एमसीसी सम्झौतामाथि आज प्रतिनिधिसभामा छलफल

 

अमेरिकी सहयाेग परियाेजना मिलिनियम च्यालेञ्ज् कर्पाेरेसन (एमसीसी) सम्झौताबारे आज (बिहीबार)देखि प्रतिनिधिसभामा छलफल प्रारम्भ हुने भएको छ। आज दिउँसाे १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिएकाे छ।

सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। परामर्श समितिको बैठकले यस विषयलाई अन्तिम रूप दिनेछ।

एमसीसीबारे सबैभन्दा पहिले सम्झौताको सैद्धान्तिक विषयमाथि बहस हुनेछ। यस बहसमा सांसद्हरुले नाम टिपाएर धारणा राख्न पाउनेछन्। सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ। जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ। सैद्धान्तिक छलफलपछि दफावार छलफल हुनेछ। दफावार छलफलमा सम्झौताको दफावार रूपमा विस्तृत छलफल हुनेछ। दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ। पारित गर्नका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत आवश्यक पर्नेछ।

नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधि सभा बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। सचेतक पुष्पा भुसालले सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिएको बताइन्।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। बुधबार बसेको लोसपा संसदीय दलको बैठकले संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले यसको विपक्षमा उभिने निर्णय गरेको छ। सत्तारुढ गठबन्धनका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा पनि यसको विपक्षमै देखिएका छन्। जनता समाजवादी पार्टी (जसपा) पनि यसलाई पारित गर्ने पक्षमै छ। प्रमुख प्रतिपक्ष नेकपा (एमाले) भने यस विषयमा निर्णय गर्न सकेको छैन।

अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ८ फागुनमा एमसीसी सम्झौता स‌ंसद्मा टेबल गरेका थिए।

 

प्रकाशित मिति: : 2022-02-24 07:43:00

प्रतिकृया दिनुहोस्