सानोभन्दा ठूलो परिवारमा हुर्किएका बालबालिका विविध हिसाबले फरक हुन्छ। धेरै जनाले बोलाइरहने हुँदा ठूलो परिवारमा बढेका बच्चाको बोली छिटो फुट्छ।
धेरै मानिसका बीचमा हुर्कँदा सामना गर्नुपर्ने पृथक विचार अनि पारिवारिक द्वन्द्वले सिकाएको पाठ युवावस्थामा लाभप्रद् हुन्छ। पछि ठूलो जमात अनि विपरित सोच भएका समूहसँग सामना गर्न सक्ने सामथ्र्य विकास हुन्छ। विस्तारित कुल र सानो परिवारमा हुर्किएका बच्चाले सामना गर्ने परिवेश अनि वातावरण फरक हुने भएकाले दुवै समूहका बालकले बेहोर्ने चुनौती र अवसर पृथक हुन्छन्। दुवै जमातका आआफ्नै प्रकृतिका सबल र दुर्बल पक्ष भएकाले कुन परिवेशमा हुर्किएका बच्चा भविष्यमा बढी सफल हुन्छ भनी ठोकुवा गर्न सक्ने अवस्था छैन।
ठूलो परिवारमा बढेको बालकले हुर्कने क्रममा आफ्नो बुबा/आमामात्र होइन, हजुरबुबा, हजुरआमा, काका, काकी, दाजुभाइ, दिदी/बहिनीलगायत विस्तारित परिवार सदस्यहरूको जुठो खान पुग्छ। अर्कोतिर सानो परिवारमा बढेका बच्चाले ‘प्लेट सेयर’ गर्ने समूह सानो हुन्छ, बा/आमा अनि दाजुभाइ वा दिदीबहिनीसँग मात्र खाना खान्छ उसले।