प्रिय साथी,
आज एक्कासी तिमीलाई सम्झिँदै छु, धेरै वर्षपछि। सायद तिमीले त मलाई बिर्सिसक्यौ होला। तर, मसँग भने अझै नि ताजा छन्, तिमीसँगका यादहरु। जीवनको यो पलमा यसरी अचानक तिमीलाई सम्वोधन गर्दा आश्चर्य त लाग्याे हाेला, तिमीलाई। तिमीलाई त थाहै छ, मेरो उही पुरानाे बानी, जीवन डायरी लेख्ने।
अहिले त गन्न नि छोडिसकेँ, तिमीले दिएका उपहाररुपी डायरीहरु। जुन सृजनाले उहिले नै भरिएका छन्। अहिले त किराले धुजाधुजा परिसके होलान्। तर, त्यो भित्रका ति कलिला बालापनका यादहरु अझै उस्तै जीवन्त छन्। तिमीलाई थाहा छ ? आजकल पनि उही बानी लागू छ, डायरी लेख्ने। तिमीले दिएका नि छन्, अझै मसंग। के तिमीसँग नि छन् ? मैले कोरेका ती शब्दहरु। तिमीप्रति मलाई विश्वास छ, तिमीले कति मायाले समालेर राख्छौ भन्ने कुरा। यति धेरै विश्वास तिमीप्रति लाग्नु नै तिमीप्रति मेरो आत्मियताको प्रमाण होइन र ? तिमीलाई त्यस्तो लाग्दैन ? कि यो मेरो भ्रम मात्र हो ?
यति लामाे समय पनि आँखा बन्द गरेर खोल्न नपाउँदै बितेजस्तो लाग्दै छ, मलाई। कहिलेकाहीँ त यस्तो लाग्छ कि समय पनि भ्रम रहेछ। आँखा झमक्क गर्न पाएकाे छैन जस्तो। सोच्दै छु के यतिका वर्ष घडीका सुई मात्र त चलेको होला, समय बरफझैँ जमेको होला ? हुन त, यो बीच कैयौँ झरीले धर्ती भिजाए, हिउँदमा हजारौँ पात झरे, शिरीषका फूलहरु कति फुले कति, तिमीलाई कसरी भेटें, मलाई त्यति याद छैन। जीवनको चौबाटोमा भेटेको जस्तो, जीवनको नौलो अनि कलिलो यात्रामा भेटेका हामी कति खेर समयले नेटो काटेर आज संसारको कुन धर्तीमा छौँ, भन्ने ज्ञात छैन। तिमी त हावाको झोकजसरी आयौ, मिठो सुवास छर्यौ अनि फेरि चालै नदिएर नयाँ संसारमा विलिन भयाै।
तिमीले एक्कासी त्यसरी चट्टै माया मारेर गयौ, जसरी कोही पराई गयो। के हामी बीचमा त्यति पनि आफ्नाेपन थिएन ? ति तीन वर्ष तिम्रो लागि केवल तीन पल जस्तै थियो र त्यसरी बिर्सिएर गयौ तिमीले। तर, मेरो मनको आकाशमा त्यही तीन वर्षले नयाँ किरण ल्याएको थियो। मानौँ, तिमीलाई भेटेपछि सुषुप्त म फेरि जीवित भएँ। भर्खरै पाइलाहरु टेकेकी मैले तिमी सँग–सँगै हिँड्न सिकें। रमाउन सिकेँ। हाँस्न सिकें। मेरो लागि तिमी एक साथी मात्र नभई एक मार्ग निर्देशन गर्ने भरपर्दो आफन्त जस्तै थियौ। तिमीले बोलेका हरेक शब्द मेरो लागि जीवनकै महावाणी जस्तै थियो। बिएस्सीको पढाइ सुरु मात्र गरेकी थिएँ, मैले तिमीसँग भेट हुँदा मनभरि नौ मुरी सपना थिए, रहरहरु अनगिन्ती थिए, भर्खरै जीवनका कलिला पंखहरु पलाउँदै थिए। तिमी आयौ अनि त्यही