मानव सभ्यताको विकासदेखि नै मनुष्य जाति फरक फरक धर्म, परम्परा, आस्था, विश्वास र संस्कारको आधारमा जीवन विकास र सभ्यताको विकास गर्दै आएको छ।
हिन्दु, मुस्लिम, जैन, बौद्ध, किरात, बहाई आदि जुन धर्म र भूगोलको आधारमा होस्, सबै धर्मको आशय र सन्देश हो मानिस जाति आफ्नो स्वाभाविक गुणवत्तामा बाँचून् र समाजमा योगदान दिन सकून्।
व्यक्तिगत विकास, समाज र राष्ट्र विकासमा आफ्नो धार्मिक अर्थात् स्वभावमा अडिग रहेर कर्तव्य निर्वाह गर्न सकियोस्। धर्म, अध्यात्म या परम्परा आफ्नो स्वभावलाई स्थिर राख्दै मानव कल्याणका निम्ति मनुष्यको मानवीय पहिचान झल्काउने अभ्यास हो।
जहाँ धर्म हुन्छ त्यहाँ मात्र विज्ञानको प्रगति सम्भव हुन्छ र मानवीयताको विकास हुन्छ।
गीतामा भनिएको छ– ‘यतो धर्मस्ततो जयः’ अर्थात् जहाँ धर्म छ त्यहाँ विजय सम्भव छ। यहाँनेर विजयको अर्थ एक अर्काको धर्मसँग युद्ध जितेर विजयी बन्नु होइन कि आफैंले आफ्ना रिपुहरू र हानिकारक विचार एवं अभ्यासमाथि विजय प्राप्त गर्नु हो।