गठबन्धन कायम राखेर एमसीसी पारित गर्ने पक्षमा प्रचण्ड–नेपाल

File Photo
File Photo

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण विभाजित बनेकाे पाँचदलीय सत्ता गठबन्धन फेरि जाेगिने अवस्थामा पुगेकाे छ।

सत्ता साझेदार माओवादी केन्द्रले गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेर नयाँ सम्भावनाको ढोका खाेलेकाे संकेत गरेकाे छ।

एमसीसीको विपक्षमा मत दिने निर्णय गरेका माओवादी र एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवासंग अनुमोदनका लागि लचिलो हुने बताएकाे छ। योसँगै गठबन्धनका दलहरु आन्तरिक छलफलमा बसेका छन्।

प्रधानमन्त्री देउवाले महामन्त्री गगन थापालाई बालुवाटार बोलाएर छलफल थालेका छन्। उता एकीकृत समाजवादीका शीर्ष नेताहरू सिंहदरबारमा जुटेका छन्।

अर्काेतिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गाेप्य वार्ता भएकाे छ।

धनगढीबाट आएर सोझै बालुवाटार पुगेका उनी प्रधानमन्त्री देउवासामु विभिन्न विकल्प राख्न तयार भएका थिए।

माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले गठबन्धन जोगाउन अन्तिम पहल गर्ने निर्णय गरेको छ। एमसीसीमा सैद्धान्तिक अडान कायमै राखेर संसदीय प्रक्रियामा लचक हुने माओवादीको संकेत पाएलगत्तै गठबन्धन जोगाउन नेताहरु सक्रिय भएका हुन्।

जुनसुकै मूल्यमा एमसीसी पारित गराउन कस्सिएर लागेका प्रधानमन्त्री देउवाले प्रतिपक्ष एमालेसँग पनि समानान्तर छलफल गरिरहेका छन्। तर, अहिले पनि देउवाको प्राथमिकता भने गठबन्धनमै सहमति जुटाएर एमसीसी पास गराउनेमा रहेको बताइन्छ।

उनका अनुसार त्यसमा सहमति जुटे एमसीसी संसदमा निर्णयार्थ पेश हुँदा माओवादी र समाजवादीले विपक्षमा मतदान गर्ने छैनन्, बहिष्कार गर्नेछन्। कांग्रेस, लोसपा र जसपाको बाबुराम खेमाले पक्षमा मत हाल्नेछ।

सहमति गर्ने तर कार्यान्वयन नगर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीले पनि प्रधानमन्त्री देउवा आश्वस्त हुन नसकेको बताइएकाे छ।

प्रकाशित मिति: : 2022-02-25 16:34:00

प्रतिकृया दिनुहोस्