पंखले झन् उड्ने मौका पायो। तिमीलाई थाहा छैन सायद, कति उत्साहित थियो मन, कति फुरुङ्घ थियो, तन। लाग्थ्याे, जीवन कति सुन्दरछ। अझै कति सुन्दर पलहरु बाँकी छन्, होला। तिम्रो हरेक बोलीले मनमा स्थान पाउन्थियो। तिमी त मेरो लागि जिउँदाे किताब थियाै। र, म त्यही किताब पढ्दै अघि बढ्दै थिएँ। सुरु–सुरुका पढाइ त्यति सोचेजस्तो सजिलो थिएन र पनि तिमीसँग कुरा गरेपछि मनमा एक प्रकारको जाँगर चल्थ्यो अनि त असम्भव भन्ने कुरै छैन जस्तो लाग्थ्यो। हरेक दिन अस्पतालमा सिकेका कुरा अनि मेरा सबै क्रियाकलाप सोध्न तिमी कति आतुर हुन्थ्यौ। थाहा छ तिमीलाई, त्यो वीरेन्द्र सैनिक अस्पतालबाट भक्तपुरसम्म आउँन करिब ३ घण्टा लाग्थ्यो, मलाई तर तिम्रो फोन अनि कुराले कतिचोटी मलाई साथ दिएको थियो। तिम्रो त्यो कुराले मलाई कति साहस प्रदान गर्थ्यो।
समुन्द्रका ति छालका लहरजस्तै भए सम्झनाहरु, सायद फेरि–फेरि पनि फर्केर आउने थिए। फेरि एकचोटी दोहोरिने थिए, मिठो विगत। तर, छालजस्तै नहुने रहिछन्, कुनै–कुनै यादहरू। छालजस्तै फर्केर आए नि कताकता बिझाउने रहिछ। तिनै छालले बगाएका ति चपल अनि शलजस्तै कुनै–कुनै सम्झनाहरु नि बगाए त कति जाती हुन्थ्यो होला। आफू मात्र किन उथुलपुथुल भएर बस्छ होला त्यो समुन्द्र ? !किनारामै तैरिरहेका कुनै–कुनै याद नि बगाएर परपरसम्म लगे त कति जाती हुन्थ्यो, फेरि छुन नपाउनेगरी। तर, कति सम्झना न त परसम्म बगेर नै जान्छन त नदेख्ने गरी नै डुब्छ। ति त सधैं किनारामै तैरिएर नै बस्छन्, मनमा गाँठो पर्ने गरी। सायद जीवन भनेको जस्तो सोच्यो, जस्तो कल्पना गर्यो त्यो भन्दा धेरै फरक हुँदै जाने रहेछ। जीवन समयसँगै भोग्दै जाने रहिछ। जीवन यात्रामा विविध तितामिठा अनुभवहरु संगाल्दै जाने रहिछ। कति त्यस्ता नि पल हुन्छन्, जसलाई हामीले सपनामा नि कल्पना गरेका हुँदैनौं। अनि त के गर्नु नगरूजस्तो हुने। कति अँधेरी छाउँछ, निस्पट अँधेरी, जुनबेला केही हुन्न दिमागमा, वस् शून्य हुन्छ सबै अनि जीवनका सबै ढाेकाहरू नै बन्द भएकाे आभास हुन्छ। एकछिन त त्यही निस्सासिएर नाजुक हुँदो रहिछ। सास फेर्न सकिनँ, मुटु रोकिएला जस्तै भयाे, एक्कासी छातीमा तातो छुरा रोपेझैँ भयो।
