्ट भएर वरदान वा श्राप दिन्छन्।
यस सम्बन्धमा भगवान शिवजीले स्वयं भन्दछन्– प्रीयेय तोयेन नृणां प्रपद्यतामहो त्वयाऽऽत्मा भृशमद्र्यते वृथा।। (श्रीमद्भागवत, दशौं स्कन्ध, श्लोक २०)। अर्थात् हे भाइ म त मेरा भक्तहरूद्वारा जल मात्र चढाउनाले पनि सन्तुष्ट भएर भक्तको अभिष्ट प्रदान गरिदिन्छु, तिमीले बिनासीत्तिमै आफ्नो शरीरलाई किन कष्ट दिन्छौं? जल मात्र चढाउनाले शिवजीले सन्तुष्ट हुने कुरा स्वीकार गरे पनि पण्डितज्यूहरू अथवा आफ्नो विशेष आग्रहमा पनि कल्याणेच्छु भक्तहरूले शिवरात्री पर्वको अवशरमा जल मात्र चढाउनाले सन्तुष्ट हुँदैनन्।
यस दिनको शुभअवशरमा शिवजीको विशेष पूजा अराधना गर्ने धोको अनुसार पञ्चोपचार वा षोडसोपचार विधिद्वारा शिवार्चन गर्नमा विशेष रूची राख्दछन्। यस विशेष पूजाको क्रममा भक्तजनहरूले विहान नुहाइ धुवाइ गरेर शिवजीको विशेष पूजन अराधनामा स्वयंमेव नियुक्त हुन पुग्दछन्।
यस क्रममा पवित्रीकरण, आचमन, प्राणायाम, रक्षादीप–प्रज्वालन, स्वतिवाचन, सङ्कल्प, तदन्तर गौरी गणेशको पूजन गरिन्छ। गौरी गणेशको पूजनको क्रममा आवाहन, प्राण प्रतिष्ठा, आसन, पाद्य, अर्घ्य, आचमन, स्नान, पञ्चामृत स्नान, शुद्धोदक स्नान, वस्त्र, यज्ञोपवित, चन्दन, पुष्पमाला, दूर्वाड्ढुर, सिन्दूर, अबीर, धूप, दीप, नैवेद्य, ऋतुफल,ताम्बूल (पान), दक्षिणा तथा आरतीका साथै पुष्पाञ्जली, प्रदक्षिणा तथा प्रार्थना र समर्पण गरेर गौरी गणेशको पूजन सम्पूर्ण हुन्छ।
गौरी गणेशको पूजनपछि शिवजीका पार्षदहरूको पूजनको क्रम सुरू हुन्छ। यस क्रमानुसार नन्दीश्वर पूजन, वीरभद्र पूजन, कार्तिकेय पूजन, कुबेर पूजन, कीर्तिमुख पूजन, तथा सर्प पूजन गरेपछि मात्र शिव पूजनको विधान सुरू हुन्छ। शिवजीको षोडस विधिद्वारा पूजन, अभिषेक गरेर शिवार्चनको विधि पूर्ण हुन्छ। पूजाको विधि सम्पूर्ण भएपछि शिवजीको विशेष स्तुति तथा क्षमापन गरिन्छ।
वस्तुतः क्षमापनलाई नै पूर्ण पूजा मान्नुपर्ने हुन्छ। किनकि देउताको पूजा सकिएपछि जुन सुकै महामहोपाध्याय पण्डितले पनि देउतासित क्षमापनको क्रममा श्लोक पढदछन्– आत्मा त्वं गिरिजामतिः सहचराः प्राणाः शरीरं गृहं, पूजा ते विषयोपभोगरचना निन्द्रा समाधिस्थितिः... विहितंविहितं वा सर्वमेतत् क्ष्भमस्व, जय जय करूणाब्धे श्री महादेव शम्भो। अर्थात हे शमभो! मेरा आत्मा तपाइ हुनुहुन्छ, बुद्धि पार्वती जी हुन, प्राण तपाइका गण हुन, शरीर तपाइको मन्दिर हो, सम्पूर्ण विषयभोगका रचनाहरू तपाइको पूजा हो, मेरो सम्पूर्ण हिँडाइ तपाइको परिक्रमा हो, तथा मैले बोलेका सम्पूर्ण शब्दहरू तपाईंका स्तोत्र हुन्। यस प्रकार मैले जुन जुन कर्म गर्दछु, ती जम्मै तपाईंका अराधना हुन्।
रूद्रह्दयोपनिषदमा भगवान शिवको श्रेष्ठताको विषयमा स्पष्ट के उल्लेख छ भने– सर्वदेवात्मको रूद्रः सर्वे देवाः शिवात्मकाः। यस श्लोक अनुसारले पनि महाशिवरात्री पर्वको शुभअवशरमा भक्तिपूर्वक शिवजीको पूजा अराधना तथा रात्रि जागरणले भक्तजनहरूलाई विशेष फल प्राप्ति हुन्छ किनकि सवै देवताहरू शिवजीकै रूप हुन्। यिनको विशेष पूजन अर्चन मानिसको चतुर्विध पुरूषार्थ दिलाउनमा समर्थ छ।
हाम्रो देशमा यस दिनको सुअवसरमा भक्तहरू व्रत बस्ने, भगवान शिवजीको स्तोत्त पाठ गर्ने तथा रात्रिको समयमा शिवजीको धुनी बाली शिवार्चन गर्ने तथा शिवजी विषयक शिवचर्चा गर्ने गर्दछन्।
यसदिन पशुपतिस्थानमा विश्व प्रसिद्ध मेला लाग्ने गर्दछ, जसमा देश विदेशका हजारौं भक्तजनहरू तथा साधु–सन्त र नांगा बाबाहरूले भाग लिन आउँछन्। देशको विभिन्न क्षेत्रमा अवस्थित शिवालयहरूमा पनि मेला तथा विशेष पूजा–अराधना हुने गर्दछ। यस दिनको पावन अवसरमा भगवान शिवले हामी सबैको कल्याण गरून भन्ने शुभकामना अर्पण गरौँ, जय भोलेनाथ..अवघड़दानी..!