शब्दमा कति तागत हुन्छ, जसले मुटु छियाछिया पार्न सक्छ भन्ने त्याे महसुस गरेँ। आँशुलाई आँखैबाट पिउनु जति पीडा अरु केही हुँदैन, त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ। त्यतिबेला नै तिम्रो एक पाइलाले कति आड मिल्दो रहेछ। बन्द आँखाहरु पुलुक्क उघारेर हेर्छु अनि केही झ्यालहरु अझै खुल्लै छन्, भन्ने लाग्यो। हिँड्दा हिँड्दै कति लर्बराएँ, लडेँ फेरि उठेँ अनि फेरि लडेँ। कतिचोटी त अब उठ्न सक्दिन्नजस्तो पनि भएकाे थिये। त्यहाँ नि तिम्रा शब्दहरु गुञ्जे अनि त्यही भरोसामा सकिनसकी फेरि उठें। यस्तै त थियो, जिन्दगी। तिम्रो एक पाइलाले कति उत्साह मिलेको छ, त्यो त मलाई मात्र थाहा छ। सबैतिर बाट तितरवितर भएर दोबाटोमै अल्झेर बसेको कुहिराको काग जस्तै थिएँ। कुनै निश्चित गन्तव्यको दिशातिर मोड्दा पनि सफलता नपाउनु कति पिडादायी छ। अचानक तिम्रो एक झल्कोले सारा परिवर्तन गरिदिएको छ। कति विश्वास बोकेर आयौ तिमी, त्यो त शब्दमा लेख्न सकिरहेकी छैन, यतिखेर मैले। एकपल त लागेको थियो अब जे जति बाँकी छ मात्र असफलता छ। तर, म गलत थिएँ। त्यो पल त वस् एकछिन् थियो, जुन मलाई युगजस्तो लाग्न थालेको थियो। तिमी आयौ जीवनमा उत्साहको सारा लहर नै ल्याएर। म भित्रको म सायद अब बिस्तारै जागृत हुँदैछ। अनि शुषुप्त रहेका ति सारा रहरहरु नि पङ्ख खोज्दैछन्। हो, अब म जीवनमा उडान भर्ना चाहन्छु अनि यायावर गर्न चाहन्छु, धेरै–धेरै टाढा अनि माथि। त्यो निलाे बादलजस्तै शान्त भएर, तिम्रो एक स्पर्शले पुनजीवित भए जस्तो। वास्तवमा जीवन कति सुन्दर र रंगीचंगी छ। म तिनै रङ्गहरूमा रङ्गिन चाहन्छु। जीवनका अनगिन्ती खुशीहरु महसुस गर्न चाहन्छु। मभित्र यतिखेर धेरै आत्मबल दिनानुदिन बढ्दै जानु अनि यति धेरै साहस पैसा हुनु सायद तिम्रै उत्प्रेरणाले हुनुपर्छ। दागी चन्द्रमाले धर्तीलाई साथ दिएकाे जस्ताे अनि सूर्यले रातसँग गरेको लुकामारी जस्तै गरी तिम्रा भावनासँगै कहिले तिमी नै त कहिले म झुल्किने, एकअर्काकाे परिपूरक र एकअर्काकाे पर्याय।
याद छ तिमीलाई, त्यो गीत अझै जुन तिमीले सधैं सुन्ने गर्छौ नि ? तिम्रा आखाँहरु म नियाल्न सक्छु ति अनगिन्ती पीडाहरुमा। एक शब्दबिना पनि लाखौँ कुराको बुझ्न सक्छु, सायद। अनि मनमा मुटुमा हुने त्यो तिक्तता पनि हेर्न सक्छु, म। तिम्रा हरेक श्वासकाे झोक्काको अर्थ महसुस गर्न सक्छु। अनि त्यसैत्यसै अथाह, अपार, अदितिय माया लाग्छ। अझै पनि याे गीत जब गुञ्जिन्छ तब लाग्छ तिम्रा ति एक जोर नयनमा आँशुको ताल बनाउने म नै हुँ। अनि बेसरी याद बल्झाई दिने पनि म नै हुँ। यही गीत नै हो मेरो मन, आत्मामा एक प्रकारको तरंग ल्याई आमाप्रतिको गहिरो माया झन् गहिरो बनाइदिने अनि तिमीप्रति असिम माया र श्रद्धा पलाउने। तर, समयको खेला अनि संसारको रितको अघि कसको के नै लाग्दाे रहेछ र। त्यही आमाप्रतिको माया र सम्झनाले नै त यति धेरै यात्रा अनि यहाँसम्म तय गर्न सकेका छौँ। पशुपतिको त्यो परिसर कति पिडादायक थियाे। तिमीलाई थाहा छ ? तिमीलाई पहिलोपल्ट त्यसरी आमाको बिछोड्मा आफूलाई नै रित्याएर तिमीले बिलौना गर्दा मेरो मुटु कति छियाछिया भएको थियो। अनि कति अदृश्य पीडा सहनु परेकाे थियाे। आवाज निकाल्न सकिन मैले, मात्र अश्रुधार निरन्तर बहिरहेको थियो। सायद त्यति धेरै म छरपस्ट जीवनमा कहिलै भएकी थिइन। त्यति धेरै कापेकी थिएन। र, पनि तिमीलाई ढाडस् दिन अनि सम्बन्ध टुट्न नदिन कति भगिरथ प्रयास गरेकी थिएँ।
सायद तिमीले थोरै भए पनि साथको अनुभव गर्यौं हाेला। जब तिम्रो अनुहार नियालें, त्यतिबेला मैले महसुस गरेँ कि तिमीलाई कति धेरै साहस अनि धैर्यको जरुरत थियो, भनेर। तिमी भित्र–भित्रै कति टुटिसकेका थियौं। र, त्यतिबेला म मुटुलाई ढुंगा बनाएर मौन बसेकी थिएँ। न त बोलि फुट्न सक्थ्याे न त रुन सक्थेँ। तिमीलाई थाहा छ, त्यतिबेला रातको १० बजे घर आएर नि रुन सकेकी थिएनँ। अनि घर पुगेपछि जब मेरी आमालाई देखें, त्यसपछि म रातभरि रोईरहें। सायद त्यो पल धेरै नाजुक पल थियो। र, त मेरीआमा नि रुनुभयो र त्यो समयदेखि आजसम्म पनि त्यही पल सम्झेर म रुन सकेकी छैन। मेरी आमाको आँखामा कहिलै नि आँशु आउन नदिने प्रण थियो, मेरो। सँगै तिमीलाई आत्मविश्वास दिलाउने कोसिस। जब यही गीत सुन्छु मन–मुटु छेडेर आत्मामा कम्पन हुन्छ। सायद जिन्दगी भनेकै यही त हो, सुख–दुख अनि पीडाले भरिएकाे यात्रा। र, पनि निरन्तर यात्रा जारिराख्नु नै संसारको रित हाे। आज नि मलाई ती दिनहरु भर्खरका झैं लाग्छन्। समय मात्र न हो, बितेको तर सम्झनाहरु त छन् नि अझै उस्तै।
आज हेर त, तिमी कहाँ म कहाँ। कसलाई पो फुर्सद छ र ति यादहरु खोतल्न ? म गएँ आफ्नै बाटो तिमी आफ्नै लक्ष्यतिर। तर, मलाई अपार खुशी त्यतिबेला लाग्यो जब तिमीले तिहारमा लक्ष्मीपूजा गर्दा सँगै मेरो डायरीलाई नि पुज्यौ। तिमीले नाप्न सक्दैनौं मेरो आत्मासन्तुष्टी, त्यतिबेला। साँची, मन आभार भयो। सात समुन्द्र जाँदा नि तिमीले मेरो डायरी सँगै लान भुलेनौं। यसले नै पुष्टि गर्छ नि तिम्रो मित्रता मप्रतिको।
आज फेरि एकचोटी मैले डायरी पल्टाएँ। र, त केही पानाहरु यसरी तिमीलाई बिसाउँदैछु। साँची अब कहिले हुन्छ होला है हाम्रो भेट ? सायद हुँदैन। भए नि शब्दमा मात्र। त्यही भएर त केही शब्दहरु तिमीलाई सापटी दिदैछु। आशा छ, तिमीले गरेका काम सबै सफल हुनेछन्। अनि फेरि एकदिन त्यही कमलविनायकको कमलपोखरीमा बसेर चना चटपटे खाँदै अर्को डायरी लेखौंला है।
उही तिम्री भक्तपुरे साथी
रश्मि